s

पुन: कार्यस्थलमा फर्कन दिनुपर्ने माग

ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्कन दिनुपर्ने माग राखेका छन् ।
 
राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेको सललाहमा राजदूत ढकाल, उपनियोग प्रमुख रोजिना ताम्राकार र श्रमसहचारी कृष्णकुमारी गौली कन्सुलर सेवा दिन पुगेका थिए । सललाहमा झन्डै ४ हजार हाउसमेड कार्यरत छन् । ‘बिदामा गएपछि पुन: ओमन आउन श्रमस्वीकृति नदिँदा हामी स्वदेश फर्कन पाएका छैनौं, ’ सीता पौडेलले राजदूत ढकाललाई प्रश्न गरेकी थिइन्, ‘के अब हामी घर फर्कन नपाउने ?’
 
उनीहरूले कार्यरत स्पोन्सरकै घरमा काम गर्न आउन दिनुपर्नेमा जोड दिएका थिए । ‘हामी रहरले होइन, बाध्यताले आएका हौं। सबैमाथि घरमालिकले यातना, दु:ख र शोषण दिएका छैनन्,’ माया मगरले भनिन्, ‘जसलाई काम गर्न सहज छ, ऊ फेरि फर्केर त्यही ठाउँमा आउने हो । यति कुरा त तपाईंहरूले बुझिदिनुपर्ने हो ।’
 
डेढ वर्षअघि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई देशबीच घरेलु कामदारसम्बन्धी श्रम सम्झौता नभएसम्म घरेलु कामदार नपठाउन र पुन: श्रमस्वीकृतिसमेत नदिन श्रम मन्त्रालयलाई आदेश दिएपछि बिदामा आएका हाउसमेड फर्कन पाएका छैनन् । राजदूत ढकालले सम्बन्धित मन्त्रालयमा यसबारे वस्तुगत प्रतिवेदन पठाइसकेको बताएकी थिइन् । ‘घरेलु कामदारको विषय निकै गम्भीर प्रकृतिको हो । नीतिगत रूपमा सम्बोधन गर्न सम्बन्धित मन्त्रालयमा प्रतिवेदन बुझाइसकेका छौं,’ उनले भनिन्, ‘सरकारले आवश्यकताअनुसार यस विषयलाई सम्बोधन गर्नेछ भन्ने हामीले आशा राखेका छौं ।’ उनले ओमन र नेपालबीचको द्विपक्षीय सम्बन्ध प्रगाढ बन्दै गइरहेको अवस्थामा छिट्टै श्रमसम्झौता हुने दिशातर्फ उन्मुख भएको बताएकी थिइन् ।
 
श्रमसहचारी गौलीले ओमनमा कामदारको हितका पक्षमा चालिएका कदमबारे जानकारी दिएकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समितिका टीका दाहालले रोयल दिवानमा कार्यरत कामदारहरू घरेलु कामदार नभएको भन्दै यसलाई दूतावासबाट सिफारिस लिन जरुरी नहुने बताए ।
 
यसैबीच राजदूत ढकालले सललाहका गभर्नर सायिद साउन हिलाल अल वुसाइदीसँग द्विपक्षीय भेट गरेकी थिइन् । सल्लाहमा कार्यरत नेपाली कामदारको सवाललाई यथाशक्य छिटो सम्बोधन गर्नेलगायत विषयमा वुसाइदीसँग छलफल भएको थियो । वुसाइदीले नेपाल र ओमनबीचको सम्बन्धलाई अझ प्रगाढ हुँदैदै जाने अपेक्षा गरेका थिए ।
 
Published on: 14 July 2018 | Kantipur

Back to list

;