s

पूरा जानकारी लिएर कोरिया आउनुपर्छ

ली युओन बख दक्षिण कोरियाको सरकारी निकाय ‘ह्युमन रिसोर्सेस डेभलपमेन्ट सर्भिसेस’ का उपाध्यक्ष हुन्। कोरियामा विदेशी कामदार र विश्वव्यापी रोजगार क्षेत्रका विषय उनको जिम्मामा पर्छन्। ठूलो संख्यामा नेपालीको रोजगार गन्तव्य भएको देशका वरिष्ठ अधिकारी लीसँग विजय कुमारले सियोलमा गरेको अन्तरवार्ता :  
 
तपाईंको कार्यक्षेत्रमा धेरै विषय पर्छन्। नेपालबाट आएको हुनाले हामीलाई ईपीएस कार्यक्रमबारे केही बताइदिनुहुन्छ कि ?
 
कोरियामा विदेशी कामदार ल्याउने ईपीएस कार्यक्रम सन् २००४ मा सुरु गरिएको हो। यो कार्यक्रमबाट हाल १६ देशका नागरिक काम गर्न कोरिया आउँछन्। नेपाल यो कार्यक्रममा २००८ पछि मात्र आबद्ध भएको हो। ईपीएसमा पछि आए पनि आज नेपालबाट आउने कामदारको संख्या तेस्रो स्थानमा पुगेको छ। भियतनाम र कम्बोडियापछि नेपाल छ। हाल करिब ३५ हजार नेपाली कामदार इपीएसमार्फत कोरियामा कार्यरत छन्। नेपाली कामदारलाई कोरियाली रोजगारदाताले बढी रुचाएकाले संख्यामा चाँडै वृद्धि भएको हो। 
 
कोरियाइ दृष्टिबाट हेर्दा नेपाली कामदारका सकारात्मक पक्ष के छन् ?  
 
कोरियाइ रोजगारदाता भन्छन्– नेपालीहरू साह्रै परिश्र्रमी छन्। नेपालीहरूको कोरियाइ भाषा राम्रो छ। र, भिसा अवधि सकिएपछि यहाँबाट बेलैमा नेपाल फर्किन्छन्। ओभर स्टे गर्दैनन्। एक सर्वेक्षणअनुसार, अवैधानिक रूपले सबैभन्दा कम कोरिया बस्नेमा नेपाली पर्छन्। हाम्रो नजरमा, यी कुरा धेरै राम्रा पक्ष हुन्। 
 
मिस्टर ली, कोरियाइ दृष्टिबाट हेर्दा नेपाली कामदारका कमजोर पक्ष के हुन् जस्तो लाग्छ, तपाईंलाईं ?
 
मेरो जानकारीमा आएअनुसार केही पक्षमा नेपाली कामदारले सुधार गरे झन् राम्रो हुन्छ होला। मलाई लाग्छ, नेपालबाट जब कामदार आउँछन्, उनीहरूलाई कोरियाली भाषाको राम्रो ज्ञान त हुन्छ तर कोरियामा उनीहरूले सामना गर्नुपर्ने नयाँ वातावरणका विषयमा पूरै नबताइएको पनि हुनसक्छ। यहाँ निकै मेहनत गर्नुपर्छ। नेपालीले मात्र होइन, सबैले उत्तिकै मेहनत गर्नुपर्छ। हामीले पनि गर्नुपर्छ। नेपाली कामदार कोरिया आउँदा यहाँको भाषाका अलावा शारीरिक परिश्रम र नयाँ वातावरणका निम्ति पनि बढी तयार भएर आए सजिलो हुन्छ होला। नयाँ ठाउँ र नयाँ परिवेशमा सुरुमा न्यास्रो लाग्न सक्छ। विस्तारै सहज हुँदै जान्छ। आत्तिनु हुँदैन।
 
एउटा सर्वेक्षणअनुसार, कोरिया आएका विदेशी कामदारमध्ये सात दशमलव चारले कोरियी वातावरणमा आफूलाई ढाल्न कठिन भएको बताएका थिए। तर, नेपाली कामदारमध्ये यो संख्या २२ दशमलव आठ छ। मलाई लाग्छ, नेपालबाट काम गर्न कोरिया आउँदा यहाँको काम गर्ने वातावरणका विषयमा बढी तयार भएर मात्र यता आए गुनासो कम हुनेछन्। अर्को कुरा, हालसम्म कोरिया आउन चाहने जनशक्ति चयन गर्दा कोरियाइ पक्षले भाषागत ज्ञानको अलावा काम गर्ने सीप र क्षमताको पनि ख्याल गर्नुपर्ने नतिजामा हामी पुगेका छौं। 
 
यदाकदा कोरिया आएका नेपाली कामदारले आत्महत्या गरेको समाचार आउँछन्। तपाईंको कुनै टिप्पणी छ ?
 
कहिलेकाहीं आउने यस्ता समाचारले मलाई निकै दुःखी बनाउँछ। हुन त   कोरियाइहरूमा आत्महत्या गर्ने क्रम पनि कम छैन। मलाई थाहा छ, कसैले आत्महत्या गर्नुको पछाडि कुनै एउटा मात्रै कारण नहुन पनि सक्छ, तैपनि हामीलाई धेरै दुःख लाग्छ। अरू विषयमा त म भन्न सक्दिनँ तर कामको सिलसिलामा आफूलाई मन नपरेको कुनै कुरा छ भने वा आफूले नबुझेको कुनै कुरा छ भने  आफ्नो रोजगारदातालाई सोध्नुपर्छ। मनमा कुरा राखेर बस्नु हुँदैन। साथीभाइसँग सल्लाह गर्नुपर्छ। 
 
मलाई लाग्छ, नेपालीहरू सायद आफ्ना रोजगारदातासँग नबुझेका कुरा अलिकम सोध्छन्। हुन त हामी कोरियी पनि अन्य देशमा काम गर्न जाँदा नबुझेका विषय अलि कम सोध्छौं। मलाई लाग्छ, त्यसो गर्नु हुन्न। 
 
कुनै रोजगारदाता चित्त बुझेको छैन भने ईपीएस कार्यक्रममा आउनेले तीन वर्षमा तीनपटकसम्म सरुवा माग्न पाउँछ। विदेशी कामदारलाई मद्दत गर्ने, गुनासो सुन्ने सेन्टरहरू छन्। मेरै कार्यालयमा पनि आफ्ना कुरा राख्न सकिन्छ। 
 
के कसैले तपाईंको कार्यालयमा आफ्ना गुनासा राखेका छन् ? 
 
छन्।
 
अन्त्यमा केही थप्न चाहनुहुन्छ कि ?
 
आम रूपमा भन्ने हो भने कोरियाइ रोजगारदाताले नेपाली कामदारलाई बढी रुचाउँछन्। त्यसैको परिणामस्वरूप सानो अवधिमा ईपीएसमा नेपाल तेस्रो स्थानमा पुगेको छ। ठूलो संख्यामा कामदार भएका कारण कहिलेकाहीं समस्या देखिन्छ पनि। तर, तिनको समाधान खोज्न नसकिने होइन। नेपालबाट आउनुअघि कामदारलाई गरिने प्रि–ट्रेनिङको गुणस्तरमा सुधार गरिनुपर्छ। कोरियाको काम गर्ने वातावरणका विषयमा उनीहरूलाई खुलस्त जानकारी हुन जरुरी छ। नेपाल र कोरिया मित्र देश हुन्। हाम्रो जनस्तरमा पनि सबन्ध छ। म चाहन्छु, युवा कोरियाइ उद्यमी र कामदारहरू नेपाल जाऊन्, लगानी गरून् र त्यहाँ काम गरून्। यताबाट फर्केर गएका नेपालीले पनि तिनलाई त्यहाँ सघाऊन्। आजभोलि संसार सानो भएको छ।    
 
के तपाईं नेपाल आउनुभएको छ ? 
 
अहिलेसम्म मौका मिलेको छैन तर कुनै दिन आउने ठूलो इच्छा छ।
 
मानवीयभन्दा प्रविधिको सम्बन्ध बढी 
 
कोरियामा बसेका अधिकांश नेपाली ईपीएस कोटाबाट आएका कामदार हुन्छन्। त्यसबाहेक रेस्टुराँ वा अन्य व्यवसाय गरेर करिव २०० परिवार बसेका छन्। नौ सयको हाराहारीमा विद्यार्थीहरु छन्। एक हजारले यतै विवाह गरी घरजम गरेर बसेको अनुमान छ। सिन्धुपाल्चोकको तातोपानीबाट ईपीएस कोटामा आएका लालबहादुर श्रेष्ठले ४ वर्ष १० महिनाको काम–अवधि पूरा गर्न थालिसकेका छन्। उनी अब नेपाल फर्कने सुरसारमा छन्। कसैको कोरिया बसाइ ‘पाँच वर्ष’ पुगेपछि उसलाई ग्रिन कार्ड दिनुपर्ने कानुनी व्यवस्था छ। त्यसैले पाँचबर्से वैधानिक बसाइको सीमालाई छुन नदिइने गरी भिसा दिइएको हुन्छ। लालबहादुर श्रेष्ठ, स्थानीय नेपाली समाजमा पनि सक्रिय रहेछन्। उनीसँग गरिएको कुराकानी :
 
तपाईंको परिचय दिनुस् न ! यता आएपछि तपाईंका अनुभव कस्तो रह्यो ?
 
मेरो नाम लालबहादुर श्रेष्ठ हो। तर, फेसबुकमा म एलबी श्रेष्ठ भनेर बढी परिचित छु। मैले २०६२ तिरै प्लस टु पास गरेको थिएँ। बीचका केही वर्ष उतै खासै केही नगरी बिते। कोरिया आएपछि मेरो आर्थिक अवस्थामा त सुधार भयो नै, तर त्योभन्दा पनि महत्वपूर्ण कुरा मैले यता आएर जीवनमा अनुशासन र मेहनतको महत्व सिकें। त्यसबाहेक म सामाजिक काममा पनि संलग्न छु।
 
यताको जीवनका सकारात्मक र नकारात्मक पक्ष के हुन् ?
 
यता आएर मेरो परिवारको आर्थिक अवस्थामा प्रगति भयो। हुन त नेपालमा बस्ने हाम्रोजस्तो पृष्ठभूमिका केहीले पनि राम्रै प्रगति गरेका छन्। त्यहाँ गर्न नसकिने होइन, तर ग्यारेन्टी छैन। धेरैजसोको प्रगति नहुन पनि सक्छ त्यहाँ। यता आयो भने मेहनत गरे केही न केही प्रगति निश्चित छ। यताको नकारात्मक पक्ष भनेको मान्छेको मानवीय सम्बन्धभन्दा प्रविधिको सम्बन्ध बढी छ। हरथोक मेसिनजस्तो। ओल्लो घर, पल्लो घर, छरछिमेक बोलचाल भन्ने केही छैन। त्यो अलि नरमाइलो लाग्छ। 
 
कोरियामा काम गर्न आउने नेपाली कतिको सन्तुष्ट छन् ? 
 
विदेशमा काम गर्न आएपछि पूरै सन्तुष्टि भन्ने कुरा गाह्रै हुन्छ। तर, औसतमा हामी सन्तुष्ट छौं। केही साथीचाहिँ गुनासा पनि गर्छन्। कोरिया परिश्रम गर्न नसक्नेका लागि होइन। कोरियनहरू आफू पनि रातोदिन खटिएर काम गर्छन्, अरूलाई पनि गराउँछन्। कोरियामा १८ वर्ष पुगेपछि दुई वर्षका लागि सैनिक सेवा अनिवार्य छ। यो दुई वर्षको अवधिले कोरियनलाई निकै टफ बनाइदिन्छ।  काममा धेरै खटिन सक्ने बानी भइसक्छ। हाम्रो पृष्ठभूमि त्यस्तो नहुन पनि सक्छ। त्यसले गर्दा सुरुमा अप्ठ्यारो हुन्छ। 
 
कोरियामा तपाईंको दुःखद र सुखद सम्झना ? 
 
म कोरिया आएको तीन महिना जतिपछि एकजना कोरियनसँग झगडा पर्‍यो। त्यो दुःखद सम्झना हो। सुखद सम्झना भनेको चाहिँ म सामाजिक काममा पनि अलि सक्रिय छु। यता दुःख पाएका नेपालीलाई सक्दो सहयोग गर्छु। भूकम्पपछि धुर्मुस–सुन्तली फाउन्डेसनलाई हामीले मिलेर १५ लाखजतिको रकम सहयोग गर्न पाउँदा खुसी लागेको थियो।
 
यता काम गर्न आउन चाहने नेपालीलाई तपाईंको केही सल्लाह छ ? 
 
यता आउनु एक अवसर हो। कमाएको पैसा नमास्नुस्। संगत ठीक राख्नुस्। आजै धेरै मोजमज्जा गरेर भोलि नपछताउनुस्। जोगाएको रकमले नेपालमा केही काम गर्नुस् भन्ने सल्लाह दिन्छु। सबैभन्दा मुख्य कुरा यता आउने हो भने नेपालबाटै परिश्रम गर्न सिकेर आउनुहोस्। धेरै नेपाली मान्छेलाई घरमा वरको सिन्को पर सार्ने बानी हुँदैन। अनि एकैपल्ट यता आएपछि धेरै दुःख पाउँछन्। यता आउँदा कोरियन भाषा मात्र होइन, परिश्रम गर्ने बानी पनि सिकेर आउनुपर्छ। 
 
नेपाल फर्केपछि के गर्ने योजना छ ? 
 
म नेपाल फर्केर साथीहरूसँग सामूहिक लगानीमा कुनै व्यवसाय गर्न चाहन्छु।    
 
Published on: 6 june 2018 | Annapurna Post

Back to list

;