s

प्याराडाइज म्यानपावरमा छापा

यूएई जान लागेका कामदारसँग बढी रकम असुलेको सूचना पाएपछि विभागले छडके गरेको हो ।

तोकिएभन्दा बढी सेवा शुल्क लिएको भन्दै ललितपुरस्थित प्याराडाइज इन्टरनेसनल म्यानपावरमा वैदेशिक रोजगार विभागले आइतबार छापा मारेको छ । म्यानपावरले यूएई जान लागेका कामदारसँग बढी रकम असुलिरहेको सूचना पाएपछि विभागले छड्के गरेको हो ।अनुगमनबाट तोकिएभन्दा १२ गुणा बढी सेवा शुल्क लिएको पाइएको विभागको दाबी छ । विभागका शाखा अधिकृत कुशल बराल नेतृत्वको टोली म्यानपावर पुगेको थियो । गत वर्ष बढी कामदार पठाउनेमध्ये यो म्यानपावर तेस्रोमा पर्छ । यूएईका लागि प्याराडाइजबाट श्रम स्वीकृति निकालेका देवेन्द्र गुरुङ, कुमार गुरुङ, सुमन सार्की र गंगा परियारलाई म्यानपावरले रकम बुझाउन भनेको थियो । म्यानपावरले कुमार र देवेन्द्र गुरुङलाई क्रमशः १ लाख १५ हजार र १ लाख १० हजार रुपैयाँ रकम बुझाउन भनेको थियो । गंगा परियारले आईएमईबाट मगाएको पैसा बुझाउन बाँकी थियो । सुमनले पोखरामै सविना गुरुङलाई १ लाख ३० हजार रुपैयाँ रकम बुझाएको विभागको भनाइ छ ।

ती कामदारको आइतबारको उडान रोकिएको छैन । म्यानपावरसँग विभागले गन्तव्यमा पुगेपछि पनि सम्झौतामा उल्लिखित सबै सर्तबमोजिम कामको सुनिश्चितता गराउने सर्तनामा गराएको छ । साथै सञ्चालकलाई बयानका लागि विभागमा २४ घण्टे पत्र काटेको छ । म्यानपावरले पोखराको ग्रान्ड शिवालय होटलमा अवैध रूपमा अन्तर्वार्ता गरिरहेको भन्ने उजुरीका आधारमा विभागले आकस्मिक अनुगमन गर्न श्रम तथा रोजगार कार्यालय पोखराबाट टोली खटाएको थियो । टोली त्यहाँ पुग्नुअघि नै शाखा कार्यालयका कर्मचारी शाखा बन्द गरेर बाहिरिइसकेका थिए । पृथ्वीचोकको टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्सेजमा समेत टोलीले आकस्मिक अनुगमन गरेको थियो । बोर्ड हटाई अन्तर्वार्ता लिने गरेको उक्त स्थानमा बाहिर च्यानल गेट लगाई एक–एक व्यक्तिलाई भित्र बोलाई म्यानपावरले अन्तर्वार्ता लिएको विभागको दाबी छ । टोलीले कागजात र कम्प्युटर हार्डडिस्कसमेत बरामद गरेको छ ।

Published on: 4 August 2019 | Kantipur

Back to list

;