s

‘प्रेमसम्बन्ध सफल बनाउन श्रीमानकै हत्या प्रयास’

सुरेश बिडारी

वीरगन्ज महानगरपालिका– १३ बस्ने ३५ वर्षीय उमेश चौरासियामाथि बुधबार राति भएको गोली प्रहारमा संलग्नता रहेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न चार अभियुक्तलाई सार्वजनिक गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चौरासियाकी श्रीमती प्रियंका, बारा परवानीपुर गाउँपालिका– १ बस्ने विकेन्द्रकुमार गुप्ता, सोही ठाउँ बस्ने मनोज गुप्ता, वीरगन्ज– १२ मुर्ली बस्ने मुन्ना साह कानूलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साअगाडि लालबंगलाबाट पूर्व ५० मिटरको दूरीमा बन्दै गरेको आफ्नो घरनजिक चौरासियामाथि गोली प्रहार भएको थियो । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा सामान्य उपचारपछि उनको अहिले काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

सिसिटिभी फुटेजले अपराधी पहिचान गर्न सहज
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले प्रेमसम्बन्ध सफल बनाउन हत्याको योजना बनेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए । ‘प्रेमसम्बन्धलाई सफल बनाउन हत्याको योजना बनाएको देखिन्छ,’ प्रहरी उपरीक्षक रेग्मीले भने, ‘पक्राउ परेका सबै आरोपीले आरोप स्वीकार गरिसकेका छन् ।’
 
श्रीमानको उपचारको बहानामा नर्भिक अस्पतालमा रहेकी प्रियंकालाई काठमाडौंबाट र अन्यलाई वीरगन्ज महानगरपालिका– ४ बिर्ताबाट प्रहरीले पक्राउ गरेको थियो । घटनामा प्रयोग गरिएको मोटरसाइकल वीरगन्ज– ११ श्रीपुरबाट र पेस्तोल मुर्लीबाट बरामद गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । ‘पेस्तोल प्लास्टिकको बोराभित्र राखी बालुवामा गाडेको अवस्थामा बरामद गरिएको हो भने छर्रावाला गोलीको खोका पेस्तोलमै थियो,’ उनले भने, ‘सिसिटिभी फुटेजले गर्दा अपराधी छिटोभन्दा छिटो पत्ता लगाउन सहज भयो ।’ प्रहरीले उनीहरूका साथबाट पाँच थान मोबाइलसमेत बरामद गरेको छ । घटना घटेको ६ घन्टाभित्र सबै अपराधी पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक रेग्मीको भनाइ थियो ।
 
वैदेशिक रोजगारीले निम्त्याएको घटना
 
वीरगन्ज गोलीकाण्ड वैदेशिक रोजगारीले निम्त्याएको घटना भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनले देखाएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार उमश झन्डै १० वर्षदेखि रोजगारीको सिलसिलामा दुबईमा रहँदै आएका थिए । विवाहपछि उनी झन्डै तीन वर्ष श्रीमतीलाई घरमै छोडेर दुबई बसे । सोही क्रममा अनमीसमेत रहेकी उमेशकी श्रीमती प्रियंका र अपोलो ट्रमा सेन्टर वीरगन्जमा कार्यरत सिएमए विकेन्द्रबीचको सम्बन्ध नजिकिएको थियो । आफ्नो प्रेमसम्बन्धलाई सफल बनाउन प्रियंका र विकेन्द्रले उमेशलाई मार्ने योजना बनाएका थिए । उमेशको हत्यापछि विवाह गरी घरजम गर्ने सोच प्रियंका र विकेन्द्रले बनाएको प्रहरीको भनाइ छ ।
 
उमेशको हत्या गर्न २५ हजार एड्भान्स
 
प्रहरीका अनुसार प्रियंका र विकेन्द्रले आपसी सल्लाहपछि मनोजलाई उमेशको हत्या गर्ने जिम्मा दिएका थिए । मनोजले उमेशको हत्या गर्न सुपारी लिएबापत २५ हजार ‘एड्भान्स’ लिएका रहेछन् । त्यही एड्भान्स रकमबाट पहिचान नखुलेका व्यक्तिबाट उनले ११ हजार रुपैयाँमा १२ बोरको बन्दुकको गोली फिट हुने एक राउन्ड गोलीसहितको कटुवा पेस्तोल खरिद गरेको प्रहरीको भनाइ छ । हत्या भएपछि मनोजलाई विकेन्द्र र प्रियंकाले ७५ हजार रुपैयाँ दिने सहमति गरेको पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए ।
 
हत्या गर्ने प्रयोजनका लागि मनोजलाई विकेन्द्रले नै ना.३४प १०३ नम्बरको मोटरसाइकल उपलब्ध गराएका थिए । कामको सिलसिलामा भैरहवा, बुटवलबाट फर्कंदै गरेका उमेशलाई पिछा गर्दै घर पुग्नुअघि नै कटुवा पेस्तोलले कम्मरको माथि र कोखामुनि दाहिने भागमा पेस्तोल सटाएर गोली हानी रानीघाटको बाटो हुँदै मनोज फरार भएका थिए । प्रियंकाले नै उमेशको लोकेसन फोनमार्फत अभियुक्तलाई जानकारी गराएकी थिइन् ।
 
Published on: 2 March 2018 | Naya Patrika

Back to list

;