s

कतार रोजगारीमा ‘सिन्डिकेट’

तुलसी सुवेदी

काठमाडौं : कतार रोजगारीमा ‘सिन्डिकेट’ लाद्न खोजिएको भन्दै वैदेशिक रोजगार व्यवसायीले विरोध जनाएका छन्। केही म्यानपावर मात्रै संलग्न भई सुरक्षागार्ड र प्रहरीमा नेपाली कामदार पठाउने तयारी भएपछि अरू व्यवसायी असन्तुष्ट भएका हुन्। 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गरी सिन्डिकेट स्वीकार्य नहुने चेतावनी दिएको छ। संघका पूर्वअध्यक्ष रोहण गुरुङले कतारको सुरक्षागार्डमा कामदार पठाउन सिन्डिकेट लाद्न खोजिएको बताए। यसमा कतारी राजदूतावासकै संलग्नता रहेको आशंका व्यवसायीले गरेका छन्। संघका महासचिव सुजितकुमार श्रेष्ठले सबै म्यानपावरले काम गर्न पाउनुपर्ने बताए।

वैदेशिक रोजगार विभागले भने सीमित म्यानपावरले कतार प्रहरीमा लैजाने भन्दै गैरकानुनी ढंगबाट अन्तर्वार्ता लिन लागेको गोप्य सूचनाका आधारमा सोमबार र मंगलबार तीन म्यानपावरमा छापा मारेको थियो। पूर्वस्वीकृति नलिई अन्तर्वार्ता लिएको विभागको आकस्मिक अनुगमनका क्रममा पाइएको छ। विभागले सोमबार एसओएस म्यानपावर सर्भिस प्रालि धापासी र डीडी ह्युमन रिसोर्स प्रालि गौरीघाट अनि मंगलबार होप इन्टरनेसनल म्यानपावर प्रालि लाजिम्पाटमा छापा मारेको हो। कतारी दूतावासको गाडी पनि म्यानपावर परिसरमै भेटिएको थियो।

विभागले तीनवटै म्यानपावरका सञ्चालकलाई आवश्यक कागजातका साथ उपस्थित हुन पत्र काटेको छ। विभागका महानिर्देशक कुमार दाहालले ती म्यानपावरलाई वैदेशिक रोजगारमा पठाउने सम्पूर्ण प्रक्रिया रोक्का गरिएको बताए। अवैध तरिकाले काम गर्न नदिने भन्दै महानिर्देशक दाहालले संलग्न सबै म्यानपावरलाई कारबाहीकै दायरामा ल्याउन रोक्का गरिएको बताए।

कतार प्रहरीका लागि भन्दै सुरुमा महिनामा १ लाख रुपैयाँ र ३ महिनापछि महिनाको २ लाख कमाइ हुने भन्दै विभिन्न म्यानपावरमा यस्ता अन्तर्वार्ता चलिरहेको जानकारी पाएपछि आकस्मिक अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ।

विभागका अधिकृत कुशल बरालले कतार प्रहरीका लागि मागको पूर्वस्वीकृतिबिनै अन्तर्वार्ता लिइरहेको पाइएको जानकारी दिए। मिनिस्टरी अफ इन्टिरियर ह्युमन रिसोर्स डिपार्टमेन्ट कतारमा सुरक्षा गार्डका रूपमा पठाउने भन्दै प्रि अन्तर्वार्ता लिइरहेको पाइएको थियो।

‘हामीले म्यानपावरमा छापा मार्ने क्रममा अन्तर्वार्ताका लागि श्रमिकले भरेका फारमसमेत भेटेका छौं’, अधिकृत बरालले भने, ‘कतार प्रहरीका लागि अन्तर्वार्ता लिएको पुष्टि भएको छ।’ थप छानबिनका लागि आवश्यक कागजातसहित म्यानपावर कम्पनीलाई विभाग उपस्थित हुन पत्र काटिएको उनको भनाइ छ।

कतार प्रहरीमा जाँदा सुरुमा मासिक ३ हजार कतारी रियल (करिब १ लाख रुपैयाँ) र काम सुरु गरेको ३ महिनापछि मासिक ६ हजार कतारी रियल तलब पाइने आश्वासन पाएर सयौं श्रमिक म्यानपावर पुगेका थिए।

म्यानपावर सञ्चालकले डिमान्डको अन्तर्वार्ता नभई कतार प्रहरीमा जानेहरूका लागि प्रारम्भिक छनोट मात्र भएको दाबी गरेका छन्। डिमान्ड आउने क्रममा रहेको र

आएपछि तयारी गर्न सजिलोका लागि बोलाइएको सञ्चालकको दाबी छ।  

श्रमिकको मागपत्र नेपाली दूतावासबाट प्रमाणीकरण गराएर विभागबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ।

Published on: 27 November 2020 | Annapurna Post

Link

Back to list

;