s

प्रेमचन्दको कफन र बाकसमा रेमिट्यान्स

प्रमिला देवकोटा

ब्राजिलमा मजदुर पृष्ठभूमिका नेता लुलाको दोस्रो कार्यकाल सकिँदै गर्दा सन् २०१० मा दि इकोनोमिस्टले लामो अन्तर्वार्ता लिएको थियो, उनको कार्यकाललाई लिएर । लुलालाई सोधिएको एउटा प्रश्न यस्तो थियो– तपाईंले गर्न चाहेको काम गर्न सक्नुभयो त यस अवधिमा ? लुलाले जवाफ दिए– कति काम मैले चाहेको गर्न सकिनँ तर ममा सन्तोष भने छ । यो समयमा मैले काम देखाउन नसकेको भए अरू दुई सय वर्ष मजदुरले यो देशको राष्ट्रपति बन्ने सपना देख्न पाउँदैनथे । मसँग काम गर्नु मात्रै विकल्प थियो । लुलाको अन्तर्वार्ताको मर्मसँग मिल्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि सदनमा भने– हामीले अहिले पनि विकास नगरे कहिले गर्ने ?
 
गत असारमा चीन भ्रमणमा आएकै दिन प्रधानमन्त्री ६ घन्टा लामो हवाईयात्रा गरेर आएका थिए । लगत्तै उनी नेपाली दूतावासको कार्यक्रममा सहभागी भए थप तीन घन्टाका लागि । उनी थकित थिए, तर उनको अनुहारमा ऊर्जा थियो । उनी नियमित औषधि सेवन गर्छन् । राति अबेरसम्म जागै रहन्छन् । जीवनको उत्तरार्धमा भएका ओलीलाई पक्कै पनि काम गरेर देखाउने चाहना छ । तर, झन्डै एक वर्षको उनको कार्यकालमा उनले आफैँले भनेको सामाजिक सुरक्षा योजनाको नयाँ युगको सुरुवातबाहेकका काम गर्वसाथ देखाउन मिल्ने केही भएको छैन । उनको चाहना र प्रतिफलमा गडबडी कहाँनेर भएको छ ? उनी खोज्न चाहन्नन्, समस्या त्यहीँ छ ।
 
चीनका प्राध्यायापक तथा योजनाविद् भन्छन्– चीनले विकासका लागि कसैको विद्यमान नीति–नियम अपनाएनन्, चिनियाँ चरित्रको विधि अपनाए । त्यसैले त्यसले काम ग¥यो । नेपालमा पनि वेला–वेला नेतागणले भन्ने गरेको नेपाली माटो सुहाउँदो विकास भाषणमा आउँछ, तर व्यवहारमा आउँदैन । देशमा अधिकांश जनता कृषक छन् र साना व्यवसायी छन् । तिनलाई केन्द्रमा राखेर कुनै कार्यक्रम बन्दैन । उत्पादन गर्नेको बजारमा पहुँच छैन, पहुँच हुनेको सही मूल्य छैन । अचम्म के छ भने त्यसलाई सुधार्न नसक्ने दुईतिहाइको वामपन्थी सरकार छ ।
 
ब्राजिलमा लुलाले आफ्नो कार्यकाल हस्तान्तरण गर्ने वेला आफूले लेखेको इतिहास पढ्न सक्ने भएका थिए । उनले आफूले गरेको कामको सन्तोष जनाउँदै दिएको उदाहरणमा शिक्षामा राज्यको व्यापक लगानी थियो । उनी स्वयं विश्वविद्यालय नगएका ब्राजिलका पहिलो राष्ट्रपति थिए, तर उनैले त्यो देशको इतिहासमै सबैभन्दा धेरै विश्वविद्यालय खोलेका थिए । विद्यमान प्राविधिक स्कुल संख्याको झन्डै दोब्बर स्कुल खोलेका थिए । बालबालिकालाई स्कुल पठाउन प्रेरित गर्न परिवारलाई निश्चित रकम उपलब्ध गराइन्थ्यो ।
 
फलस्वरूप उनले ब्राजिलमा आफ्नो कार्यकालमा ल्याएको कायापलट हेरेर अमेरिकी तत्कालीन राष्ट्रपति बाराक ओबामाले यो समयका उच्च नेताको संज्ञा दिएका थिए । हाल उनी विपक्षीको षड्यन्त्रको सिकारमा जेलमा छन्, तर उनले छाडेको विकासको छाप बलियो गरी ब्राजिलको इतिहासमा खोपिएको छ । हाम्रो आस पनि त्यही हो, प्रधानमन्त्री ओलीले काम गरून् र इतिहासमा नाम लेखाऊन् ।
 
नेपालमा धेरै उत्साहसाथ आएको वामपन्थी सरकारका प्रधानमन्त्री पनि विश्वविद्यालय नपुगेका निम्नमध्यम वर्गीय परिवारबाट आएका हुन् । उनको प्रतिनिधित्व पक्कै पनि अधिकांश नेपालीको प्रतिनिधित्व हो र गर्वको विषय हो । तर, जसरी यो सरकारले आफ्नो झन्डै एकवर्षे कार्यकाल काममा भन्दा तामझाममा सकेको छ, त्यसले आगामी दिनमा फेरि पनि वामपन्थीको हातमा यति बलियो सरकार आउने सम्भावनालाई खियाउँदै लगेको छ ।
 
केही महिनायता शासकवर्गले राज्यस्रोतमा विभिन्न शीर्षकमा गर्ने स्रोत दुरुपयोगका समाचार आइरहेका छन् । अचम्मसँग त्यसलाई पनि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारमाथिको आक्रमणका रूपमा लिएका छन् । यो सरकार दक्षिणपन्थी वा पञ्चायतको हुन्थ्यो भने यस्ता समाचार मानिसलाई सामान्य पनि लाग्दा हुन् । तर, मजदुर वर्गको निसानी झन्डामा टाँसेर त्यसैको भोटले सत्तामा चढेका र मजदुर वर्गको मुक्तिका लागि सशस्त्र आन्दोलन गरेका युनिक पार्टीको सरकारको ब्रान्डमोहले आमजनतालाई आश्चर्यमा पार्नु स्वाभाविक हो । पहिलोपटक प्रधानमन्त्री बन्दा तत्कालीन माओवादी अध्यक्ष प्रचण्डको एक लाखको खाटको व्यंग्य गर्नेहरू आफैँ बिलासी जीवनका लागि सरकारी स्रोतको दुरुपयोग गर्नेमा अगाडि छन् ।
 
नेपालका मानिस मर्ने कारणमध्ये सडक दुर्घटना आठौँ नम्बरमा छ । यो सन् २००७ मा भन्दा २०१७ मा आएर २० प्रतिशतले बढेको छ । देशका जर्जर सडकमा असुरक्षित सवारी–साधनका कारण हजारौँको ज्यान जान्छ, त्यहाँ जननिर्वाचित प्रतिनिधिका गाडी र त्यसमा हाल्ने पेट्रोलको हिसाब हुन्छ र हुनु पनि पर्छ । जुन देशमा गतिलो आवास र लत्ताकपडाको अभावमा कठ्यांग्रिएर मान्छे मर्छन्, त्यहाँ तिनैका नाममा पुगेका जनप्रतिनिधिका आवासका विषयमा छलफल हुन्छ र हुनैपर्छ ।
 
राज्यसत्ता रोजगारीमा गम्भीर नहुने र हरेक दिन आफूलाई हलिया बनाउन र खाडी हिँड्न जनता बाध्य भइन्जेल जनप्रतिनिधि परिवारका जागिरबारे चासो रहन्छ र राख्नुपर्छ । जहाँ स्कुलमा खाजा खान पाइने आसमा किताब बोकेर बालबालिका पढ्न पुग्छन् र नपाउँदा पढ्न छाडिदिन्छन्, त्यस्तो देशमा त झन् शासकले के–के खान्छ भनेर पनि समाचार बनाइनुपर्ने हो, जुन पढ्ने मौका अझै आएको छैन । यस्ता विषयमा सुन्न नचाहने शासकसँग भएको विकल्प एउटै हो, आफ्नो जीवनशैली र जनताका जीवनशैली समान बनाउनु ।
 
राष्ट्रपतिका लागि महँगो गाडी खरिदबाट सुरु भएका समाचार अहिले मन्त्री, नगरप्रमुख र गाउँपालिका प्रमुखका गाडीमा पुग्दासम्म अवस्था उही छ, आवश्यकताभन्दा बिलासी र महँगा साधन खरिद । गाडी राष्ट्रपतिको निजी होइन भन्ने जवाफबाट सुरु भएको गाउँपालिकामा आउँदा पनि ‘निजी होइन’मै टुंगिएको छ । यसले कसरी माथिबाट स्रोतको दुरुपयोग तलसम्म बग्न सजिलो हुन्छ भन्ने देखाएको छ । साथै यसले अर्काे बन्ने सरकारलाई झन् धेरै सत्ताको दुरुपयोग गर्न बाटो खुला गरेको छ ।
 
चीनका राष्ट्रपति सी जिनपिङले नयाँ वर्षको शुभकामना सन्देश दिँदा आफ्ना ती निम्नवर्गका जनताको नाम लिँदै सुरु गरे, जसलाई उनले गरिबी निवारण अभियानअन्तर्गत भेटेका थिए । हरेकको नाम लिँदै उनीहरूको जीवनमा परिवर्तन आओस् भनेर शुभकामना दिए । त्यसपछि उनले ती मान्छेलाई सम्झे, जसले चीनका गरिब जनतालाई मध्यम आयमा उकास्न गाउँमा मिहिनेत गरिरहेका छन् । उनले देखावटीका लागि आफ्नो सम्बोधनमा उनीहरूलाई स्थान दिएका थिएनन् । राज्य जतिसुकै शक्तिशाली होस्, फाटेको कपडाबाट देखिएको आङले उसलाई नंग्याइरहेको हुन्छ । हामी हाम्रा शासकलाई अठार करोडको गाडी चढाऊँ वा डेढ अर्बको हेलिकोप्टरमा सयर गराऊँ, विश्वमा बिक्ने हाम्रा कुपोषणबाट मरिरहेका बालबालिकाका तस्बिर र खाडी जान लाइन लागेका जवानी नै हुन् ।
 
हरेक वर्ष असार आउँछ, विकास बजेट सकिँदैन, हतारहतार बजेट रकमान्तरण हुन्छ । अहिलेसम्म त्यसले गजबको अस्पताल बनाऊँ वा क्याम्पस बनाऊँ भनेको सुन्न किन पाउँदैनौँ हामी ? बरु त्यसले टोलटोलमा गिटी छरेर कार्यकर्ताको वार्षिक खर्चको जोहो गरिन्छ ।केही महिनाअगाडि चितवनमा एकजना बालकलाई सर्पले डस्यो । हजुरबुबा बालक बोकेर सरकारी अस्पताल पुगे । अस्पतालले आइसियु नभएको भन्दै अर्काेमा पठायो, अर्काेले अर्काेमा । चितवनका सबै अस्पताल चहार्दा बच्चाको परान सकियो । हजुरबालाई लाग्यो होला, नातिको ज्यान सर्पले लियो । तर, शासकले आफ्ना मोजमस्तीमा गरेका सत्ता दुरुपयोगले आइसियुको एउटा बेड नपाएको बच्चालाई हाम्रो भ्रष्ट प्रणालीले मारेको ती हजुरबाले थाहै पाएनन् ।
 
रोग, भोक, अशिक्षा, सामाजिक असमानता भनेका भाग्यमा आधारित हुन् भन्ने धेरै नेपालीलाई लाग्दो हो । जनताकै पसिनाले बनेको राज्य हुन्छ, त्यसले जनताको कल्याणका लागि काम गर्छ, भनेर दुई हजार वर्षअगाडि पश्चिमका एरिस्टोटलदेखि पूर्वका मनुसम्मले एकैसाथ भनेका हुन् । अझ हाम्रातिर राजालाई देवतासँग त यसैकारण तुलना गरिएको हो, ताकि उसले भेदभाव नगरोस्, न्यायमा गल्ती नगरोस् । अर्थात्, ऊ गल्तीविनाको मान्छे बनोस् । न कि कुनै सीप नभएको मान्छे बनेर राजनीति गरोस् र त्यसैले सात पुस्ता पोस्ने गरी सत्ता दुरुपयोग गरोस् ।
 
भारतीय साहित्यकार प्रेमचन्दको एउटा शक्तिशाली कथा छ, कफन । मुख्य पात्र घिसु र उसको छोरा माधव असाध्यै अल्छी छन् । आराम गर्ने र मिठो खान पाउने लालसामा सधैँ रहन्छन् । तर, त्यसका लागि मिहिनेत गर्दैनन्, माग्छन् । नपाए चोर्छन् । माधवले बिहे गरेपछि दुवैको अल्छीपना झनै बढ्छ । श्रीमतीले निमेक गरेर बिहानबेलुका खुवाउँछे । कथा सुरु हुँदा माधवकी श्रीमती बुधिया प्रसव वेदनाले घरभित्र छटपटाइरहेकी हुन्छे । माधव र घिसु बाहिर चोरेर ल्याएको आलु पोलेर खाँदै हुन्छन् । श्रीमती छटपटाएको देखेर माधव पनि छटपटाउँछ । तर, त्यो छटपटाहट सुत्न नपाएकोमा हुन्छ । उसले श्रीमतीको उपचार त गर्दैन नै उसको छेउमा बस्न पनि चाहँदैन । बरु ऊ मरिदिए आनन्दले सुत्न पाउँथेँ भन्छ । पोल्दै गरेको आलु बाउले सकिदेला भन्ने चिन्तामा ऊ त्यहीँ बस्छ । दुवै निदाउँछन्, चिच्चाइरहेकी बुधियालाई छाडेर । भोलिपल्ट बुधिया मरिसकेकी हुन्छे ।
 
ओखतीका लागि पैसा जुटाउन ननिस्केका बाबुछोरा कफनका लागि निस्कन्छन् । दुवै जमिनदारकोमा पुग्छन्, गाउँलेकोमा पुग्छन् र पैसा उठाउँछन् । कफन किन्न सहर पुग्दा दुवैको मन बोतलको रक्सी देखेर बहकिन्छ । उनीहरू पुरी, तरकारी खान्छन्, थरीथरीका मासुका परिकार खान्छन् र भन्छन् ‘बुधिया स्वर्ग जान्छे । ऊ बाचुन्जेल पनि हामीलाई खुवाई । मरेपछि पनि उसकै कारण हामीले यति मिठो खाने अवसर पायौँ । ऊ स्वर्ग जान्छे ।’ बुधियाको कफनमा घिसु र माधवको मस्ती र हाम्रा खाडी पुगेका युवाको कफनमा बेरिएर आएकोरेमिट्यान्टसमा गर्ने शासकको मस्तीमा कति अन्तर छ ?
 
Published On: 15 January 2019 | Naya Patrika

Back to list

;