s

पूर्वराजाको चियाबगानले श्रमिकलाई दिएन ज्याला

चिरञ्जीवी घिमिरे

झापाको दमकस्थित पूर्वराजा ज्ञानेन्द्र शाहको पूर्ण स्वामित्वमा रहेको ‘हिमालय–महालक्ष्मी टी गार्डेन’ले दुई महिनादेखि मजदुरको ज्याला दिएको छैन । प्रत्येक हप्ता ज्याला पाउँदै आएका मजदुरहरूले आठ हप्तादेखि दैनिक काम गरेको ज्याला नपाएको बताएका छन् ।

पूर्वराजपरिवारको स्वामित्वमा भए पनि हाल सोल्टी ग्रुपले यो चियाबगानको व्यवस्थापन जिम्मा भारतीय कम्पनीलाई दिएको छ । सो कम्पनीका व्यवस्थापक सुमेन्दु मुखर्जी पैसा ल्याउँछु भनेर १० दिनअघि भारत गए पनि फर्किएका छैनन् । ०१८ सालमा पूर्वराजपरिवारले स्थापना गरेको चियाबगान पञ्चायतमा ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको थियो । पञ्चायतको समाप्तिसँगै ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’को नाममा रहेको छ । ३ सय १६ जना मजदुर कार्यरत बगानले उनीहरूलाई दुई महिनाको करिब ५० लाख रुपैयाँ तिर्न बाँकी छ । बगानमा मजदुरले दैनिक ३ सय ८५ रुपैयाँ पाउँदै आएका छन् ।

बगानले मजदुरको ज्याला मात्रै नदिएको होइन, दमक नगरपालिकामा ५ करोड ३० लाखबराबर सम्पत्तिकर पनि तिर्न बाँकी छ । बगानले आर्थिक वर्ष ०६२/६३ देखि एकीकृत सम्पत्तिकर नबुझाएको नगरपालिकाले जनाएको छ ।

बगानले दुई महिनासम्म ज्याला नदिँदा घरमा खाने अन्नसमेत सकिएको मजदुर तारामणि टोप्पोले बताइन् । ‘अब त के खाने, के लगाउने भन्ने अवस्थामा पुगिसक्यौँ । हाम्रो रोजगारी पनि यही बगानमा मात्रै हो,’ उनले भनिन्, ‘अन्न किन्न पैसा पनि छैन । हाम्रो पीडा कसले बुझ्ने ?’

चार महिनाको छोरो बोकेर काम गर्दा पनि नियमित ज्याला नपाउँदा घर चलाउनै समस्या भएको मजदुर सिर्जना खड्का बताउँछिन् । सुरुमा एक हप्तामा ज्याला दिने बगानले बिस्तारै १२ दिन हुँदै १५ दिन पुर्‍याएको अर्का मजदुर गणेश श्रेष्ठले बताए । चियाबगानले राजपत्रमा प्रकाशित भएअनुसार मजदुरलाई ०७५ साउन १ देखि ०७६ वैशाखसम्म दैनिक ३ सय ८५ रुपैयाँ दिने यसअघि सहमति भएको थियो । त्यसबापत प्रतिव्यक्ति २५ हजारसम्म पाउन बाँकी रहेको चियाबगानका मजदुर नेता गोपाल खड्का बताउँछन् । यस्तै, लामो समयदेखि मजदुरले नपाएको १ करोडभन्दा बढी सञ्चयकोषको रकम, बिरामी खर्च र बिदा भत्तासमेत एकमुष्ट दिनुपर्ने उनले बताए ।

‘एक महिनाको मात्रै दिन सक्छौँ’

कम्पनीका लागि सोल्टी ग्रुपले खटाएका उपप्रबन्धक खगेन्द्र श्रेष्ठ बगानमै छन् । तर, पैसाका बारेमा कुरा नगर्न उनले मजदुरहरूलाई भन्ने गरेका छन् । ‘मजदुरका विषयमा बोल्न अनुमति छैन,’ नयाँ पत्रिकासँग उनले भने, ‘यो विषयमा हामीलाई नसोध्नुहोला ।’ तर, भारतीय कम्पनीले राखेका व्यवस्थापक मुखर्जीले एक महिनाको तलब मात्रै दिन सक्ने बताए । ‘म पैसाको व्यवस्थापन गर्दै छु,’ उनले भने, ‘एक महिनाको मात्रै दिन सक्छु ।’

पूर्वराजालाई भेट्नै पाउँदैनन् मजदुर

यतिवेला पूर्वराजा शाह चियाबगानभित्रै रहेको ‘मिनी दरबार’मा छन् । प्रत्येक वर्ष जाडो छल्न आउने पूर्वराजा करिब डेढ महिनादेखि मिनी दरबारमा थकाइ मारिरहेका छन् । उनको पूर्ण स्वामित्वमा रहेको बगानका मजदुरहरूले पटक–पटक आफ्नो समस्या राख्ने प्रयास गरेका छन् । तर, उनीहरूलाई दरबार प्रवेशमै रोक लगाइएको छ ।

Published on: 8 February 2020 | Naya Patrika

Link

Back to list

;