s

पसिना बगाउनेहरु अहिले पनि अपहेलित छन् : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपालमा सम्मानजनक रुपमा श्रम गर्ने वातावरण अझै नबनेको बताएका छन् ।
 
पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अहिले पनि अपहेलित हुनुपर्ने अवस्था रहेको उनले बताए । श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने कायमै रहेको भन्दै उनले यो विकासका लागि बाधक हुने बताए ।
 
बुधबार ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा समारोहमा उनले भने, नेपाली समाजमा श्रमलाई सम्मान गर्ने संस्कृतिको अभावमा अहोरत्र पसिना बगाएर बाँच्ने श्रमजिवीहरु अपहेलित हुनुपर्ने ? तर, श्रम नगरिकनै धनी बन्नेहरुले उच्च प्रतिष्ठा र सम्मान पाउने अवस्था अद्यावधिक छ ।’
 
मन्त्री विष्टले श्रमको सम्मान नहुने विद्यमान अवस्थाले विकास र सभ्य समाज निर्माणमा व्यवधान सिर्जना गर्ने बताए ।श्रमिकले सम्मानजनक श्रम गर्ने वातावरण बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी हुने मन्त्री विष्टको भनाइ छ ।आन्तरिक रोजगारी सिर्जना गरी बेरोजगारी समस्या अन्त्य गर्ने उद्देश्यले यो कार्यक्रम आएको उनले बताए ।
 
‘उत्पादनका साधन, श्रम शक्तिको उचित, प्रभावकारी परिचालन मार्फत देशको श्रम बजारको क्षमता विस्तार गर्न, बजारको माग अनुकुल जनशक्तिको उत्पादन र आपूर्तिको व्यवस्था मिलाउन जरुरी छ’, मन्त्री विष्टले भने ।
 
सरकारी, निजी र सहकारी क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरी बेराजगारीको समस्या न्युनिकरण गरिने मन्त्री विष्ट बताउँछन् ।नेपालमा जलस्रोत, कृषि, पर्यटन, खनिज, वनजस्ता आर्थिक विकासका प्रचुर सम्भावना रहेपनि युवा जनशक्तिको उपयोग गर्न नसक्नु दुःखद भएको उनले बताए ।
 
मुलुकभित्रका उत्पादनका साधनहरुलाई निष्क्रिय छाडेर अधिकांश युवाहरु रोजगारीका लागि विदेशिनु परिरहेको भन्दै उनले भने, ‘श्रम शक्तिको अभावमा गाउँघरका खेतबारी बाँझा छन्, कयौं आयोजनाहरु अलपत्र छ, उद्योग कलकारखानाहरुमा श्रमिकको अभाव देखा परिरहेको छ तर, हामीले हाम्रा युवाहरुलाई अझै पनि स्वदेशमै श्रम गर्न अभिप्रेरित गर्न सकिरहेका छैनौं ।’मुलुकको कूल जनसंख्याको ५८ प्रतिशत हिस्सा युवा जनशक्तिलाई आन्तरिक श्रम बजारमा लगाउन नसक्दा अर्थतन्त्र समेत आयातमुखी बन्दै गएको उनले बताए ।
 
संविधानमा उल्लेखित रोजगारीको हकलाई कार्यान्वन गर्न सबैका लागि रोजगार, संवैधानिक अधिकार भन्ने नाराका साथ कार्यक्रम घोषणा भएको उनले बताए । बुधबार घोषणा गरिएको कार्यक्रम कसैलाई सित्तैमा पैसा बाँडे जस्तो नभएको भन्दै उनले रोजगारी प्राप्त नहुने अवस्थामा मात्रै यसको लाभ लिन पाइने बताए ।
 
Published on: 13 February 2019 । Onlinekhabar

Back to list

;