s

पूर्वराजाको चियाबगानका मजदुरले पाए ज्याला

बगानका मजदुरलाई दुई किस्ता गरेर एक महिनाको ज्याला दिइएको छ भने आउँदो आइतबारसम्म थप १५ दिनको ज्याला दिइने व्यवस्थापनले जनाएको छ झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’का मजदुरले बाँकी ज्याला पाएका छन् । कम्पनीले करिब दुई महिनादेखि रोकिएको ज्याला सोमबार र मंगलबार गरेर उपलब्ध गराएको हो । मजदुरले करिब दुई महिनादेखि ज्याला नपाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित भएपछि पूर्वराजाले समेत चासो देखाएका थिए ।

चियाबगानभित्रैको ‘मिनी दरबार’मा रहेका पूर्वराजा शाहले समाचार आएपछि बगानको व्यवस्थापन जिम्मा पाएको भारतीय कम्पनीलाई मजदुरको ज्याला दिन निर्देशन दिएका थिए । त्यसलगत्तै ३ सय १५ मजदुर र २२ कर्मचारीलाई ज्याला उपलब्ध गराइएको बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले जानकारी दिए । ‘अहिले पिक समय हो,’ उनले भने, ‘हाम्रो मात्रै होइन, अरू बगानले पनि ज्याला दिन सकेका छैनन् ।’

बगानका मजदुरलाई दुई किस्ता गरेर एक महिनाको ज्याला दिइएको छ भने आउँदो आइतबारसम्म थप १५ दिनको ज्याला दिइने व्यवस्थापनले जनाएको छ । यसरी मजदुरको कुल बाँकी करिब ५० लाख रकममध्ये लगभग ४० लाख प्रदान गरिएको उनको भनाइ छ । बगानका मजदुरले हाल दैनिक तीन सय ८५ रुपैयाँ पाउँदै आएका छन् । मजदुरले प्रत्येक हप्ता ज्याला पाउँदै आएका थिए । पछिल्लो समय १५ दिन हुँदै यसपटक भने करिब दुई महिनामा मात्रै ज्याला दिएको मजदुर सपना सार्कीले बताइन् । ‘अब बल्ल समस्या टर्ने भयो,’ उनले भनिन्, ‘समयमै ज्याला दिए त साह्रै राम्रो हुने थियो ।’

‘अबको लडाइँ अन्य सुविधाका लागि’

बगानमा वर्षौँदेखि मजदुरले पाउँदै आएका सेवासुविधा क्रमशः कटौती हुँदै गएको मजदुर नेता दीपक फँुयालले बताए । बगानले मजदुरको सञ्चयकोषको रकमसमेत नदिएको फँुयालले आरोप लगाए । यसअघिको सहमतिअनुसार १ साउन ०७५ देखि ०७६ वैशाखसम्म दैनिक ३ सय ८५ रुपैयाँ दिनुपर्नेमा मजदुरले पाएका छैनन् । त्यसबापत प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म पाउन बाँकी रहेको उनले बताए । उनले भने, ‘अहिले ज्याला पायौँ, अब बाँकी सुविधा खोज्छौँ ।’

बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठले तत्कालका लागि दैनिक ज्याला दिइएको र बाँकी क्रमशः मिलाउने बताए । ‘बल्ल ज्याला सल्टायौँ,’ उनले भने, ‘बाँकी विषय ट्रेड युनियनसँग बसेर मिलाउँछौँ ।’ यो चियाबगान पूर्वराजपरिवारले ०१८ सालमा स्थापना गरेको थियो । ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको यो बगान पञ्चायतको अन्त्यसँगै ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’को नाममा सञ्चालन हुँदै आएको छ ।

Published on: 13 February 2020 | Naya Patrika 

Link

Back to list

;