s

पूर्वका म्यानपावरमा विभागको अनुगमन

वैदेशिक रोजगार विभागले पूर्वी नेपालको झापाबाट म्यानपावरका शाखा कार्यालय, म्यानपावर कम्पनीको सम्पर्क कार्यालय र एजेन्टको अनुगमन शुरु गरेको छ । विभागका शाखा अधिकृत द्वय टंक चौलागाई र अनुज गौतम नेतृत्वको टोलीले मंगलबार झापाको विर्तामोडमा अनुगमन गरेको छ । विभागले कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क र समन्वय राखी अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । विभागले अनुगमन गर्ने तर जिल्ला प्रशासन कार्यालयहरुलाई जानकारी नहुने भएपछि दोहोरो पन आउन सक्ने अवस्थालाई ध्यान दिएर अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयहरुसँग समन्वय गरी काम गर्न निर्देशन दिएको छ ।
 
कर्मचारीहरुले म्यानपावरका शाखा तथा सम्पर्क कार्यालय, निःशुल्क भीषा र टिकटको व्यवस्था  अनुसार उनीहरुले कामदारसँग गरेको रकमको कारोवार, एजेन्टले गरेको कारोवार र उनीहरु दर्ता रहे–नरहेकोआदि पक्षबारे अनुगमन गरी रहेको बताइएको छ । झापा बाट शुरु भएको अनुगमन करीव एक हप्तासम्म जारी रहने बताइएको छ ।  पहिलो दिनको अनुभव सुनाउँदै अनुगमनमा खटिएका एक कर्मचारीले आफूहरु नपुग्दै केही म्यानपावर व्यवसायीका सम्पर्क कार्यालयहरु कार्यालय बन्द गरेर सम्पर्क विहिन भएको बताए । त्यस्तो हुनुमा पहिलेदेखि अनुगमन गर्दै आएका जिल्लाका कर्मचारीहरुले सूचना चुहाएको हुनसक्ने अनुमान गरिएको छ । लामो समयको अन्तराल पछि विभागले राजधानी वाहिर अनुगमन शुरु गरेको हो ।
 
Published on: 14 March 2018 | Madhyanha

Back to list

;