s

पुसमा ५३ हजार बढी वैदेशिक रोजगारीमा गए, मलेसिया फेरि अग्रस्थानमा

वैदेशिक रोजगारीका लागि मलेसिया फेरि पहिलो रोजाइको मुलुक बनेको छ । वैदेशिक रोजगार विभागले तयार पारेको पुस महिनाको तथ्यांकका आधारमा मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक बनेको हो ।
 
खाडीका मुलुकमा देखिएको अनिश्चितता र मलेसियन मुद्रा रिंगिटमा आएको सुधारले नेपाली कामदार मलेसिया जानेतर्फ आकर्षित भएको देखिएको हो । केही महिना पहिलेसम्म मलेसियन मुद्रा रिंगिटको विनिमय दरमा आएको कमीले मलेसिया जाने कामदारहरुको संख्या ह्वात्तै घटेको थियो । गत पुस महिनामा संस्थागत रुपमा मलेसिया जाने नेपाली कामदारको संख्या १० हजार १ सय ४४ रह्यो भने वैधानिकीकरण, रीइन्ट्री तथा व्यक्तिगत नयाँ २ हजार ७ सय ३६ गरी १२ हजार ८ सय ८० जना गएका छन् ।
 
चालु आर्थिक वर्षका अघिल्ला ४ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया जाने गरेकोमा मंसिर महिनामा मलेसिया दास्रो बनेको थियो । पुसमा मलेसिया पुनः पहिलो स्थानमा उक्लिएको हो । मंसिरमा ८ हजार ३ सय ६५ जना मलेसियामा गएका थिए । मंसिरको तुलनामा पुसमा मलेसिया जानेको संख्या करीब १ हजार ८ सय जनाले बढी छ ।
 
विभागको तथ्यांक अनुसार दोस्रो स्थानमा रहेको कतारमा ८ हजार ६ सय ४० जना गएका छन् । तेस्रो स्थानमा रहेको साउदी अरबमा ३ हजार ६ सय ३२ जना गएका छन् । यूएई चौथो स्थानमा रहेको छ । पुसमा युएईमा ३ हजार १ सय ४ जना गएका छन् । पुसमा बहराइनमा २ सय ९६ जना, टर्कीमा २ सय २८ जना गएका छन् भनेपोल्याण्डमा १ सय १ जना गएका छन् । ओमनमा २ सय ४२ जना, जोर्डनमा १ सय ८५ जना, मकाउ ९ जना, हङकङमा २ जना गएका छन् ।
 
त्यस्तै, पुसमा अफगानिस्तानमा एक जना पनि गएनन् । अघिल्लो महिना मंसिरमा १६ जना अअफगानिस्तान गएका थिए । पुसमा जापानमा ९ जना, पानामामा २ जना र रोमानियामा ३ जना संस्थागत रुपमा कामदार गएका छन् । पुसमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या १ हजार ४ सय ६४ रहेको छ । त्यसमध्ये सबै भन्दा बढी कतारमा ३ सय ६७ जना, त्यसपछि मलेसियामा ३ सय ९ जना र यूएईमा त्यसकै हाराहारी ३ सय ६ जना, जोर्डनमा १ सय २९ र कुवेतमा १ सय १२ गएका छन् ।
 
समग्रमा गत पुस महिनामा ५३ हजार भन्दा बढी नेपाली श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । त्यसमा संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट जानेको संख्या २७ हजार ९ सय २७ रहेको छ । गत आर्थिक वर्षको पुस महिनामा २९ हजार ९ सय ३३ जना कामदार संस्थगतरुपमा वैदेशिक रोजगारीमा गएका थिए । पुस महिनामा रिइन्ट्रीका माध्यमबाट २२ हजार ४ सय ४९ जना, वैधानिकीकरणका माध्यमबाट १ हजार ८ सय ८४ जना, व्यक्तिगत नयाँ ६ सय ११ जना र ईपिएस मार्फत २ सय ५० जना गएका छन् । संस्थागत रुपमा मंसिर महिनामा २७ हजार ९ सय ६५ जना युवा युवती वैदेशिक रोजगारीमा गएका थिए । कार्तिक महिनामा संस्थागत रुपमा जानेको संख्या २८ हजार ५ सय २२ थियो । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार संस्थागत अर्थात् म्यानपावर कम्पनीभन्दा अन्य प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्या क्रमशः बढेको देखिएको छ । पुस महिनामा संस्थागत अर्थात् म्यानपावर कम्पनीबाट जाने र अन्य प्रक्रियाबाट जानेको संख्या हाराहारी देखिए पनि मंसिरमा अन्य प्रक्रियाबाट जानेको संख्या बढी थियो ।
 
Published on: 21 January 2018 | Madhyanha

Back to list

;