s

पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानमा कार्यरत मजदुर ज्याला नपाएपछि श्रम कार्यालय पुगे

चिरञ्जीवी घिमिरे

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको झापास्थित हिमालय–महालक्ष्मी चिया बगानका मजदुर सेवासुविधा नपाएको भन्दै श्रम कार्यालय पुगेका छन् । चिया बगानले पछिल्लो समय ज्याला समयमा दिन छाडेको भन्दै मजदुरहरू बुधबार श्रम कार्यालयमा पुगेका हुन् । भद्रपुरस्थित श्रम कार्यालय पुगेका उनीहरूले समयमा ज्याला नपाएको तथा अन्य पारिश्रमिक पनि नपाएको भन्दै ज्याला र पारिश्रमिक दिलाइदिन निवेदन दिएका छन् ।

ज्यालाबाट सञ्चय कोषको पैसा काटे पनि खातामा जम्मा नगरेको, दुई वर्षअघि मजदुरले आन्दोलन गरेको समयमा सहमति भएको २५ सय रूपैयाँ र १ साउन ०७५ देखिको बढेको ज्याला पनि नदिएको उनीहरूको भनाइ छ । मजदुर नेता दीपक फुँयालका अनुसार बगानबाट सेवानिवृत्त हुँदा पनि उपदान र बगानले सञ्चय कोषबापतको पैसा दिएको छैन । ज्यालाबाट काटेको सञ्चय कोषबापतको रकममा मालिकले रजाइँ गरेको मजदुरहरूको आरोप छ । ‘हाम्रो ज्यालाबाट सधैँ काट्छन् । तर, सञ्चय कोषमा जम्मा हुँदैन,’ मजदुर गायत्री घिमिरेले भनिन्, ‘सञ्चय कोषमा पैसा जम्मा भएको होला भनेर ऋण खान गएको ६ वर्षदेखि खातामा पैसा छैन ।’

बगान व्यवस्थापनले समयमा ज्याला नदिँदा परिवार चलाउन मुस्किल भएको मजदुर सुष्मा शाक्य बताउँछिन् । ‘बगानलाई अझै राम्रो बनाउने चाहना छ,’ उनले भनिन्, ‘तर, समयमा ज्याला नै दिँदैन । ज्याला नदिएपछि त कसरी काम गर्ने ? ज्याला लिने वेलामा सधैँ लफडा गर्नुपर्छ ।’

बगानका मजदुरसँग बगानले सात दिनमा ज्याला दिने मौखिक सहमति छ । बगान धराशायी भएको भन्दै पछिल्लो समय व्यवस्थापन पक्षले १५ दिनमा दिने मौखिक सहमति गरेको छ । तर, अहिले महिना दिनमा पनि ज्याला दिन छाडेको मजदुर नेता पदम विक बताउँछन् । ‘एक महिनामा ज्याला दिन्छ । त्यो पनि १४ दिनको दिन्छ,’ उनले भने, ‘ज्याला नपाएर मजदुरले प्रत्येक महिना कार्यालय घेराउ नै गर्नुपर्छ ।’

पूर्वराजपरिवारको स्वामित्वमा रहेको यो चिया बगान कुनै वेला आकर्षणको केन्द्र थियो । अरु बगानमा नभएका सेवा–सुविधा यो बगानमा थिए । तर, पछिल्लो समय सबै सेवा–सुविधा कटौती गरेर मजदुरलाई हैरान बनाएको अखिल नेपाल ट्रेड युनियन महासंघका प्रदेश १ इञ्चार्ज भूपाल सापकोटा बताउँछन् । उनले भने, ‘वर्षैपिच्छे व्यवस्थापक फेरिँदा बगान बन्द हुने अवस्थामा पुग्यो ।’

मजदुरको गुनासो सुन्दै श्रम कार्यालय मेचीका प्रमुख दुर्गा आचार्यले मजदुरलाई न्याय दिलाउने बताए । उनले व्यवस्थापन पक्षसँग पनि छलफल गरेर अघि बढ्ने बताए । ‘ज्याला बैंक खातामा जानुपर्ने हो । तर, त्यो पनि रहेनछ,’ उनले भने, ‘तपाईंहरूको निवेदन लिएर व्यवस्थापन पक्षसँग पनि छलफल गर्छौँ ।’ पूर्वराजा शाहको स्वामित्वमा रहेको यो बगान सोल्टी ग्रुपले व्यवस्थापन गर्दै छ । पछिल्लो दुई वर्षदेखि भारतीय कम्पनीले यो बगान ठेक्कामा चलाउँदै आएको छ । बगानमा तीन सय १८ जना स्थायी मजदुर छन् भने त्यति नै संख्यामा अस्थायी पनि कार्यरत छन् ।

Published on: 17 July 2020 | Naya Patrika

Link

Back to list

;