s

पूर्वलडाकुको कतारी अनुभव

होम कार्की

कतारमा कार्यरत आधाजसो नेपाली सनैया भन्ने ठाउँमा बस्छन् । अधिकांश कम्पनीको लेबर क्याम्पहरु सनैयामै छन् । जता काम गर्न पुगे पनि साँझमा त्यहीं र्फकन्छन् । चाहे दैनिक दुई/तीन घन्टाको यात्रा किन गर्नु नपरोस् ? शुक्रबारबाहेक अरु दिनमा सनैया दिनभर सुनसान हुन्छ । बेलुका भने केही चहलपहल हुन्छ । हालैको एक साँझ देउखुरी दाङका २६ वर्षीय धर्मबहादुर चौधरी सनैया ३८ नम्बर क्याम्पमा भेटिए । माओवादी लडाकुबाट स्वैच्छिक अवकाश लिएर कतार आएका चौधरी यता ठगिए । उनी उद्धारको प्रतीक्षामा छन् । माओवादीको सशस्त्र युद्धदेखि शिविरको बसाइ हुँदै दोहासम्मको यात्रा अनुभव उनले यसरी सुनाए ।

०६० मा कक्षा सात पढ्दा पढ्दै माओवादीमा गइयो । ९ वर्षपछि स्वेच्छिक अवकाश लिएर घर हिँड्दासाथमा १० लाख रुपैयाँ, श्रीमती र छोरी थिइन् । शान्तिकालमा शिविरमा भेट भएकी युवतीसँग शिविरमै विवाह भयो । म चौथो डिभिजनअन्तर्गत प्लाटुन कमान्डरको जिम्मेवारीमा थिएँ । सेनामा जाने अवसर थियो । क्षमता र बुद्धि पनि थियो । सेना समायोजनामा जान शैक्षिक योग्यताले रोक्यो । सरकारी जागिर खाने इच्छा थियो । पार्टीभित्रैबाट एसएसलसी दोस्रो श्रेणीमा पास गरेको थिएँ । तर, यो मान्य भएन ।

मैले र श्रीमतीले स्वेच्छिक अवकास नै रोज्यौं । निस्कने बेलामा पार्टीले 'केही भइहाल्यो भने पार्टी सम्पर्कमा रहने' तर स्वतन्त्र जीवन बिताउन सकिन्छ भन्यो । पछि सम्पर्कमा नगई स्वतन्त्र जीवन बिताउन थालें । हुन त किरण पक्ष कार्यकर्ताले सहयोग गर्नुपर्‍यो भनेर बोलाउन घरमै आएका थिए । मैले उनीहरूलाई 'हामीले स्वतन्त्र जीवन बिताउने' भनेर फर्काइदिएँ ।

१० वर्ष संघर्ष गरेको र पार्टीले दिएको पैसाले कुनै चिनो किनौं भनेर अढाइ कट्ठा जमिन जोडियो । एक ठाउँमा खेत र देउखुरीमा घडेरी किन्दा दुई लाख ऋण लाग्यो । ऋण तिर्ने उपाय नभएपछि वैदेशिक रोजगारको बाटो समातें । श्रीमती पनि गृहणी बनिन् ।

गिएको मार्च १९ तारिख कतारको विमानस्थलमा क्लिनर (सफाइ) को काम गर्न मसहित चार साथीहरू दाङकै राजकुमार चौधरी, अशोककुमार चौधरी र रामशरण चौधरी कोट इन्टरनेसनल म्यानपावरमार्फत आयौं । सबैजना जनमुक्ति सेनाका स्वेच्छिक अवकाश प्राप्त सदस्य थियौं । मैले ७० हजार रुपैयाँ बुझाएँ । पठाउने म्यानपावरको कर्मचारी पनि हाम्रै सदस्य थियो । विश्वास भएर त्यही म्यानपावरलाई छानेका थियौं ।

अहिले राजकुमार चौधरी र म सँगै बस्छौं । अशोक र रामशरण अर्को क्याम्पमा बस्छ । म मलेसियाको सुरक्षा गार्डमा काम गर्न चाहन्थें । म्यानपावरवालाले उचाइ नपुग्ने र कतारमा सरकारी विमानस्थल भनेपछि यता आएँ । म्यानपावरले 'विमानस्थलबाट बाहिर निस्कनै पाउनुहुन्न । घाम त देख्नै पाउनुहुन्न । भित्रको भित्रै हो । दिउँसो हो कि राति हो थाहै हुँदैन । टिप्स त जति पनि पाइन्छ । ओभरटाइम पनि पाइन्छ । पकेट अलि ठूलो बनाउनुहोला । महिनाको १५/१६ सय रियाल कमाइ हुन्छ । त्यति भएन भने १२ सय रियाल कतै हँुदैन' भन्थे ।

यता उड्ने बेला ट्रयापमा परियो । बरु युद्धको मोर्चाहरूमा त्यस्तो ट्रयापमा परिएको थिएन । 'ल यसमा हस्तक्षर गर, होइन भने जहाज छुट्छ भन्दै ८ सय रियालको करारमा' हस्ताक्षर गर्न लगायो ।

अझ कतारमा आएपछि कम्पनीले तैले 'अंग्रेजी पनि जान्दैन, हिन्दी पनि जान्दैन' भन्दै सात सय रियालमा हस्ताक्षर गर्न लगायो । यो तलबले कहिले ऋण तिर्ने, के खाने ? त्यही भएर काम छाडिदिएँ ।

यिहाँ आएदेखि विमानस्थल देख्न पाएको छैन । सुरुमा स्कुलको चउर सफा गर्न लगायो । त्यसपछि अग्ला अग्ला भवनको सिसा चर्को घाममा टल्काउनुपर्ने । माथिबाट एउटा बाल्टिनमा बसेर डोरीको साहयताले सिसा पुछ्दै झर्नुपर्ने । एउटा हातमा कपडा अर्को हातमा बाल्टिन । त्यसरी दिनभर खटेर क्याम्पमा आइपुग्दा खुट्टा एकदमै दुख्छ । मेरो खुट्टामा युद्धकालमा लागेको छर्रा अझै बाँकी छन् । निकाल्न पाएको छैन । हतियार बोकेर देश र जनताको परिवर्तनका लागि भनेर लडेको मान्छेले यस्तो काम गर्नुपर्दा विगतको सम्झाना बारम्बरा आउँदोरहेछ ।

परिवर्तनको लागि भनेर के पो गरिएन र ? तत्कालीन शाही सेनाको विशेष रेन्जर फौजसँग दुई दिनसम्म पाल्पाको तीनगिरेमा लडिएको थियो । त्यो सबभन्दा रमाइलो थियो । उनीहरूसँग जुध्न भनेर दुई दिनसम्म माघको चिसोमा एक मुठ्ठी भात र दाल खाएर कुरेका थियौं, उनीहरूलाई सबक सिकाउन । गण्डक क्षेत्रका सबै सदस्य त्यही थुपि्रएका थियौं । त्यस्तै बेनी आक्रमणमा सहभागी भइयो । बुटवल हान्न बम र बारुदको ओसरपोसार गरियो । सानातिना मोर्चामा भएका भिडन्तहरू त याद हुन पनि छोडिसक्यो । एसएलआर बोक्ने यी हातमा टालो बोकेर सिसा पुछ्नुपर्दा निकै दुःख लाग्दोरैछ, मन रुँदोरैछ ।

मलाई बरु पहिला युद्ध लड्दा त्यति डर हुँदैन त्यो । पल पल मृत्युलाई जितेको मान्छे हो, म । मरिन्छ भन्नेमा कुनै डर थिएन । देश र जनताको नाममा लडिन्थ्यो । अहिले परिस्थिति बदलिएर होला, जीवनको ज्यादै माया लाग्छ । घरपरिवारको मायाले सताउँछ । जिन्दगी भनेको कुरा ठूलो रैछ । ज्यान भए पैसा जता पनि कमाइन्छ । त्यही भएर होला, अहिले एकदमै भविष्यको चिन्ता लाग्छ । बरु हामीलाई गरिखाने केही अवसर पाउने भए नेपालै फर्किन्थें ।

कतारबाट छिटो नस्किन चाहन्छु । यहाँको बसाइ पनि ब्यारेकजस्तै लाग्छ । ब्यारेकमा जस्तै आफ्नो गाउँ ठाउँको भन्दा पनि पूर्व पश्चिम क्षेत्रका साथीभाइ भेट हुने, बाहिर निस्कन अनुमति लिनुपर्ने, कामको समयतालिका हुने । हुन त कतारै एउटा खुला ब्यारेकजस्तो लाग्छ । जहाँ छिरेपछि निस्कन सजिलो रैनछ ।

Published on: 4 May 2013 | Kantipur

Back to list

;