s

कतार, भाँडाकुटी र साहित्य

प्रा. अभि सुवेदी

कतारी भूमिको नेपाली डायस्पोराका साहित्यकारहरूले मंसिर नौ, उन्ान्साठी सालको दिन प्रज्ञा-प्रतिष्ठानको हलमा कवि गोष्ठी, किताब विमोचन र विचार आदान-प्रदान गर्ने कार्यक्रम गरे । कतारी र यतैका कविहरूका कविता सुन्यौं । त्यस भेलामा कतारका नेपाली साहित्य संस्थाहरूले बोलाएर विभिन्न समयमा त्यहाँ गएका जम्मा पाँचजना साहित्यकारलाई पनि निम्तो थियो । म पनि असोज २०६७ सालको निम्तोमा गएको थिएँ । दोहाको कान्तिपुर पत्रिकाका पत्रकार भाइहरू काम गर्ने कार्यालयमा बसेको, नेपाली भेटेको अनि साहित्यिक कार्यक्रम गरेको सम्झना मनमा ताजै छ । मभन्दा पहिला त्यहाँ गएका खगेन्द्र संग्रौला र श्रवण मुकारुङका यात्रा वर्णनबाट मैले यो भ्रमणको मर्म, बोलाउने साहित्यकारका सदाशयता र विश्वासबारे बुझेको थिएँ । नौ गतेको त्यो कार्यक्रममा कतारी युवा कविहरूका कविता सुन्दा मलाई त्यही भ्रमणमा दोहा र बाहिर गोष्ठीहरूमा बसेको सम्झना भयो । श्रमका तिनै आयामहरू, अनि देशप्रतिका तिनै द्वैत चेतनाहरू, छोडेर गएको घरपरिवेशका वर्णन, बिहा गरेर पनि कतारै फर्केको, बाबुआमालाई केटी खोजिराख्नु भनेर पत्र लेखेको, घर फर्केर आफूले जीवनभन्दा बढी माया गरेकी श्रीमती अन्त गइसकेको, घरमा वृद्ध बाबुआमाको अवस्था मायालाग्दो भएको, श्रम गर्दागर्दा क्लान्त भएको शरीरमा घरको सम्झना गर्दा मनमा उठेका अनेकौं तरङ्गहरू राख्ने अधिकाव्यिक माध्यम खोजेको जस्ता विषयह कवितामा फेरि आइबसेको सुनेर मलाई कतारकै अमूक गोष्ठीमा बसेजस्तो लागेको रहेछ । तर कतारमा बस्ने नेपालीका मनका उद्वेलनको अर्को पाटो पनि बलियो छ ।

मैले सत्सठ्ठी सालमा त्यहाँका गोष्ठीहरूमा गएर अनि किताब र पत्रिका पढेर थाहा पाएअनुसार कविहरू नेपालभित्रको राजनीतिलाई अत्यन्त चाख र चिन्ताले हेर्ने रहेछन् । उनीहरूका कवितामा आक्रोश छ, वेदना छ अनि दिनदिन देशले भोगेका घटनाहरूको कहीं जीवनजत्रो कहीं जीवनभन्दा ठूलो चित्र छ । अहिले देशमा संविधान बन्न नसकेको अवस्था कतारका कविहरूलाई एउटा ऐँठनजस्तो लाग्ने रहेछ । त्यही एकेडेमी हलको भेलामा प्रस्तुत 'कतारी भूमि, नेपाली डायस्पोरा अनि साहित्य' भन्ने एउटा प्रतिवेदनको पुछारमा उद्धरण गरिएको यो वाक्यले मलाई समात्यो । सम्प्रति राजनीतिक अवस्थाबारे अति चिन्ता लिएर त्यसलाई कविताको विषय बनाई लेख्ने कविहरूप्रति लक्षित गर्दै प्रतिवेदनमा भनिएको छ, 'नेपालमा संविधान बन्न नसकेको कुरालाई कवितामा उतार्नु भनेको कविता लेख्नु नभई भाँडाकुटी खेल्ने रहर गरिटोपल्नु मात्र हो ।' त्यसको कारण दिंँदै प्रतिवेदन भन्छ, दलीय स्वार्थ र व्यक्तिगत पदलोलुपताका कारणले गर्दा संविधान नबनेको कुरा आज हरेक नागरिकलाई थाहा छ । यस विषयमा अत्यन्त ठूलो चिन्ता लिएर कविता लेखिरहनु पर्दैन भन्ने यो भनाइले केही महत्त्वपूर्ण कुराहरू उठाएको छ ।

आज लेखिने साहित्य र कवितामा नेपालीहरू आफना चिन्ता राख्न चाहन्छन् । कविता कि त जीवनका निजी अनुभव बारेमा कि त राजनीतिक अस्थिरता विषयमा लेखिएका छन् । कतारको यो प्रतिवेदनले कतारमा लेख्ने नेपाली कविहरूलाई नै सम्बोधन गरेको हो । यसबाट एकाध बलिया प्रश्न उठेका छन् । बाहिर बस्ने नेपालीको देश चिन्ताको तीव्रता यति धेरै हुनुका कारण के हुन् ? पहिलो कुरा श्रम गर्ने नेपालीले यो देशलाई संक्रमणको बेला, आर्थिक विचलन भएर धराशायी भएको अवस्थामा रेमिटेन्स पठाएर जोगाएका हुन् । रेगिस्तानी मुलुकमा काम गर्न जाने नेपालीहरू अहिले त्यो शब्द चल्ती भए पनि त्यसको ट्वाक्कै अर्थ मिल्नेगरी डायस्पोरा होइनन् । जो खाडी मुलुकमा बसोबास गरेर बसेका छन्, उतै बस्ने अधिकार पाएका छन्, उतै बस्ने एउटा समाज बनाउन पाएका छन्, ती डायस्पोरा हुन् । ती कति छन् र कहाँ-कहाँ बसेका छन्, मैले अध्ययन गरेको छैन । त्यस अर्थमा देशमा संविधान नबन्दा ठाडो आक्रोश व्यक्त गर्ने कविहरू श्रम गर्न गएका, घरमा खर्च पठाई बसेका, यता परिवार भएका, छोरो जन्मेको खबरमा उता मिठाइ बाँड्ने अनि उता जाँदा लिएको ऋण र घरबारी उकास्तै गरेका, मायालुहरूका दिल थाम्न धन र मन लगाइरहेका मानिसहरू हुन् । तिनलाई डायस्पोराका विधिवत् गरिने परिभाषाभित्र पार्न अलिक नसकिने कारण छन् ।

दोस्रो, संविधान नबन्दा दुःखित, क्षुब्ध र आक्रोशित हुने युवा कविहरूमध्ये धेरैजना अमूक राजनीतिक दलहरूसँंग सम्बन्धित छन् । त्यसैले उनीहरू आफ्नो पार्टीका नीति र विचारको रक्षा गर्छन् भन्ने देखियो । यताबाट अमूक राजनीतिक दलका नेताहरू कतार र अरु खाडीका मुलुकमा गएर भाषण ठोक्तै हिँड्ने रहेछन् । त्यहाँ पनि उनीहरू तिनै मिश्रति, कति चेतनशील र कति  भ्रमित राजनीतिका सङ्कथन र यताका अन्तरपार्टी कलहका वाणीहरू लिएर जाने रहेछन् । आफ्नो दलका समर्थक युवाका ठूला भीड जम्मा गरेर हिँड्ने रहेछन् । अनि त्ाी युवाहरूले कविता लेख्ता संविधान, राज्ानीतिक अवस्था अनि दिशाहीन चरित्रबारे लेख्ने नै भए । अमेरिका वा युरोपका कुनै मुलुकमा बस्ने नेपालीहरूले यति धेरै र तीव्र चाखले नेपाली राजनीतिलाई हेर्दैनन् । ती केही टाढा छन्, केही बर्जुग छन्, अनि केही मायालु, गरिब र केही धनी छन् । तर नेपालबाट ती दिनदिनै टाढा हुँदै अर्कै किसिमको भावना र माया मिसिएको संस्कृतिको रचना गरिबस्ने अवस्थातिर जाँदैछन् । धेरै गइसकेका छन् ।

प्रज्ञा भवनमा यो कवि गोष्ठी भइरहेको बेला नेपालमा राजनीतिले झन् जटिल मोड लिँंदैछ । हिंसा छैन, वार्ता हुँदैछन् । ती निष्कर्षहीन छन् । समाज अघि बढिरहेको छ । आम मानिसहरू विस्तारै आफना-आफ्ना कर्ममा जुटेका छन् । अहिले यहाँ कला र साहित्य अनि संगीत र वास्तुकला, विचार र छलफलका अनेकौं स्तरीय कार्यक्रम भइरहेका छन् । साहित्य लेखिँदैछ । लेखकहरू इतिहास र साहित्यका सीमा छुट्याउने क्रममा लागेका छन् । उपन्यास विधामा केही वर्षदेखि देशले भोगेको इतिहासका घटनाहरूलाई राख्ने क्रम चलिरहेको छ । लेखकहरूले एउटा कुरा अझै ध्ान्द्याएका छैनन् । जीवन, इतिहास र औपन्यासिकताको सम्बन्ध सूक्ष्म हुन्छ । उपन्यास लेख्नुका आधार सामाजिक, राजनीतिक, कल्पना र मानवचरित्र जनिन हुन्छन् ।

देशमा घटेका घटनाको सोझो वर्णन गर्नु प्रतिवेदन हो, पत्रकारितालाई मिल्ने वर्णन हो । औपन्यासिक चेतनाले घटना प्रवाहलाई अधिदृष्टिले हेर्छ । समय भोग्यौं, आम मानिसका दुःखसुखका अनुभव अनेकौं सँंगाल्यौं । कति मानिसले यसक्रममा ज्यान गुमाए, कतिका सपना छताछुल्ल भए । खुसी र निराश भएका छौं । तर ती अनुभवलाई लिएर साहित्यिक रूप संरचना गर्दा हामीले घटनाको वर्णनमात्र नभई तिनको मानव अनुभव जनिन महत्त्व बुझेर सबै मानिसलाई हुने किसिमले काम गर्नुपर्छ । त्यसैले नै मानिस अमूक देश र भाषाका साहित्य पढेर फराकिलो भएको अनुभव गर्छन् । उपन्यासमा देशले कालक्रममा पाएको अनुभवको चित्र हुन्छ । उपन्यासलाई राष्ट्रको चित्र पनि भनेका छन् मानिसले । तर ती सबै ठूला घटनाक्रमहरूबाट अलग, मानिसका चरित्र, अवस्था र स्वभावका चित्रण गर्ने उपन्यासहरू पनि हुन्छन् । यस्ता उपन्यासहरूमा मानव चरित्र, स्वभाव र कुनै चिन्तनका प्रणालीबाट हेरिएको जीवन जगतको सम्बन्ध भेटिन्छ ।

नेपालको साहित्य लेखन पनि एउटा ठूलै चुनौतीको मोडमा छ । एकनासका अनुभव, सोझा विधागत वर्णन र उस्तै कुराका पुनरावृत्ति भइरहे भने साहित्य कसैले पढ्दैन । तर अहिले विविध अनुभवले साहित्य लेखिँदैछ, नेपालमा । नेपालीहरूका अनुभव मूलतः दुई किसिमले बाहिर देखा पर्दैछन् । पहिलो, नेपालका विविध संस्कृति र सिर्जनाका परम्पराहरू बाहिर आउँदैछन् । तिनको प्रभाव नेपाली साहित्य लेखनमा पर्दैछ । त्यसले नयाँ ऊर्जा लिएर आएको छ । दोस्रो, नेपालीका बाहिर-भित्र गर्ने गतिविधिबाट लेखन प्रभावित हुँदैछ । नेपालीहरू यति धेरै संख्यामा बाहिर र भित्र गरेको अवस्था अघि कहिल्यै थिएन । नेपालभित्र पनि गाउँ र सहर गर्दै गतिशील हुने चरित्र बलियो छ । त्यस्तै नेपाल बाहिर जाने नेपालीको संख्या धेरै देखिन्छ । म अमेरिकामा गई बसेका वा युरोपतिर गएर बसेका नेपालीको अवस्थिति र श्रम गर्न खाडी मुलुक र एसियाका अरु मुलुकमा गएका नेपालीका गतिशील चरित्र फरक छन् भन्ने मान्छु । तथ्याङ्क गर्ने भन्दैछन्, सत्चालीस लाखजति नेपालीको हलचलको खेल छ । श्रम गर्न जानेहरूको देशसँगको सम्बन्ध प्रत्यक्ष छ । यो विषयको विस्तृत सर्वेक्षण र अध्ययन हुनुपर्छ । छोटो लेखमा विषयमात्रै उठाउन सकिने रहेछ । त्यस्ौले कतारका कविहरूको यो गोष्ठीलाई मैले महत्त्वपूर्ण मानेको छु, किनकि यिनका कविताहरूमा कविताको दृष्टिले सफलता र स्तरीयता धेरथोर जस्तो पाइएला, तर यिनले उठाएको र यिनले भावनामा समाहित गरेको विषय तीव्र, इमानदार र हामी सबैलाई जागरुक र सतर्क गराउने किसिमको छ ।  

बाहिर बस्ने तर यहींका समस्याले पिरोलिएका नेपालीका आँखाबाट हेर्दा देश कस्तो देखिन्छ ? यो प्रश्नको उत्तर मलाई त्यो गोष्ठीमा पाठ भइरहेका अनि विमोचन भएका कविताहरूबाट भइरहेको थियो । कतारमा बत्ती नभएर जुनेल्ाीमा कविता लेख्ने बद्रीप्रसाद पराजुलीका कविता घर फर्केर फेरि पढ्छु । आफ्नै जुनेलीमा नयाँ अर्थहरू खुल्दै जान्छन् ।  

Published On: 26 November 2012| Kantipur

Back to list

;