s

पूर्वमन्त्री ढकाल संलग्न संस्थाको भिसाबाट कोरिया पुगेका नेपाली सडकमा माग्दै

मञ्जु गुरुङ

हट्टाकट्टा जवान युवा विदेशका सडकमा हात फैलाउँदै मागिरहेको देख्दा एउटा नेपालीले कस्तो महसुस गर्ला ? एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी लामाले दक्षिण कोरियाको व्यस्त सडकमा शुक्रबार तीन नेपाली युवा पैसा मागिरहेको अवस्थामा भेटिन् ।यो दृश्यले उनको मन खिन्न भयो, देशको इज्जत नै लुटिएजस्तो लाग्यो।

ती युवा राजधानी सोलको नाम्भु (उत्तर दक्षिण) बस टर्मिनलमा केही पत्र देखाउँदै बटुवासँग पैसा मागिरहेका थिए। लामासँग पनि कोरियन ठानेर उनीहरूले हात फैलाए। लामाले सुरुमा केही तस्बिर खिचिन्। जब उनले नेपालीमा कुरा गर्न थालिन्, दुई युवा तत्कालै भागे। नजिकै रहेका अर्का युवा पनि आफू नेपालमा अध्यापक रहेको र अध्ययनको सिलसिलामा कोरियामा रहेको र खर्च अभावले यसरी माग्नुपरेको बताउँदै भागिहाले।
 
लामाका अनुसार ती युवा इन्टरनेसनल रिलिफ फ्रेन्डसिप फाउन्डेसन (आईआरएफएफ नेपाल) नामक संस्थाको पत्र देखाउँदै पैसा मागिरहेका थिए। संस्थाको लेटरप्याडमा सचिव प्रियारत्न महर्जनको हस्ताक्षर थियो। ‘जो जससँग सम्बन्धित छ’ भनी पत्रमा नेपालबाट कोरिया भ्रमणमा आएका स्वयंसेवी विद्यार्थीले गरिब बालबालिकाका लागि कोरियामा आवश्यक सहयोग लिन अनुमति लिएको उल्लेख छ। संस्थाले नेपालमा अनाथ तथा गरिब बालबालिकाका लागि स्वास्थ्य र शिक्षामा सहयोग गरिरहेको जानकारी गराएको छ।
 
यस घटनाबारे दूतावासलाई सूचित गरिएको लामाले बताइन्। उनका अनुसार दूतावासले यसबारे अध्ययन गर्ने आश्वासन दिएको छ। नेपालीलाई रोजगारी दिँदै आएको देशमा ती युवाले बटुवासँग पैसा मागेको देख्दा दु:ख लागेको लामाले बताइन्। ती युवाबाट प्राप्त सूचीअनुसार एक जना दाताले ५ हजारदेखि ५ लाख वन (५० हजार रुपैयाँ) सम्म रकम दिएका छन्।
 
कोरियाका सडकमा पैसा माग्दै हिँडेको यो पहिलो घटना भने होइन। यसअघि पनि यस्तै युवालाई नेपालीले नै भेटेर ‘नेपालको बेइज्जत गरे’ भन्दै दूतावासमा पुर्‍याइदिएका थुप्रै उदाहरण छन्।
 
सन् २०१२ मा सुवन सहरको एक विश्वविद्यालय अगाडि सडकमा गरिब बालबालिकाको तस्बिर देखाउँदै पैसा मागिरहेको भेटेपछि स्थानीय नेपाली व्यवसायी बुद्धि गुरुङ र कहरमान राईले समातेर तत्काल दूतावास पुर्‍याएका थिए। तत्कालीन राजदूत कमानसिंह लामाले सोधपुछ गरी अब यस्तो नगर्नु, फेरि यसरी भेटिए प्रहरीलाई जिम्मा दिने डर देखाएर पठाइदिएको व्यवसायी गुरुङको अनुभव छ।
 
यसरी नै पटकपटक गरी ९ युवालाई दूतावास पुर्‍याएको सोलका अर्का व्यवसायी पुरु जोशी बताउँछन्। तर दूतावास र कोरियन प्रहरीले पनि उनीहरूलाई केही गर्न नसकेको गुनासो जोशीको छ। सन् २००७ देखि नै कोरियाका सडकमा यसरी नेपाली युवा माग्दै गरेको भेटिएको जोशीको अनुभव छ। कोरियाको क्रिस्चियन विश्वविद्यालय सनमुनबाट विद्यार्थी भिसा मिलाई युवाहरू कोरिया प्रवेश गर्ने गरेको जोशीको भनाइ छ।
 
पूर्वमन्त्री एकनाथ ढकाल संलग्न ‘वर्ल्ड पिस’ नामक क्रिस्चियन संस्थाले युवायुवतीलाई कोरिया पठाएर सडकमा पैसा माग्न लगाइरहेको ती युवाले बताएको जोशीले जानकारी दिए। यसरी उठाएको पैसा संस्थालाई बुझाउने र आफूहरूले कमिसन पाउने गरेको ती युवाले बताएका थिए। यसबारे दूतावासले अध्ययन थालेको जोशीले सुनाए। बाटोमा पैसा मागिरहेको दृश्य कैद गरी फेसबुकमार्फत सार्वजनिक गर्दै कोरियामा यस्ता गतिविधिविरुद्ध अभियान नै सञ्चालन गरेपछि केही कम भएको तर अहिले फेरि देखिन थालेको जोशीले सुनाए।
 
Published on: 14 February 2018 | Kantipur

Back to list

;