s

पूर्वगोर्खा नेम्वाङबाट ठगिएको भन्दै पीडितले भेटे गृहमन्त्री

काठमाडौँ — पूर्वगोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।

ठगिएको रकम फिर्ता गरी नेम्वाङलाई कानुनी सजायका लागि सहयोग गर्न माग गर्दै पीडितहरूले मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका छन् । १० जना पीडितले हस्ताक्षर गरेको पत्रमा उनीहरूले पाँचथर घर भई हाल लन्डनमा बस्ने नेम्वाङले आफू जस्ता दर्जनौं व्यक्तिबाट विभिन्न बहानामा करोडौं रुपैयाँ उठाएको उल्लेख छ ।

‘हामीलाई नेम्वाङले मर्नु न बाँच्नुको अवस्थामा पुर्‍याएको छ । शक्तिकेन्द्र धाएर उम्किने आशंकामा हामीले रकम असुलउपर गरिदिन र ठगी गर्नेलाई सजाय गराउन माननीय मन्त्रीज्यूसमक्ष यो ध्यानाकर्षण पत्र पेस गर्दछौं,’ पत्रमा लेखिएको छ । पत्रमा दिलप्रसाद लिम्बु, देउकुमार लिम्बु, फिपरानी लिम्बु, गंगाप्रसाद लिम्बु, एलिसा लिम्बु, रमिला राई, श्यामचन्द्र राई, लक्ष्मी राई, निलमकुमारी गुरूङ र लेखराज थेवेले हस्ताक्षर गरेका छन् ।

‘पूर्वगोर्खाका बिधवा तथा तिनका परिवारलाई मद्दत गर्नुपर्नेमा झुटो आश्वासन दिँदै करोडौं ठगेको पीडितहरूले गुनासो गरेपछि न्याय दिलाउन हामीले गृहमन्त्रीलाई भेटेका हौं,’ गोर्खा सत्याग्रहसँग आवद्ध अभियन्ता दिपक मास्केले भने ।

तीनजना पीडितले दिएको जाहेरीका आधारमा नेम्वाङलाई माघ १५ गते प्रहरीले पाँचथरमा पक्राउ गरेको थियो । उनी हाल जिल्ला प्रहरी कार्यालय काठमाडौंको हिरासतमा छन् । नेम्वाङलाई प्रहरीले ठगीसम्बन्धि कसुरमा हिरासतमा राखी जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । नेम्वाङ आफ्नो बाबुको काजक्रिया गर्न नेपाल आएका बेला पक्राउ परेका थिए । उनी पक्राउसँगै थप पीडितहरू सार्वजनिक हुने क्रम पनि बढेको छ ।

नेम्वाङले पूर्वगोर्खा सैनिकका दुई छोरीसँग आवासीय भिसा मिलाइदिने भन्दै प्रति व्यक्ति २ लाख ३८ हजारका दरले ४ लाख ७६ हजार रुपैयाँ लिएर पनि काम नगरिदिएको आरोप छ । काममा आलटाल गरेपछि पीडितले पैसा फिर्ता माग्दा उनले उल्टै धम्क्याउने गरेको पीडितको भनाइ छ । सुरूमा नेम्वाङले दुई दिदीबहिनीलाई बेलायत लैजाने र त्यहाँ रोजगारीका लागि सहजीकरण गरिदिने आश्वासन दिएका जाहेरीमा उल्लेख छ । त्यस्तै, दिल प्रसाद लिम्बु, उनका दुई दाजु तथा एक दिदीले आफूहरूबाट नेम्वाङले २१ लाख रुपियाँ ठगेको उजुरी दिएका छन् । त्यस्तै, रमिला राईले आफूबाट नेम्वाङले साढे ६ लाख रुपैया ठगेको उजुरी दिएकी छन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पेश भएको जाहेरीमा पिताको मृत्यु भइसकेको अवस्थामा आमालाई बेलायत पुर्‍याएको र उनको खातामा बेलायत सरकारले जम्मा गरिदिने रकम नेम्वाङले आफ्नो नियन्त्रणमा लिएको जाहेरीमा उल्लेख छ ।

बेलायतको बोन्ड आडम्स् एलएलपी सोलिसिटर्स फर्ममा पूर्वगोर्खा परिवारका केस लैजाने नेम्वाङले बेलायतमा समेत भूतपूर्व गोर्खा सैनिकसाग हजारौं पाउण्ड ठगी गरेको आरोप लागेको छ । नेपाल वा बेलायतमा कुनै कानूनी अध्ययन नगरेका नेम्वाङले बेलायतमा नेम्वाङ लिमिटेड र नेपालमा दि एड्भाइजर गार्डियन कार्यालय खोलेर भूतपूर्व गोर्खा परिवारसंग मनोमानी रुपमा पैसा उठाउने कार्य गर्दै आएका थिए ।

Published on: 8 February 2024 | Kantipur

Link

Back to list

;