s

प्रवासमा वर्षमा ८ सय ३४ कामदारको मृत्यु

होम कार्की

वैदेशिक रोजगारका लागि खाडी तथा मलेसियामा कार्यरत ८ सय ३४ नेपाली कामदारको एक वर्ष अवधिमा व्यवसायजन्य सुरक्षा अभावले मृत्यु भएको छ। खाडी तथा मलेसियास्थित नेपाली दूतावासको रेकर्डअनुसार सन् २०१२ मा यति धेरै नेपाली कामदारको ज्यान गएको हो। दिनभर काम गरेर क्याम्पमा फर्केका कामदारलाई भोलिपल्ट बिहान मृत अवस्थामा फेला पर्ने स्थिति डरलाग्दो रहेको दूतावासको तथ्यांकले जनाएको छ। त्यसपछि ट्राफिक दुर्घटना, आत्महत्या र कार्यस्थलमा मृत्यु छन्।

साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले २०१२ मा दुई सय ८३ जना नेपाली कामदारको शव पठाउन 'नो अब्जेक्सन सर्टिफिकेट' जारी गरेको बताए । 'हामीले बहराइन, ओमन र साउदी गरी दुई सय ८३ जना नेपालीको शव पठाउन कम्पनीलाई अनुमति दिएका छौं,' उनले भने। बहराइनमा १५ र ओमनमा ८ जनाको मृत्यु भएको छ ।

कामदारको ज्यान जाने दोस्रो मुलुक मलेसिया हो। मलेसियास्थित श्रम सहचारी अमलकिरण ढकालका अनुसार बिरामी, सडक दुर्घटना र विभिन्न कारण गरी कम्तीमा दुई सय ७० को ज्यान गएको छ।

त्यसपछि कतारमा एक सय ७४, संयुक्त राष्ट्र इमिरेटसमा ५५, कुवेतमा ३२, लेबनानमा ७ जना कामदारको ज्यान गएको छ । साउदी र कतारमा सुतेको सुत्यै हुने स्थिति बढी छ । साउदीमा यसरीमा ज्यान जानेको संख्या ५० प्रतिशत जति छ । साउदीमा सुतेको सुत्यै हुनेलाई डाक्टरहरूले रिपोर्टमा 'नेचुरल डेथ' र कतारमा 'हृदयाघात' भनेर उल्लेख गरिदिने गरेका छन्।

'कतारमा एक सय ७४ जनाको ज्यान गएकोमा एक सय दुई जनाको हृदयाघातबाट ज्यान गएको छ,' कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव जयबहादुर राईले भने, 'यस्तो हुनुमा अपेय पदार्थको सेवन मुख्य कारण हो कि भन्ने हामीलाई लागेको छ।'

खाडीमा गर्मीको समयमा यस्ता मृत्युदर उच्च हुने गरेको छ । साउदी राजदूत पाण्डेका अनुसार 'आवश्यकताअनुसारको पानी नपिउँदा' हृदयाघात हुने गरेको हो । 'नेपालमा एजेन्ट वा म्यानपावरले एउटा वातावरण बताएको हुन्छ, यता आउँदा अर्को वातावरण बनिदिन्छ,' उनले भने, 'यसले कामदारलाई तनावमा राख्नुको साथै तुरुन्तै फिर्न नपाउने अवस्था हुँदा मृत्युका खबर पनि आइरहेका छन्।'   

कामदारलाई यस्ता अचानक हुने मृत्युको खबरले झनै तनाव दिने गरेको छ । 'बेलुकासम्म तन्दरुस्त अवस्थामा भेटिएको साथीभाइ भेलिपल्ट बिहान मृत भएको खबर आउँछ,' बहराइनस्थित नेपाली क्लबका अध्यक्ष दुर्गा गिरीले भने, 'हामीलाई यस्ता खबरले निकै तनाबमा राख्छ।'

कतारमा कार्यरत नेपाली डाक्टर नरेन्द्रकुमार शाक्यका अनुसार खानपान, नियमित स्वास्थ्य जाँच, आवश्यकताभन्दा एउटै कोठामा बढी कामदार राखिँदा निरोगी मृत्युदर बढिरहेको छ । महिला कामदारको मृत्यु हुनेमा कुवेत र लेबनान छन्।

कुवेतमा गत वर्ष १० महिलाको मृत्यु भएको छ। राजदूत मधुवन पौडेलका अनुसार दूतावासमा सेल्टर स्थापना भएपछि आत्महत्या गर्ने दरमा भने निकै कमी आएको छ। 'अहिले यहाँ सेल्टर छ। तनाब वा यातना पाउने महिला कामदारलाई यहाँ राख्छौं,' उनले भने, 'महिलालाई सुरक्षित गृह दिलाएपछि पहिलाजस्तो आत्महत्या गरिहाल्ने स्थितिमा कमी आएको छ।' लेबनानमा भने आत्महत्या रोकिएको छैन। यो एक वर्षमा पनि सात जना महिलाले आत्महत्या गरेका छन्।    

Published on: 12 January 2013 | Kantipur

Back to list

;