s

कतार गएका नेपाली कामदार अन्योलमा

होम कार्की

चितवनका राम गुरुङ साउदी अरब र कतारको सीमा आवु–साम्रामा सोमबार रोकिए । कुवेत–साउदी–कतारमा लरी ट्रक चलाउने उनी कतारमा सामान छोडेर पुन: कुवेत फर्किन सिमाना पुगेका थिए । तर सधैंजसो उनले सोमबार त्यो सीमा पार गर्न पाएनन् । 

‘बिहान ९ बजेतिर पुग्दा साउदी बोर्डर बन्द भइसकेछ,’ गुरुङले कान्तिपुरसँग फोनमा भने, ‘पुलिसले जान पाइँदैन मात्रै भन्यो ।’ कतारबाट खाडीका अन्य देशमा जमिनबाट आवतजावत गर्ने यो एउटै मात्र सीमा नाका हो । 
 
त्यसरी फर्किने उनी एक्ला थिएनन् । ‘कतारमै कम्पनी भएकाहरू आफ्ना क्याम्प फर्के । साउदी, कुवेत, यूएई र बहराइनबाट आउनेहरू बोर्डरछेउ गाडी रोकेर बसेका छन्,’ उनले भने, ‘उता चार मुलुकबाट सामान लिएर आएका साथीहरू पारि साउदीतर्फको बोर्डरमा अड्किएका छन् ।’ 
 
उनले कम्पनीमा फोन गरेपछि मात्रै साउदी अरबलगायत ७ देशले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेको सूचना पाएका थिए । आतंकवादलाई सघाएको भन्दै ती मुलुकले कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि स्थिति झनै खराब त हुने होइन भन्नेमा नेपाली कामदार चिन्तित छन् । ‘हाम्रो रोजगारीको भविष्य र दैनिक जीवन के हुन्छ ?’ उनले भने, ‘हामी त अन्योलमा छौं ।’ 
 
कतार नेपाली कामदारका लागि प्रमुख गन्तव्य हो । त्यहाँ झन्डै ४ लाख नेपाली निर्माणलगायत विभिन्न सेवामा कार्यरत छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर ९ लाख नेपाली कतारमा काम गर्न गइसकेका छन् । ‘साउदीले कतारसित स्थल, जल र हवाई क्षेत्र नै बन्द गरेको छ,’ १० वर्षदेखि त्यहाँ कार्यरत तेह्रथुमका रकमध्वज राईले भने, ‘साउदीकै बाटो बन्द हुँदा धेरै असर पर्छ कि जस्तो लाग्छ ।’ 
 
कतारमा छिमेकी देशले गरेको कूटनीतिक विच्छेदबाट तत्काल आत्तिनुपर्ने अवस्था नरहेको कतारका लागि पूर्वराजदूत डा. सूर्यनाथ मिश्रले बताए । ‘साउदीसँग कतारको सम्बन्ध पहिलादेखि नै चिसो थियो । अहिले औपचारिक रूपमा बाहिर आएको हो,’ उनले भने, ‘कतार पूर्णरूपमा साउदी र यूएईसँग निर्भर छैन । ती देशसँग कूटनीतिक सम्बन्धमा तल–माथि हुनेबित्तिकै कामदारको रोजगारमा असर परिहाल्दैन ।’ 
 
कतारले ठूलो हिस्सामा निर्माण सामग्री र खाद्यान्न समुद्री मार्गबाट ल्याउने गरेको छ । ‘दैनिक जीवनका लागि चाहिने मुख्य खाद्यान्न भारत, बंगलादेश र पाकिस्तानबाट आपूर्ति गर्छ,’ उनले भने, ‘नेपालीले अहिले तुरुन्तै बदलिएको कूटनीतिक सम्बन्धलाई लिएर धेरै चिन्तित हुनुपर्दैन ।’ 
 
कतारमा रहेका कूटनीतिज्ञहरूले बदलिँदो परिवेशमा प्रतिक्रिया जनाउँदा हतार हुने जनाएका छन् । नेपाली दूतावासले घटनाक्रमको अध्ययन भइरहेको जनाएको छ । कतारी परराष्ट्र मन्त्रालयले आप्रवासी र नागरिकको सामान्य जीवनमा केही असर नपर्ने भन्दै ढुक्क हुन अनुरोध गरेको छ । 
 
Published on: 6 June 2017 | Kantipur

Back to list

;