s

पुनर्बासमा नजानेका छाप्रोमा चर्खा

चेतन अधिकारी

खरर्र...खरर्र... डिकमाया मगरको दाहिने हात चर्खाको पाइडलमा पुग्ने बित्तिकै यस्तै आवाज आउँछ । बुढ्यौली उमेरको सुखदुःखको साथी अब यही चर्खा नै भइसक्यो । नहोस् पनि किन, १८ वर्ष भयो यसरी घुमाएको । बिहानदेखि घुमाएको चर्खा राति अबेरसम्म यस्तै दैनिकीमा छ ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरकी ६५ वर्षे यी वृद्धा आफ्नो जिन्दगी पनि चर्खासँगै तुलना गर्छिन् । चर्खाको चक्र घुमेजस्तै उनी कुनै समय भुटानमा थिइन्, आज नेपालमा । अबका कुनै समय युरोपेली कुनै मुलुकमा उनको जीवनको पयर घुम्ला कि ?

बेलडाँगी २ सेक्टर 'ई' को छाप्रा नम्बर १०९ की मगरले भनिन्, 'चर्खाको के कुरा गर्नु र । खै, जीवन नै चर्खासरी भएको छ ।'

केही वर्षअघिसम्म शरणार्थीका हरेक छाप्रामा चर्खा कात्न भ्याइनभ्याई हुन्थ्यो । त्यतिमात्र होइन, छिमेकी गाउँहरूमा चलचित्र भवनजस्ता ठूला घरहरूमा चर्खा उद्योगहरू खोलिएका थिए । अहिले ती सबै बन्द भए । शिविरका छाप्राहरूमा चाहिँ यसका अवशेष बाँकी नै छन् । आफ्नो घरका सदस्य वा नातेदारहरू तेस्रो देश गएका शरणार्थीले ऊन कात्न छोडे । तर जसका आफन्त र घरका सदस्य तेस्रो देश पुनर्बासमा संलग्न छैनन्, उनीहरूले ऊन कात्न छाडेका छैनन् । बेलडाँगी २ शिविरका पूर्वसचिव नारदमुनि संन्यासीका अनुसार तेस्रो देश जाने शरणार्थीका परिवारलाई उता गएका सदस्यले केही न केही खर्च पठाइदिन्छन् । त्यसले नुन भुटुनको गर्जो टार्ने गरेकाले ऊन कात्ने काम छाडेका हुन् । 'पुनर्बासमा कोही नगएका र जान नचाहने परिवारले चाहिँ अहिले पनि ऊन कातेर अतिरिक्त खर्च जुटाउनुपर्ने बाध्यता छ,' संन्यासीले भने । काठमाडौं र विराटनगरतिरका साहूले चर्खा कात्न चाहनेहरूलाई शिविरमै धागो र चर्खा ल्याइदिने गरेका छन् । एक केजी धागो कातेबापत शरणार्थीले १ सय १० रुपैयाँसम्म पाउँछन् । एक केजी धागो कात्न दुई दिनसम्म लाग्ने बेलडाँगी १ सेक्टर 'बी' का वृद्ध रमोलाल गौतम बताउँछन् । गौतम परिवारले हालसम्म् तेस्रो देश जाने योजना बनाएको छैन र उनका आफन्त पनि अहिलेसम्म उता गएका पनि छैनन् । 'मजस्तै पुनर्बासमा जान नचाहनेका छाप्रामा अझै पनि चर्खा घुमेको देख्नुहुन्छ' गौतमले भने ।

कुनै बेला शिविरमा हेलिकप्टर बस्न लागेजस्तो गरी चर्खाको आवाजले थर्किएको जस्तो सुनिन्थ्यो । राहत वञ्चित पीडित शरणार्थी समूहका संयोजक नन्दु पौडेल अहिले आक्कलझुक्कल मात्र देखिने चर्खाले पुनर्बासको योजनामा नसमेटिएका शरणार्थीलाई चिनाउने माध्यमजस्तै भएको बताउँछन् । भन्छन्, 'जुन शरणार्थीको कुनै आम्दानी छैन तिनका छाप्रामा चर्खा कात्नुको विकल्प छैन् ।'

'डलर आउनेहरूले चर्खा त्यागे नआउनेले छाडेर के गर्नु ?' बेलडाँगी २ की धनमाया दमाई भन्छिन्, 'दाताले खाद्यान्नमात्र दिन्छन् ।' माछा, मासु र मन लागेका खानेकुरा खाने पैसा यही चर्खा कातेर कमाउने गरेको उनले बताइन् ।

Published on: 31 July 2011 | Kantipur

Back to list

;