s

कतार प्रहरीमा पठाउने नाममा ठगी, गिरोह खोज्दै विभाग

मुुकुन्द गैरे

काठमाडौं, माघ ११ गते । कतारको रोजगारीको लागि अवैधानिक रुपमा भारतीय बाटो प्रयोग गर्दै नेपाली युवा पठाउने गरिएको पाइएको छ । कतारमा विश्वकप फुटबल तयारी भईरहेको छ त्यसको लागि सुरक्षा गार्ड लगायत भौतिक पूर्वाधारको निर्माणको लागि धेरै कामदार कतारलाई आवश्यक छ ।

वैदेशिक रोजगार विभागले दिएको जानकारी अनुसार त्यसरी कतारमा १६० भन्दा बढी युवा पुगेका छन् । कतार प्रहरीको लागि काम गर्न तीन देखि पाँच हजारको हाराहारीमा नेपाली युवाको माग रहेको अनौपचारिक रुपमा जानकारी आएको विभागको भनाइ छ ।

उक्त कामको लागि कतार पठाउने बहानामा प्रति व्यक्ति आठ देखि १० लाख सम्म असुलेर ठगी धन्दा चलाउने गिरोह सक्रिय रहेको विभागको ठहर छ । राम्रो तलव सुविधा भएको कारण उक्त कामको लागि नेपाली युवा धेरै पैसा तिरेर जाने भएकाले दलालहरु जोखिम मोलेरै युवा कतार पठाउँदै आएका छन् ।

उक्त काममा मासिक एक लाख ८० हजार नेपाली रुपैयाँ तलव भएको विभागले बताएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले कतार प्रहरीमा भारतीय एअरपोर्ट प्रयोग गर्दैै पुगेको कतारस्थित नेपाली राजदूतावासले जानकारी गराएको उहाँले बताउनुभयो ।

अवैधानिक रुपमा भारतको बाटो हुँदै कसरी कुन माध्यमबाट पुगेका छन् भन्ने विषयमा राजदूतावाससँग छलफल समेत भएको विभागका महानिर्देशक दहाल बताउनुहुन्छ ।

कतारको लागि वैदेशिक रोजगारीमा पठाउनको लागि सबै प्रक्रिया खुला भएको अवस्थामा पनि गिरोह सक्रिय भएकाले उनीहरुलाई खोज्ने काम सुरु भइसकेको उहाँले बताउनुभयो । महानिर्देशक दहालका अनुसार केही दिनदेखि कतारको प्रहरीमा पठाउने भन्दै गौशाला लगायत क्षेत्रमा आठ देखि १० लाख रुपियाँको ‘बार्गेनिङ’ भएको सुन्नमा आएसँगै आइतबार विहान भिसाको कपि नै प्राप्त भएको छ ।

एक महिना अगाडि कतार प्रहरीमा नेपाली श्रमिक पठाउने विषयमा मागपत्रको पूर्वस्वीकृति विना नै केही वैदेशिक रोजगार कम्पनीले विदेश पठाउने भन्दै सयौँ युवाको अन्तर्वार्ता लिएको अवस्थामा वैदेशिक रोजगार विभागको अनुगमन टोलीले फेला पारेको थियो । विभागको टोलीले धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रालि र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रालिमा र रानीबारीस्थित होप इन्टरनेसनल म्यानपावरमा अनुगमन गर्ने क्रममा कतारमा सुरक्षा गार्डका लागि मागको पूर्वस्वीकृति विना अन्तर्वार्ता लिएको अवस्थामा फेला पारेको थियो ।

ती कम्पनीले सुरक्षा गार्डका लागि अन्तर्वार्ता लिइरहेको भन्ने गोप्य सूचनाका आधारमा विभागको टोली आकस्मिक अनुगमनमा पुगेको थियो ।

अनुगमनपछि विभागको टोलीले आवश्यक कागजातसहित वैदेशिक रोजगार कम्पनीका सञ्चालकलाई विभागमा उपस्थित हुन पत्र काटेर उनीहरुको कारोवार समेत रोक्का गरेको थियो । विदेशबाट नेपाली श्रमिकको मागपछि विभागबाट पूर्वस्वीकृति लिएर मात्र कामदार छनोट गर्ने कानुनी प्रावधान छ । कतार पुलिसमा रोजगारीमा जान निःशुल्क भिसा र टिकट दिने भने पनि म्यानपावरले १० लाखसम्म असुली गर्ने गरेको गुनासो आएको छ ।

Published on: 25 January 2021 | Gorkhapatra

Link

Back to list

;