s

पूर्वाधारमन्त्री ज्वाला र श्रममन्त्री भण्डारीमाथि छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ — कोरिया भाषा परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीमाथि छानबिन गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

घटना भएका बेला प्रदर्शनस्थलमा पुगेका भौतिकमन्त्री ज्वाला र ईपीएससँग प्रत्यक्ष सरोकार राख्ने श्रममन्त्री भण्डारीमाथि छानबिन गर्न संसद्को राज्य व्यवस्था समितिले सरकारलाई निर्देशन दिएको हो । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले शुक्रबार बालकुमारीमा युवाहरूले प्रदर्शन गरिरहेको स्थानमा मन्त्री ज्वालाको सवारी हुँदा परिस्थिति हिंसात्मक भएको भनेपछि समितिले उक्त निर्देशन दिएको हो ।

त्यस्तै, श्रममन्त्री भण्डारीले लामो समयदेखिको ईपीएसको समस्या समाधान गर्नमा कुनै चासो नराखेर गैरजिम्मेवारी देखाएको भन्दै उनीमाथि पनि छानबिन गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । समितिका सभापति रामहरि खतिवडाले भने, ‘उक्त घटनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयको भूमिकाबारे पनि छानबिन गर्न निर्देशन दिएका छौं ।’

उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग घटनाबारे छलफल गरेपछि समितिले प्रदर्शनमा प्रहरीको बल प्रयोगबाट मृत्यु भएका वीरेन्द्र शाह र सुजन रावतका परिवारलाई थप राहत दिन र रोजगारीको व्यवस्था सरकारलाई निर्देशन गरेको छ । घटनासँग सम्बन्धित साना दर्जाका प्रहरी तथा कर्मचारीलाई मात्र निलम्बन र सरुवा गरी समस्याको समाधान नगर्न र काम गर्नेको मनोबल नगिर्ने गरी न्यायोचित समाधान गर्न समितिले भनेको छ ।

बैठकको सुरुमै प्रहरी महानिरीक्षक कुँवरले प्रदर्शनस्थलमा मन्त्री ज्वालाको उपस्थितिले गोली चलाउनुपर्ने अवस्था आएको बताएका थिए । बालकुमारीको ‘ओभरब्रिज’ बाट कोटेश्वर र सातदोबाटो जाने सवारीसाधनमा रोक लगाएको क्रममा मन्त्री ज्वालाको गाडी पुगेको उनले जानकारी दिए । ‘मन्त्रीका पीएसओले समस्याका बारेमा रुट क्लियर छ कि छैन भन्ने समन्वय भएन । भीडमा आएर गाडी रोकियो । मन्त्रीज्यू झर्नुभयो भन्ने भयो । भिडियोमा सामान्य विवाद भएको देखिन्छ,’ उनले भने, ‘बिहान प्रहरीले लगातार माइकिङ गर्दै, लाठीचार्ज गर्दै नियन्त्रण गरेको अवस्था छ । भीड तितरबितर भएको अवस्था छ । मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो । त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन ।’ उपत्यकामा नै मन्त्रीको सुरक्षामा कमजोरी नहोस् भनेर प्रहरीले बल प्रयोग गर्दा दुई जना युवाको ज्यान जाने घटना भएको उनको भनाइ थियो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त घटनामा पहिला अदालतको आदेश के थियो, ईपीएस कार्यालयको कदम के थियो भन्ने पनि हेर्नुपर्ने बताए । प्रदर्शन भइरहेको ठाउँमा मन्त्रीको सवारी हुँदा समस्या आएको हो कि भन्ने उनको भनाइ थियो । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले देशमा बेरोजगार युवा हुनु, ईपीएस परीक्षा विवाद र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको तनावग्रस्त क्षेत्रमा उपस्थितिले उक्त घटना भएको बताए । भाषा परीक्षालाई लिएर उच्च अदालत पाटनले दिएको आदेशलाई ईपीएस शाखाबाट परम्परागत व्याख्या गरिनु पनि घटनाको कारक रहेको उनको भनाइ थियो । ‘प्रदर्शन हुने भएपछि शुक्रबार बिहान गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुखले ईपीएस शाखा प्रमुखलाई बोलाएर कसरी हल गर्ने भनेर सोध्नुभएको छ । त्यहाँको प्रमुखले केही हुँदैन, ३ बजेसम्म बस्छन्, जान्छन् भनेर हलुका रूपमा बताउनुभएको थियो,’ उनले भने ।

मन्त्री ज्वाला पार्टी कार्यक्रमबाट उक्त ठाउँ भएर सिंहदरबार आउने क्रममा विवाद भएको श्रेष्ठले जानकारी दिए । आन्दोलनकारीलाई अराजक हुन नदिन प्रहरीले काम गरिरहेको अवस्थामा मन्त्री ज्वाला गाडीबाहिर आएर सवाल–जवाफ गर्दा समस्या भएको प्रारम्भिक रूपमा देखिएको उनको भनाइ थियो । सांसद दिलेन्द्रप्रसाद बडूले प्रदर्शनकारीमाथि त्यस्तो बल प्रयोग कसरी हुन गयो भन्ने प्रमुख प्रश्न भएको बताएका थिए । एमाले सांसद राजेन्द्र राईले भने गृहमन्त्रीको राजीनामा मागेका थिए । विदेश जान्छु भन्दा गोली हान्नु सही नभएको भन्दै उनले मुलुक चलाउन नसक्ने भए पदबाट राजीनामा गर्नुपर्ने माग राखे ।

कांग्रेस सांसद सरिता प्रसाईंले मुलुकको खुफिया एजेन्सीलाई उक्त प्रदर्शनबारे थाहा थियो कि थिएन भन्ने प्रश्न गरिन् । मन्त्रीले त्यो बाटो किन प्रयोग गरेको हो भन्ने उनको प्रश्न थियो । कांग्रेसकै सांसद अजय चौरसियाले प्रश्न गरे, ‘अदालतले पनि बुद्धि पुर्‍याएको भए यो अवस्था सिर्जना हुने थिएन । यस्तो अवस्थामा सरकारको दृष्टि किन पुगेन ? श्रम मन्त्रालयले यसमा किन ध्यान पुर्‍याएन ?’ उनले त्यो प्रदर्शनमा ‘अरू तत्त्वको घुसपैठ थियो कि थिएन’ भनेर छानबिन गर्नुपर्ने माग गरे । देशभित्र अन्योल सिर्जना गर्ने र लोकतन्त्रलाई धरापमा पार्ने तत्त्वलाई नियन्त्रण गर्ने काममा लाग्नुपर्ने उनको भनाइ थियो ।

सांसद चित्रबहादुर केसीले थपे, ‘यो सरकार बन्दादेखि आन्दोलन भइरहेको थियो । धमिलिएको पानीमा माछा मार्ने काम अस्तिको घटनामा भएको हुन सक्छ ।’ एमाले सांसद रघुजी पन्तले नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने सुझाए । घटनामा गृह प्रशासन चुकेको भन्दै उनले थपे, ‘जनताको आक्रोशबाट बच्नका लागि तलका कर्मचारीलाई बलिको बोका बनाउन पाइँदैन ।’ उक्त घटना हुनुको जिम्मेवार श्रममन्त्री भण्डारी पनि रहेको उनको भनाइ थियो । सांसद कृष्णगोपाल श्रेष्ठले पनि नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे ।

रास्वपा सांसद रवि लामिछानेले ‘गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर परिवार पाल्छु भन्ने युवाको हत्या गरेको’ बताए । सीडीओको आदेशबिना गोली चलाउनेलाई हिरासतमा लिनुपर्ने र गृहमन्त्री श्रेष्ठले नैतिकताका आधारमा पदबाट राजीनामा गर्नुपर्ने उनले माग गरे । कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगन थापाले मन्त्री ज्वालाको कमजोरीले दुई युवाको ज्यान गएको बताए । उक्त घटनाको प्रतिक्रियाबाट थप अराजकता सिर्जना हुने वातावरण कसैले पनि बनाउन नहुने उनको भनाइ थियो ।

सांसदहरूले उठाएका प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले घटनाको अनुसन्धान गम्भीर रूपमा गरिने र दोषी ठहरिनेलाई कारबाही गरिने बताए । ‘घटना भएकै दिन यो घटना सामान्य होइन छानबिन गर्नुपर्छ भनेर पहिलो सन्देश समिति बनाएर दिएका हौं । यो सम्बन्धित सबै सेरोफेरोमा समितिले छानबिन गर्नेछ । विभिन्न पक्ष दोषी हुन सक्छन् भन्ने छ । जो जो दोषी देखिन्छ, कारबाही गरिनेछ । प्रतिवेदन कार्यान्वयनमा ल्याइनेछ,’ उनले भने । ललितपुर जिल्ला सुरक्षा परिषद्को आदेशबिना गोली चलेको र सीडीओ रुद्रप्रसाद पण्डितले पनि स्पष्ट भाषामा सबैका सामु गोली नचलाउनू भनेर निर्देशन दिएको तर गोली चलेको श्रेष्ठको भनाइ थियो ।

Published on: 2 January 2024 | Kantipur

Link

Back to list

;