s

प्रेमीसँग मिलेर पतिलाई गोली

शंकर आचार्य

मुख्यमन्त्री लालबाबु राउत गृहनगर वीरगन्जमै रहेको बेला बुधबार राति वीरगन्जमा एक सर्वसाधारणको हत्या प्रयासका लागि गोली चलेको छ । सुरक्षा व्यवस्था मजबुद रहेको जिल्ला प्रहरी कार्यालय तथा भारतीय महावाणिज्य दूतावास छेउमा गोली चलेको हो ।

पर्साको विन्दवासिनी गाउँपालिका–३ झौंवागुठीका अरविन्द र ३५ वर्षीय उमेश चौरसिया (भीम) माथि बुधबार राति गोली प्रहार भएको हो । उनी वीरगन्ज महानगरपालिका–१३ मा बस्दै आएका थिए । उनकै पत्नी प्रियंका चौरसिया र उनकी प्रेमी बारा परवानीपुर गाउँपालिका–१ का २४ वर्षीय बिकेन्द्रकुमार गुप्ताले मार्ने उद्देश्यले गोली प्रहार गर्न लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गणेश रेग्मीले बताए ।
 
उमेशलाई आफ्नो नयाँ बन्दै गरेको घरको करिब ५० मिटर पूर्वमा मोटरसाइकलमा चढी आएका २ अज्ञात व्यक्तिले राति करिब साढे ९ बजे गोली प्रहार गरी भागेका थिए । उमेशलाई उपचारार्थ नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो ।
 
अस्पतालको सिफारिसमा राति थप उपचारका लागि राजधानीको नर्भिक अस्पतालमा पुर्‍याइएको छ । उमेशको शरीरमा रहेको गोलीको घाउमा छर्रा प्रयोग भएको बाहिरबाटै देखिने र दाहिने कोखाभित्र प्रशस्त छर्राहरू रहेको एक्सरे रिपोर्टबाट देखिएको छ । हाल उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डा. गणेश रेग्मीले बताए । डीएसपी रेग्मीका अनुसार घटनाको मुख्य कारण विवाहेत्तर प्रेम सम्बन्ध हो । यो घटनामा पत्नीले आफ्नै पतिलाई मार्न प्रेमीसँग मिलेर पेसेवर सुटरलाई सुपारी दिएको रहस्य खुलेको उनले बताए ।
 
प्रहरीको सक्रियताको कारण घटना भएको ६ घण्टाभित्रै घटनामा संलग्न ४ अभियुक्तलाई पक्राउ गर्न सफलता मिलेको उनले बताए । ‘गोली हान्न प्रयोग गरिएका पेसेवर सुटरलाई पक्रन सीसीटीभी क्यामेरा र स्थानीय बासिन्दाको पनि सहयोग रह्यो,’ रेग्मीले भने, ‘४ मध्ये १ जनालाई राजधानीबाट पक्राउ गरी ल्याउन सफल भएका हौं ।’
 
कसरी भयो घटना ?
 
उमेश निरन्तर एक दशक वैदेशिक रोजगारीका लागि दुबई बसेका थिए । करिब ३ वर्षअघि प्रियंकासँग विवाह गरेका उमेश त्यसपछि पनि रोजगारीका लागि दुबई नै गए । उमेश हालै मात्र घर बनाउन भनी स्वदेश फर्केका हुन् । उनले वीरगन्जमा घर बनाउन थालेका थिए ।
 
उमेश परदेशमा हुँदा वीरगन्जमा बसेर अनमी पढ्दै गरेकी उनकी पत्नी प्रियंका र वीरगन्जकै अपोलो ट्रमा सेन्टरमा सीएमए पदमा कार्यरत बिकेन्द्रकुमार गुप्ताबीच प्रेम सम्बन्ध झांगियो । दुवैले आपसी सरसल्लाहबाट उमेशलाई मार्ने र त्यसपछि प्रेम विवाह गरी बस्ने योजना बनाए । उमेशको हत्या गर्न उनीहरूले बारा परवानीपुर गाउँपालिका १ का २७ वर्षीय मनोज गुप्तालाई २५ हजार रुपैयाँ सुपारी दिए । गुप्ताले उक्त रकमबाट (हाल अनुसन्धानका लागि नाम गोप्य राखिएको) एक व्यक्तिबाट ११ हजार रुपैयाँमा १२ बोरको बन्दुकको गोली र त्यसका लाग्ने १ राउन्ड गोलीसहितको कटुवा पेस्तोल खरिद गरे ।
 
हत्याको जिम्मेवारी लिएका गुप्ताले हत्या प्रयोजनका लागि वीरगन्ज १२ मुर्लीका २५ वर्षीय मुन्ना साह कानुलाई समेत आफ्नो मिसनमा सहभागी गरे ।
 
दुवै मिलेर बिकेन्द्रले उपलब्ध गराएको ना३४प १०३ नम्बरको मोटरसाइकल लिई कामको सिलसिलामा भैरहवा, बुटवलबाट फर्कदै गरेका उमेशलाई पछ्याई डेरामा पुग्नुअघि नै बाटोमै रोकी कम्मर माथि र कोखा मुनि दाहिने भागमा गोली प्रहार गरेका थिए । गोली हानेपछि गुप्ता र कानु रानीघाटको बाटो हुँदै भागेका थिए । सुटर समूहलाई पति उमेशको लोकेसन उपलब्ध गराउन उनकी पत्नी प्रियंकाले नै पटकपटक उमेशलाई फोन गरेको पाइएको छ । प्रहरीले प्रियंकालाई उपचारको बहानामा राजधानीमा रहेको अवस्थामा पक्राउ गरी ल्याएको हो ।
 
घटनामा संलग्न अन्यलाई वीरगन्ज ११ श्रीपुर र घटनामा प्रयोग गरिएको पेस्तोल वीरगन्ज १२ मुर्लीबाट बरामद गरेको हो । उक्त पेस्तोल प्लास्टिकको बोराभित्र राखी बालुवामा गाडिरहेको अवस्थामा फेला परेको छ । पेस्तोलमै छर्रावाला गोलीको खोका समेत रहेकोपाइएको छ । पक्राउ परेका चारैजनालेअपराधमा आआफ्नो सहभागिता स्वीकार गरिसकेको र यस अपराधको थप अनुसन्धान जारी रहेको एसपी डा. रेग्मीलेबताए  उनीहरूको साथबाट ५ थान मोबाइलसमेत बरामद भएको छ ।
 
गृहमन्त्री यादव वीरगन्ज आउँदै
 
वीरगन्ज– घटनाबारे जानकारी लिन प्रदेश सरकारका आन्तरिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्र यादव शुक्रबार वीरगन्ज आउँदै छन् । वीरगन्जमा भएको गोली प्रहार र त्यसअघि पर्सामा बुधबारराति नै भएको नाबालिक बलात्कारजस्ता गम्भीर अपराधका घटनापछि स्थलगत जानकारी लिन र प्रहरीलाई आवश्यक निर्देशन दिन मन्त्री यादव वीरगन्ज आउन लागेको स्रोतलेजनाएको छ ।
 
Published on: 2 March 2018 | Kantipur

Back to list

;