s

पूर्वराजाको नाम भजाउँदै ८ करोड ठगी

प्रतिमा बाँस्कोटा

बाराका कुलदेव चौधरी बेलायत जाने भिसा पाउँदा कम हषिर्त थिएनन् । ५ लाख ५० हजार रुपैयाँ तिरेपछि उनका हातमा भिसा पर्‍यो । तर त्यो खुसी धेरै दिन टिक्न सकेन । जब उनले त्यो नक्कली भन्ने पत्तो पाए, बेलायत उड्ने सपना त तुहियो नै, ऋण काढेर दिएको पैसासमेत डुब्यो । उनी अहिले त्यो पैसा उठाइदिन गुहार माग्दै प्रहरी शरणमा पुगेका छन् । 

कुलदेव मात्र होइन, उनका दाजु र भान्जासमेत एकै व्यक्तिबाट ठगिएका छन् । बाराको गढिमाई मन्दिर दर्शन गर्न गएका एक व्यक्तिले बेलायत लगायत मुलुकमा पठाउने भन्दै उनीसहित ५६ जनाबाट ४ देखि १२ लाख रुपैयाँसम्म असुलेको प्रहरीले जनाएको छ । त्यो चंगुलमा मन्दिरका पुजारी मंगल चौधरी समेत परे । उनले पनि २ लाख रुपैयाँ दिएका थिए । यसरी विदेश पठाउने र सरकारी जागिर खुवाउने भन्दै मोटो रकम ठगी गरेका पर्साका मनोजबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

 सिंहले आफू पूर्वराजपरिवारको नातेदार भएको बताएका थिए । 'राजपरिवार सदस्यलाई समेत चाँडै मन्दिर दर्शनमा ल्याउने भनेर स्थानीयवासीलाई प्रभावमा पारेका रहेछन्,' केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीले भने, 'सम्पर्क बढाउँदै विदेश पठाउने र जागिर खुवाउने भनी ठूलो रकम ठगी गरेछन् ।' 

उनले विदेश जान लागेका व्यक्तिबाट पैसा उठाएर वानेश्वरको एभरेस्ट होटलमा 'अभिमुखीकरण कक्षा' राखिएको निमन्त्रणापत्र बाँडेका थिए । गत साउन १६ गते साँझ ६ बजे एभरेस्टको 'लोटस' हलमा सेमिनार राखिएको त्यसमा लेखिएको थियो । त्यसमा आयोजक 'पूर्वमहाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको सचिवालय, निर्मल निवास काठमाडौं' लेखेका थिए । उनले रोयल बिजनेस गु्रपका नाममा उक्त निमन्त्रणा छापेका थिए । 

निमन्त्रणा बाँडेको २ दिनपछि बोलाइएका जति सबैलाई फोन गरेर अभिमुखीकरण कक्षा केही समयलाई सरेको भन्दै पछि पुनः खबर गर्ने बताइएको थियो । तर ब्युरोले यसमा पूर्वराजपरिवारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ । 'राजपरिवारका सदस्यको संलग्नता छैन, सिंहले ठगी गर्दा सर्वसाधारणको विश्वास जित्न त्यसो गरेका हुन्,' ब्युरोका डीआईजी उपेन्द्रकान्त अर्यालले भने ।  

ब्युरोले उनलाई ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो । उनले २ वर्षयता सर्वसाधारणबाट ८ करोड भन्दा बढी रुपैयाँ ठगी गरेको ब्युरोले जनाएको छ । सिंहले एक वर्षअघि बाराको गढिमाई मन्दिरमा गएर मन्दिरका लागि २ लाख रुपैयाँ बराबरको बेन्च बनाएर दान गरिदिएका थिए । मन्दिर छेउछाउमा माग्न आउने बालबालिका र मगन्तेलाई सय रुपैयाँदेखि २ सय रुपैयाँसम्म दिने गर्थे ।  

मन्दिरमा माग्नेलाई समेत धेरै दान दिएको देखेपछि सर्वसाधारण र मन्दिरका पुजारीसमेत उनीबाट प्रभावित भएका थिए ।

सिंहले बेलायत पठाउने भन्दै तुलसी चौधरी र पुनदेव चौधरीबाट २४ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ । त्यसैगरी मीनबहादुर कार्की र सुनील कार्कीसहित २० जनाबाट बेलायतकै आस देखाएर १ करोड ५१ लाख रुपैयाँ लिएको देखिएको छ । ५ महिनाअघि जर्जिया पठाउने भन्दै मानबहादुर राईमार्फत सिंहले अन्य दुईबाट पनि ५ लाख ५० हजार रुपैयाँ दरले ११ लाख रुपैयाँ लिएको देखिएको छ ।

त्यसबाहेक उनले नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै ३२ व्यक्तिसँग प्रतिव्यक्ति ५० हजारदेखि ८० हजार रुपैयाँसम्म लिएको पाइएको छ । पैसा लिएका व्यक्तिलाई नेपाल प्रहरीको वैकल्पिकमा छनोट भएको भन्दै प्रहरी जवान -प्रज) को परिचयपत्रसमेत बनाइदिएका छन् । त्यसैगरी उनले नेपाली सेनामा जागिर लगाइदिने भन्दै १२ जनाबाट प्रतिव्यक्ति ५० हजारदेखि ३ लाख रुपैयाँसम्म ठगी गरेको प्रहरीले जनाएको छ । 

यसैगरी गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागमा असई तहको जागिर लगाइदिने भन्दै लक्ष्मण चौधरीसहितका ६ जनाबाट ६/६ लाखका दरले ३६ लाख र इन्स्पेक्टर तहको पदमा जागिर लगाइदिने भन्दै सञ्जीवकुमार यादवसहित २ जनाबाट २० लाख रुपैयाँ असुलेको प्रहरीले जनाएको छ । प्रहरीले सिंहका साथबाट नक्कली नागरिकतासमेत बरामद गरेको छ । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुपकुमार सिंहको नाममा नागरिकता लिएको खुलेको हो ।

 Published on: 30 August 2012 | Kantipur 

Back to list

;