s

कतार गएका व्यक्ति ६ वर्षदेखि बेपत्ता

दिनेश रेग्मी

उब्जाउ जमिन किनेर खेती किसानी गरी खुसीसाथ जीउन परिवारसहित पहाडबाट तराई झरेका सूर्यराज सुवेदीको खेत बाढीले बगायो । श्रीमती, स-साना २ छोरा, १ छोरीसहित परिवारलाई बनिबुतो गरेर पाल्न सकेनन् । अनि, आफन्त र छिमेकीको सहयोगमा ऋण, धन गरेर वैदेशिक रोजगारलाई कतार हानिए ।

१२ वर्षअघि कतार छिरेका उनी काम गर्ने क्रममा कम्पनीको सामान चोरी आरोपमा थुनामा परे । एक वर्षजति जेल बसेर छुटेपछि गए भनेर कम्पनीले भन्यो तर घर आएनन् । ०६३ असारदेखि बेखबर छन् सुवेदी ।

बेपत्ताको यो पीडा सुन्दै आएको पर्सा, गाद-६, रंगपुर निवासी ४५ वषर्ीय सुवेदीको परिवारले । सुवेदी परिवारसहित ०४७ मा हंसपुर-६, कास्कीबाट पर्सामा उब्जाऊ खेतीका लागि झरेका थिए । ०५० को बाढीले एक बिघा खेत बगाइदिएपछि परिवारमा बिपत्ति आइलाग्यो । खेती मजदुरी गरेर परिवार धान्न नसकेपछि उनी ०५७ असारमा ८५ हजार रुपैयाँ खर्चेर आनन्द ओभरसिजमार्फत कतार पुगे, लेबर कामका लागि । काम गर्दै जाँदा 'वाचम्यान' सम्म भए । कतार गएदेखि बेला मौकामा रकम पठाउनेबाहेक घर फर्किएका थिएन्् ।

'बुवा विदेश जाँदा म ७ वर्षको थिएँ, पहिला खासै केही थाहा भएन,' १९ वर्ष पुगेका कान्छा छोरा शिवराजले कान्तिपुरलाई भने, 'खेत बगाएपछि कमाउन भनेर जानु भएको रहेछ, करिब ३ लाख पठाउनु पनि भयो तर ६ वर्षदेखि बेपत्ता हुनुहुन्छ ।' सुवेदी कतारमा हुँदा अल कन्स्ट्रक्सन कम्पनीमा काम गर्थे । परिवारसँग उनको नागरिकताको प्रलिलिपिबाहेक राहदानी र कम्पनीका अरू कुनै काजगात छैन । पोखरामा स्थानीय एक साप्ताहिक पत्रिकामा कार्यरत शिवराजले बुवाको खोजतलासका लागि कास्कीस्थित जिल्ला प्रशासन, प्रहरी कार्यालय र हंसपुर गाविसमा निवेदन गरेका छन् । हाल काठमाडौं आएका उनी विदेश जाँदाका कागज खोज्न वैदेशिक रोजगार विभाग पनि पुगे तर रेकर्ड फेला परेन ।

कतारमा सुवेदीको खोजीका लागि भतिजा प्रकाश लागेका छन् । प्रकाशले सोधखोज गर्दा कतै नभेटिएको भन्दै कतारस्थित विभिन्न संघ-संस्थाहरूलाई खोज्न सहयोग गरिदिन आग्रह गरेका छन् । 'काका -सूर्यराज) जेल परेपछि कम्पनीले घर गइसकेको भनेको छ तर नेपाल गएको कुनै खबरै छैन,' कतारमा कान्तिपुरसँगको भेटमा प्रकाशले भनेका थिए, 'चोरीको आरोप पनि उहाँलाई फसाउन लगाइएको थाहा पाएका छौं ।'

एक बंगालीले कम्पनीबाट सिमेन्ट चोरेर लान लाग्दा वाचम्यान रहेका सुवेदीले पत्ता लगाएपछि उनलाई फसाएको प्रकाशले बताए । सुवेदीका छोरा शिवराजले आफ््नी आमाबाट पाएको जानकारीअनुसार झगडा परेका एक नेपालीको पनि मिलोमतो रहेको जेलबाट सुवेदीले बताएका थिए ।

'बुवा जेलबाट छुटेपछि पाल्पाका दिलीप थापा मगरले फोन गरेर मैले एयरपोर्टमा छोडेको छु भनेका थिए तर यहाँ आएको कुनै पत्तो छैन,' शिवराजले भने, 'त्यही सालको दसैंमा पनि उनले फोन गरेर आउनुभयो ? भनेर सोधँे तर बुवा आउनु भएको छैन ।' कहीं कतैबाट कुनै खबर नपाएपछि उनी काठमाडौंमा रहेका दाई -काका छोरा) अशोकराजसँग खोजनीतिमा लागि परेका छ् । कान्तिपुरले दोहास्थित नेपाली दूतावासमा सम्पर्क गर्दा बेपत्ता सुवेदीबारे कुनै जानकारी प्राप्त नभएको द्वितीय सचिव जयबहादुर राईले बताए ।

Published on: September 2012 | Kantipur

Back to list

;