s

पूर्वगोर्खाहरू बेलायतको भिसा छाडेर व्यवसाय गर्दै

शिव शर्मा

अधिकांश पूर्वबेलायती सैनिकहरू बेलायतले आवासीय भिसा दिएपछि त्यतै हानिए । घरजग्गासमेत बिक्री गरेर गएकाहरू उतै रमाएका छन् । त्यो अवसर पाउने अरू केहीले भने विदेशको अवसरलाई तुच्छ ठाने । उनीहरू स्वदेशमै व्यवसाय गरेर अवकाशपछिको जीवन बिताउँदै छन् ।

बेलायतको आवासीय भिसा लत्याउनेमध्येका पूर्व लेफि्टनेन्ट ज्ञानबहादुर गुरुङ पनि एक हुन् । १९ वर्षअघि बेलायती सेनाबाट अवकाश पाएका उनी गाउँमा फर्केर कृषि पेसा अंगालेर बसेका छन् । उनले व्यवसायमा ४० लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेको बताए । पुम्दी-भुम्दी-२ को कटुसस्वाँराको डाँडोको झाडी फाँडेर ५९ वर्षीय  गुरुङले करिब दुई वर्षदेखि पशुपालन, तरकारी र फलफूल खेती गरिरहेका छन्  । उनीजस्तै धेरैजना लाहुरेहरू अहिले यतै व्यवसाय गर्ने अभियानमा छन् । बेलायती सेनाबाट अवकाश पाएका मेजर लक्ष्मीप्रसाद गुरुङ गोर्खा कम्युनिटी नामक अवकाश प्राप्त सैनिकहरूको संस्था खडा गरेर बेलायत नगई बसेका लाहुरेहरूलाई व्यवसायमा लगाउन सक्रिय छन् । उनको पहलमा गोर्खा बचत तथा ऋण सहकारी, गोर्खाली रेडियो र गोर्खाली ग्रोसरी पसल सञ्चालनमा छन् । यसमा अवकाश प्राप्त लाहुरेहरूले उनलाई साथ दिएका छन् । उनीहरूले ती यवसायमा १० करोड रुपैयाँ लगानी गरेका छन् ।

'आवासीय भिसा पाएपछि लाहुरे बेलायत पलायन हुने क्रम बढेपछि स्वदेशमै केही गरेर देखाउन संस्था खोलेर लागेका हौं,' मेजर लक्ष्मीप्रसाद गुरुङले भने, 'यो अभियानले लाहुरेहरूलाई स्वदेशमै व्यवसायमा लगाउन सहयोग पुराउनेछ ।' तीन सयभन्दा बढी बेलायती तथा केही भारतीय सेनाबाट अवकाश पाएका लाहुरेहरू संस्थामा आबद्ध भएर व्यवसाय गर्दै आएका छन् ।

बीस वर्षअघि रिटायर भएका मेजर हुकुमराज थापा बेलायतले आवासीय भिसा दिए पनि नेपालीलाई त्यहाँका सहकर्मीसरह व्यवहार नगरेका बताउँछन् । 'बेलायतमा अझै नेपाली गोर्खालाई दोस्रो दर्जाको रूपमा हेर्छन्,' थापाले भने, त्यो असमान व्यवहार सहेर आवासीय भिसा लिएर जानु ठीक नलागेर यतै व्यवसायमा लगानी गरेको हुँ । उनले गोर्खा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभलगायत विभिन्न व्यवसायमा लगानी गरेका छन् ।

तीन दशकअघि अवकाश पाएका पूर्णबहादुर गुरुङले पनि आवासीय भिसा लिने प्रयास गरेनन् । विजयपुरका पूर्वक्याप्टेन जितबहादुर गुरुङ पनि बेलायत मोह त्यागेर व्यावसायिक बंगुरपालन गर्दै छन् ।

Published on: 31 July 2011 | Kantipur

Back to list

;