s

पूर्वलाहुरे नक्कली बाबु, छोरा बनेर बेलायत जाने दाउ

विराटनगर : नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगायतका मुलुकमा पुर्या‍एको घटना नेपालका लागि नौलो होइन्। तर, मोरङमा बाबु, नागरिकता र सरकारी कागजपत्र नै नक्कली बनाएर बेलायत पठाउनेहरू नै सक्रिय रहेको एक घटनाले खुलासा गरेको छ।

पोखराबाट मोरङ गएर तीन युवाले नक्कली बाबु खडा गर्दै नागरिकता लिएपछि यो घटना बाहिर आएको हो। नक्कली बाबु बन्ने र आफ्नै छोरा हो भन्दै नागरिकता दिलाएर बेलायत पठाउनमा पूर्वलाहुरे (अवकाश प्राप्त बेलायती सैनिक) कै संलग्नता रहेको खुलेको छ। पूर्वलाहुरेले पत्नीसहित सन्तानलाई पनि उतै लैजान पाउँछन्। गइसकेपछि उतैको बासिन्दा बनेर बस्न मिल्ने भएकाले नक्कली सम्बन्ध तयार पारेर लाखौं रकमको चलखेल गर्दै मानव तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। यो घटनामा संलग्न केही पक्राउ परेका छन्, केही फरार छन्।

के भएको थियो घटना ?

जिल्ला प्रशासन कार्यालय मोरङबाट २०७८ माघ ४ गते एकै परिवारका दाजुभाइको नाममा तीनवटा नागरिकता जारी भयो। कास्कीको पोखरा उपमहानगरपालिका–१६ का २९ वर्षीय गणेश गुरुङ, पोखरा–१० का २१ वर्षीय रविन गुरुङ र पोखरा–१२ का १९ वर्षीय प्रशान्त मगरले दाइभाइ बनेर एकैदिन किर्ते नागरिकता लिए। गणेशको नाम सविन लिम्बू, रविनको साजन लिम्बू र प्रशान्तको नाम सुरज लिम्बू भनेर नागरिकता जारी भयो। परिवारभित्र गणेश (सविन) जेठो, रविन (साजन) माइलो र प्रशान्त (सुरज) कान्छो भाइ बनेर क्रमस ०५–०१–७८–१०७८२, ०५–०१–७८–१०७८३ र ०५–०१–०७८–१०७८४ नम्बरको नागरिकता लिए।

उनीहरूलाई छोरा भनेर अवकाश प्राप्त (पूर्व) बेलायती सैनिक मोरङको लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूले नागरिकतामा सनाखत गरे। बेलायत जाने चक्करमा रहेका तीनै जनाले पूर्वलाहुरे सूर्यहाङलाई बाबु स्वीकार गरेर नागरिकता लिए। यो गर्नमा सबै कागजात र साइनु सम्बन्ध मिलाउँदै नागरिकता तयार भयो।

पूर्वब्रिटिस गोर्खा सैनिकको सुविधा बढाउँदै बेलायत सरकारले सन् २००८ देखि आवासीय भिसा दिने निर्णय गरेपछि पूर्वगोर्खा सैनिक र आश्रित परिवार स्थायी रूपमै बसोबासका लागि बेलायत जान थालेका छन्। पूर्वलाहुरेले पत्नीसहित सन्तानलाई पनि उतै लैजान पाउँछन्। यसको फाइदा उठाउन यसो गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

बेलायत जाने सपना पाल्दै पोखराका युवाले मोरङबाट नागरिकता बनाएको देखिएको प्रहरी अधिकारी बताउँछन्। ती अधिकारीका अनुसार लाहुरेको सन्तान बनेर बेलायत जान ठूलो धनराशि खर्च गर्दै नक्कली बाबु खडा गरेर किर्ते नागरिकता बनाउन युवाहरू तयार भए। बेलायत पु¥याउने आश्वासन दिँदै पैसा असुलेर पूर्वलाहुरेले नक्कली बाबु बनी उनीहरूलाई नागरिकता दिलाइ दिएको प्रहरीको भनाइ छ।

छोरा बनाउन कसरी तयार भए पूर्वलाहुरे ?

ताप्लेजुङको साँघुबाट बसाइँ सरेर परिवारसहित लेटाङ झरेका पूर्वलाहुरे सूर्यहाङका छोरा छैनन्। छोरी मात्रै रहेका उनी अवकाशपछि नेपालमै थिए। उनकै छोरा बनी बेलायत जाने सपना बोकेर पोखराका युवाले किर्ते नागरिकता लिएका हुन्। ताप्लेजुङबाट २०३६ साल असोज २ गते १०३८/४० नम्बरको नागरिकता जारी भएपछि सूर्यहाङ ब्रिटिस लाहुरेमा भर्ती भए। पूर्वब्रिटिस गोर्खा सेना (आर्मी नम्बर २९१६३२८४) उनी लेटाङमै बस्थे।

सुनसरीको धरान उपमहानगरपालिका–११ का ६१ वर्षीय सूर्यबहादुर पयाङ्गु लिम्बू पनि बेलायतका अवकाश प्राप्त हुन्। तेह्रथुमको हात्तीसारदेखि धरान बसाइँ सरेका उनको नाममा तेह्रथुमबाट २०३६ साल असोज ३१ गते १०१४/७२२ नम्बरको नागरिकता जारी भएको देखिन्छ। सूर्यबहादुर पनि २०३६ सालमै ब्रिटिस गोर्खा सैनिकमा लागे।

सूर्यहाङभन्दा ३ महिनापछि सूर्यबहादुर (आर्मी नम्बर २११६३७९२) भर्ती भएका हुन्। बेलायती सेनामा रहँदा कोठामा सँगै बसेका दुवै जनाको पल्टन, कम्पनी र प्लाटुन एउटै थियो। धरानबाट पेन्सन थाप्दै आएका उनीहरूबीच बेलाबखत भेटघाट र फोन सम्पर्क भइरहन्थ्यो।

पेन्सन थाप्ने बेला प्रायः भेट हुन्थे। सूर्यहाङकोे आर्मी नम्बरको अन्तिममा ८४ भएका कारण सूर्यबहादुर उनलाई चौरासी गुरुजी भनेर सम्बोधन गर्थे। सेवानिवृत्त भएपछि फुर्सदिला बनेका सूर्यहाङ २०७८ साल मंसिरको पहिलो साता सूर्यबहादुरसँग फोन सम्पर्क भएसँगै गैरकानुनी काममा संलग्न हुनपुगे। उनले हुँदै नभएका छोरा खडा गर्दै नक्कली बाबु बनेर पोखराका ३ जना युवालाई मोरङबाट नागरिकता दिलाए। त्यसवापत ५ लाख लिए। सर्तअनुसार ३० लाख अझै पाउनै बाँकी थियो।

कसरी पुग्यो प्रहरीसम्म घटना ?

एकै परिवारका दाजुभाइ बन्दै झुटो विवरण पेस गरेका ३ जनाले मोरङको बेलबारी नगरपालिका–११ ठेगाना राखेर नागरिकता लिएको रेकर्ड प्रशासनसँग छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहाल नागरिकताका लागि आवश्यक सम्पूर्ण कागजात पोखरा–१० का अन्दाजी ८० वर्षीय टेकबहादुर गुरुङ र पोखरा–१६ का अन्दाजी २५ वर्षीय विवेक गौचन थकालीले तयार पारेको अनुसन्धानबाट खुलेको बताउँछन्। ‘सुरुमा टेकबहादुरमार्फत सूर्यबहादुरले सूर्यहाङसँग सम्पर्क गरेको देखिन्छ,’ उनले भने, ‘सूर्यबहादुरले पोखरेली युवाको नागरिकता बनाउन टेकबहादुर र सूर्यहाङको बीचमा पुलको काम गरेका रहेछन्।’

सूर्यबहादुरमार्फत सबैको भेट सूर्यहाङसँग भएको अनुसन्धानबाट खुलेको छ। नक्कली छोरा बनाएर बेलायत पठाउने आश्वासनसहित सरकारी छाप दस्तखत किर्ते गरी कागजातहरू तयार पारेर नेपाली नागरिकताको प्रमाणपत्र दिलाई रकम असुली गरेको पाइएको डीएसपी दाहालको भनाइ छ।

रकम खर्चिएर नागरिकता बनाएका युवाहरू लामो समयसम्म बेलायत जान नपाएपछि मोरङ प्रशासनमा मौखिक उजुरी प¥यो। प्रशासनकै जाहेरीका आधारमा अनुसन्धान अघि बढ्यो। मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले विशेष टोली खटाएर यसको अनुसन्धान अघि बढाए। पोखरेलको नेतृत्वमा भएको अनुसन्धानबाट नागरिकता प्राप्त गर्ने ३ जना सूर्यहाङका नक्कली छोरा भएको खुल्यो। इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक (इन्सपेक्टर) विकास थपलिया नेतृत्वको टोलीले असार ५ गते सूर्यहाङलाई पक्राउ ग¥यो। सूर्यबहादुर पनि धरानबाट पक्राउ परे।

प्रहरीले अनुसन्धान सकेर सरकारी वकिल कार्यालय मोरङमा मिसिल (अनुसन्धान प्रतिवेदन) बुझाएपछि नागरिकता लिने, दिलाउने तथा दिलाउन भूमिका खेल्नेसहित ७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत मोरङमा मुद्दा दायर गरिएको छ। वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै झुटो नागरिकता बनाएको कसूरमा अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको हो।

अभियुक्तमध्ये पक्राउ परेका सूर्यहाङ र सूर्यबहादुरलाई न्यायाधीश प्रकाश कोइरालाको इजलासले गत सोमबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। आदेशपछि दुवै जनालाई मोरङ कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए। नागरिकता लिने गणेश, रविन र प्रशान्त तथा झुटा विवरण तयार पारेर उनीहरूलाई नागरिकता दिलाउन भूमिका खेल्ने टेकबहादुर र विवेक फरार छन्। फरार रहेकालाई पक्राउ गर्न अदालतबाट ३५ दिने पुर्जी जारी भइसकेको बुढाथोकीले बताए।

सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४ बमोजिमसमेत कारबाही अघि बढाउनुपर्ने राय प्रहरीले दिएको छ। साथै, यस मुद्दामा अन्य व्यक्तिको समेत संलग्नता देखिएमा कानुनबमोजिम हुने प्रहरीको भनाइ छ।

नक्कली कागजात बनाएर नागरिकता

सूर्यहाङको २०६५ असार २५ गते बेलबारी–११ मा बसाइँसराइ भएको तथा नागरिकता प्राप्त गर्ने तीनै जनाको असार २६ गते ९५, ९६ र ९७ नम्बरमा जन्मदर्ता गरिएको कागजात तयार पारिएको थियो। नागरिकता प्राप्तिपछि २०७८ फागुन ३० गते बेलबारी–११ बाटै नाता प्रमाणित गरेको किर्ते कागजात पनि तयार पारिएको थियो। वडा कार्यालयले सूर्यहाङका नामबाट २०७८ पुस २९ गतेसम्म बेलबारी–११ मा कुनै राजस्व दाखिला नभएको र बसाइँसराइको अभिलेखमा कुनै विवरण दर्ता नभएको पत्र प्रहरीलाई पठायो।

प्रहरीका अनुसार बसाइँसराइ, नाता प्रमाणित तथा जन्मदर्ता प्रमाणपत्रमा स्थानीय पञ्जिकाधिकारीका रूपमा वडा सचिव बाबुराम ढुंगानाको हस्तक्षर, स्टाम्प छाप र कार्यालयको छाप प्रयोग गरेको देखान्थ्यो। तर, हस्ताक्षर, स्टाम्प छाप आफ्नो नभएको तथा कार्यालयको छाप नक्कली रहेको बयान उनले दिएका छन्।

बेलबारीमा सूर्यहाङको जग्गा जमिन र बसोबास नदेखिएको तथा सबै कागजात किर्ते रहेको वडाध्यक्ष विक्रम राईले बताए। नागरिकता दिलाउने तथा प्राप्त गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्ने पत्र उनले प्रहरीलाई पठाएका छन्। तत्कालीन वडाध्यक्ष यमबहादुर पोखरेलले नागरिकताका लागि अनुसूची फारमलगायतका कागजात आफूले सिफारिस नगरेको बयान दिएका छन्। पोखरेलले बेलबारी–११ बाट सिफारिस गरेको भनिएको नेपाली नागरिकताको प्रमाणपत्र पाउँ भन्ने विषयको अनुसूची फारममा भएको वडाध्यक्षको हस्ताक्षर तथा वडाको छापसमेत नक्कली रहेको उल्लेख गरेका छन्।

अनुसन्धानबाट सरकारी कार्यालयको छाप, लेटर प्याड तथा जनप्रतिनिधि र कर्मचारीको छाप एवं दस्तखतसमेत किर्ते गरेर नक्कली कागजात तयार पार्दै पेस गरेर नागरिकता लिएको पत्ता लागेको छ। ‘सक्कली हुन्भन्ने भान पर्ने गरिको कागजात तयार पारेर झुटो विवरण पेस गर्दै नागरिकता लिएकाले कसूर स्थापित भयो,’ सरकारी वकिलको अभियोगपत्रमा भनिएको छ, ‘सरकारी छाप, दस्तखत किर्ते गरेर बनाइएको नागरिकता रद्ध गरिपाउँ।’ प्रतिवादीले नागरिकता लिँदाका बखत भरेको अनुसूची फारम परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। परीक्षण प्रतिवेदन प्राप्त भइसकेको छैन।

प्रशासनको भूमिका शंकास्पद

नागरिकताको प्रमाणपत्र वितरणजस्तो संवेदनशील विषयमा मोरङ प्रशासनको भूमिका शंकास्पद देखिएको छ। जन्मस्थान ताप्लेजुङ राखी परिवारभित्रकै दाजुभाइ बनेर पुगेकालाई एकै दिन नागरिकता उपलब्ध गराएको रेकर्ड छ। नागरिकतामा प्रशासनका तत्कालीन प्रशासकीय अधिकृत चेतनाथ पोखरेलको हस्ताक्षर छ। मोरङबाट सरुवा भइसकेका पोखरेल हाल लोकसेवा आयोगको कार्यालय पोखरामा कार्यरत रहेको प्रशासनले जनाएको छ।

गणेश (सविन)ले २०५२ फागुन २४ गते, रविन (साजन) ले २०५५ साउन ९ र प्रशान्त (सुरज)ले २०६० पुस २० गतेको जन्ममिति राखेर नागरिकता लिएका थिए। वडामा उनीहरूको जन्मदर्ता नै एकै दिन भएको कागज बनाइएको थियो। जन्ममिति अनुसार गणेशले २६, रविनले २३ र प्रशान्तले १८ वर्षको उमेरमा नागरिकता लिएको देखिन्छ। ‘प्रशासनबाट २६ र २३ वर्षको उमेरसम्म नागरिकता किन बनाइएन भन्ने कुराको खोजी नै गरेको पाइएन,’ एक कर्मचारी भन्छन्, ‘कागजात पूर्ण भएकाले पनि त्यसतर्फ ध्यान नदिएको हुनसक्छ।’

तर, जन्ममिति अस्वाभाविक देखिँदासमेत ध्यान नदिएकाले कर्मचारीको भूमिका शंकास्पद देखिने उनको भनाइ छ। ‘नागरिकता लिनेको उमेर धेरै थियो। त्यहाँमाथि १ जनाले बाबु बनेर एकै दिन ३ छोराको नागरिकतामा सनाखत गरिदिएका छन्,’ उनले भने, ‘राम्ररी छानबिन नगरेको पाइयो। फाँटकै ‘सेटिङ’ पनि हुनसक्छ।’

उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेल यस घटनाले प्रशासनको भूमिकामा प्रश्न उठेको बताउँछन्। ‘२६ वर्षको उमेरमा नागरिकता लिनलाई मान्छे आउँदा प्रशासन चनाखो भएको देखिएन। जन्ममिति हेरेर पनि चासो राख्नुपर्ने थियो,’ ढुंगेल भन्छन्, ‘मिलिभगत नै हुनसक्छ। प्रशासनको गम्भीर लापरबाही र हेलचेक्र्याइँ हो।’

उनी नागरिकता लिनेले नै प्रश्न उठाउन नसक्ने गरी प्रक्रिया पूरा गर्दै सबै कागजात पेस गरेकाले पनि प्रशासनले शंका गर्ने ठाउँ नपाएको हुनसक्ने बताउँछन्। भन्छन्, ‘भूमिका शंकास्पद देखिएकाले नागरिकता वितरण गर्ने कर्मचारीमाथि पनि छानबिन एवं अनुसन्धान हुनुपर्छ।’

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले नागरिकता प्रकरण अदालत गइसकेकाले आफूले केही नबोल्ने बताए। ‘मुद्दामा दोषी देखिएकाहरूलाई कानुन अनुसार कारबाही हुन्छ,’ उनले भने, ‘यसको अनुसन्धान गर्न प्रशासनले नै प्रहरीलाई लेखेर पठाएको हो।’

यस्तो छ पक्राउ परेकाको बयान

सूर्यहाङले हुँदै नभएका छोरालाई नागरिकता बनाइदिएको सहजै स्वीकार गरेका छन्। ‘सूर्यबहादुरले फोनमा छोरा बनाउँदै नागरिकता दिलाएर ३० वर्षमुनिका २-३ जनालाई यूके (बेलायत) लैजान सक्यो भने राम्रो हुनेभन्दै ‘सेटिङ’ मिलाउने मान्छे सम्पर्कमा भएकाले भेटाइदिन्छु भने। मेरा छोरा नभएकाले मैले पनि हुन्छ भनिदिएँ,’ अनुसन्धानका क्रममा लिइएको बयानमा सूर्यहाङले भनेका छन्, ‘सल्लाहबमोजिम २ सातापछि धरान गएर दुवै जनाले यूकेको ‘सेटिङ’ मिलाउने मान्छे (टेकबहादुर गुरुङ)लाई भेट्यौं। उनी धरान आएर चतरा लाइनको पूर्वीस्टार होटलमा बसेका रहेछन्।’ टेकबहादुरले ३ जना केटालाई नक्कली छोरा बनाएर यूके लैजानसक्ने कुरा सुनाउँदै मञ्जुरी भएमा आफूले त्यसको ‘सेटिङ’ मिलाउने भनेर ३५ लाख रुपैयाँको ‘अफर’ गरेको सूर्यहाङ बताउँछन्।

‘मेरा छोरा हुन् भनेर ३ जनालाई नागरिकता दिलाउन म तयार भएँ। सनाखत गरेर नक्कली नागरिकता बनाइदिउँ,’ उनले भनेका छन्, ‘आवश्यक कागजपत्र म (टेकबहादुर) र मेरो साथी विवेकले मिलाउँछौं भनेका थिए। त्यसपछि मेरो नागरिकताको फोटोकपी दिएर हामी छुट्यौं।’ त्यसपछि टेकबहादुरसँग भेटघाट तथा फोन सम्पर्क भइरहेको उनले स्वीकारेका छन्। धरानकै पूर्वीस्टार होटलमा २०७८ माघ ३ गते भेट भएपछि टेकबहादुरले भोलि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकताको सनाखतका लागि जानुपर्छ भनेको सूर्यहाङको बयानमा उल्लेख छ।

टेकबहादुर बिनानै माघ ४ गते आफू, सूर्यबहादुर र विवेकसहित मोरङ प्रशासनमा आएर ३ जनालाई नागरिकता बनाइदिएको उनको भनाइ छ। उनले भनेका छन्, ‘विवेकले अरु केही गर्नु पर्दैन भनेर मलाई साइन (हस्तक्षर) मात्रै गर्न लगाए। नक्कली छोराहरूसँग त्यसअघि मेरो भेट भएको थिएन।’

नक्कली बाबु बनेर नागरिकतामा सनाखत र सहीछाप (ल्याप्चे) गरिदिएपछि सूर्यबहादुरमार्फत आफूले ५ लाख रूपैयाँ नगद नै पाएको सूर्यहाङको बयानमा उल्लेख छ। टेकबहादुरले चेक दिएको बैंकबाट रकम निकालेर सूर्यबहादुरले उनको हातमा नगद थमाएका हुन्। ‘अरु बाँकी (३० लाख) रकमका लागि टेकबहादुरलाई मैले ताकेता गरिरहेँ। उनले केटाहरूलाई यूके पठाउने प्रोसेस (प्रक्रिया) चलिरहेकाले काम भइसकेपछि दिन्छु भनेर ढुक्क पारेका थिए,’ सूर्यहाङले बयानमा भनेका छन्, ‘तर, मलाई प्रहरीले पक्राउ ग¥यो। सूर्यबहादुरमार्फत सम्पर्क भएर मैले नागरिकता बनाइदिएको कुरा प्रहरीलाई सुनाएँ।’

नक्कली बाबु बनी ३ जनालाई दिलाएको नेपाली नागरिकता किर्ते रहेको उनको भनाइ छ। सूर्यहाङले नागरिकता बनाउन आवश्यक पर्ने कागजात टेकबहादुर र विवेकले तयार पारेको बताएका छन्। सूर्यबहादुरले पनि नागरिकता बनाउन सहयोगीको भूमिका खेलेको स्वीकारेका छन्। पोखराका टेकबहादुरले २०७८ कात्तिक अन्तिमतिर प्रस्ताव ल्याएको र आफूले सूर्यहाङसँग समन्वय गराइदिएको बयान उनले दिएका छन्। ‘तपाईंहरू बेलायतमा अरूको ३० वर्षमुनिका नानी बच्चालाई आफ्नो बनाएर लैजान सक्नुहुन्छ, त्यसको ‘सेटिङ’ मिलाउने काम म गर्छु, छोराछोरी बनेर जाने मान्छेको तर्फबाट तपाईंजस्ता ‘ब्रिटिसको रिटायर्ड’लाई राम्रै पैसा हुन्छ भनेर टेकबहादुरले आश्वस्त पारे,’ सूर्यबहादुरले बयानमा भनेका छन्, ‘मेरा त छोराछोरी छन्, मेरा साथी चौरासी (सूर्यहाङ)का छोरा नभएकाले म उनलाई सोधेर मात्रै भन्नसक्छु भनिदिएँ, त्यसपछि टेकबहादुरले मलाई फोनमार्फत ताकेका गरिरहे।’

आफूले टेकबहादुरले भनेका सबै कुरा सुनाएपछि सूर्यहाङ नक्कली नागरिकता दिलाउन तयार भएको उनको भनाइ छ। उनले त्यसको २ सातापछि धरानमा आएर बसेका टेकबहादुरलाई भेट्न सूर्यहाङलाई लिएर आफू गएको स्वीकार गरेका छन्। ‘टेकबहादुरसँग ३५ लाखमा कुरा मिलिसकेपछि सूर्यहाङ नक्कली बाबु बन्न तयार भए। त्यहाँबाट छुटेपछि टेकबहादुरसँग मेरो सम्पर्क भएन,’ सूर्यबहादुर भन्छन्, ‘एक्कासि माघ ३ गते धरानमा भेट भयो। नागरिकता बनिसकेपछि सूर्यहाङलाई पैसा झिकेर दिनुभन्दै टेकबहादुरले मलाई सिद्धार्थ बैंकको ५ लाखको चेक थमाए।’

माघ ४ गते टेकबहादुरबाहेक सबै जना मोरङ आएर नागरिकता बनाइदिएको र भोलिपल्ट चेकबाट पैसा निकालेर सूर्यहाङलाई दिएको सूर्यबहादुरको बयानमा उल्लेख छ। नागरिकता बनाउन करिब डेढ घण्टा लागेको र त्यसअवधिमा आफू प्रशासन बाहिरै बसेको उनले बताएका छन्। नियमित सम्पर्कमा रहने क्रममा नागरिकता लिएका ३ जनालाई ‘प्रोसेस’ सकिएर यूके पठाएपछि सूर्यहाङलाई बाँकी पैसा उपलब्ध गराउने भनेर टेकबहादुरले आश्वस्त पार्ने गरेको उनले बयानमा खुलाएका छन्। ‘नागरिकता बनाउने विषयमा उल्लेखित व्यक्तिबाहेक अरुको संलग्नता थाहा भएन,’ सूर्यबहादुरले भनेका छन्, ‘मैले नागरिकता बनाउने र दिलाउने बीचमा सहजीकरण मात्रै गरिदिएको हुँ।’

Published on: 21 July 2023 | Annapurna Post

Link

Back to list

;