s

प्रवासबाट कामदार अझै फर्कन पाएनन्

भूकम्प र परकम्पको कारण परिवार र आफन्तमा क्षति भएर घर फर्किन चाहेका प्रवासी कामदारलाई सहज रूपमा आउने व्यवस्था मिलाउन संसदको समितिले निर्देशन गरे पनि कार्यान्वय हुन सकेको छैन। वैशाख १२ मा गएको भूकम्पको सवा एक महिना बित्दा पनि कयौं कामदार घर फर्किन नपाएर समस्यामा छन्।

संसदको ‘अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति’ ले दिएको निर्देशन कार्यान्वयन नभएपछि बिहीबार परराष्ट्रमन्त्री र श्रम राज्य मन्त्रीलाई बोलाएर पुन: निर्देशन दिएको छ। नेपाली कामदारको मुख्य गन्तव्य मुलुक मलेसिया र खाडीस्थित देशहरूबाट कयौं कामदार सहजै स्वदेश फर्किन पाएका छैनन्।

समितिले फेरि फर्किन चाहेका कामदारलाई शीघ्र घरफिर्ती गराउन नेपाली नियोगहरूलाई प्रभावकारी ढंगले परिचालन गर्न र कामदार पठाउने म्यानपावर कम्पनीहरूलाई जिम्मेवारी बनाउन समितिले निर्देशन दिएको छ। यसअघि समितिले जेठ १८ मा पनि प्रवासबाट फर्किन चाहनेलाई सहज वातावारण बनाउन निर्देशन दिएको थियो।

समितिले निर्देशन मात्र दिने तर कार्यान्वय नहुने भयो नि भन्ने कान्तिपुरको जिज्ञासमा श्रम समितिका सभापति प्रभु साहले यो सरोकार मन्त्रालयको कमजोरी र गैरजिम्मेवारीपन भएको आंैल्याए। ‘कि निर्देशन गलत छ भनेर भन्नुपर्यो , होइन भने कार्यान्वय गर्नुपर्यो्,’ साहले भने, ‘निर्देशन किन कार्यान्वयन भएन अब हामी दोषी खोज्छौं।’ समितिले विदेशस्थित गैरआवासीय नेपाली संस्थाहरूको सहयोग लिन पनि सरोकार मन्त्रालयहरूलाई आग्रह गरेको छ। समितिको पछिल्लो बैठकमा उपस्थित परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले कतिपय कामदार फर्किन नसकेको स्विकार्दै प्रभावकारी कदम चाल्ने बताए। वैठकमा परराष्ट्र सचिव, श्रमका सहसचिव, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका प्रमुखहरू पनि सहभागी थिए।

वैशाख १२ को विनाशकारी भूकम्प र सोपछिका पटक पटकका परकम्पबाट आफन्त गुमाएका वा घर भत्केको वा आफन्त घाइते भएर फर्कन चाहने कामदारहरू सम्बन्धित कम्पनीले छुटकारा नदिएको खबर श्रम समितिमा पटक–पटक पुगेको छ। प्रवासी कामदार तथा तिनका परिवारले सभासदहरूसँग समेत पटकपटक फर्किन नपाएको गुनासो पोख्दै आएका छन्।


Published on: 5 June 2015 | Kantipur
 

Back to list

;