s

प्रभावकारी भएन श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम प्रभावकारी नभएको पाइएको छ । सरकारले नियमित अनुगमन गर्न नसक्दा श्रमिकहरू तालिमविना नै वैदेशिक रोजगारीमा जाने गरेको भेटिएको छ । पुरानो पाठ्यक्रममा आधारित भएकाले तालिम लिएका श्रमिकका लागिसमेत प्रभावकारी हुन सकेको छैन ।

वैदेशिक रोजगार ऐनअनुसार विदेश जानुअघि म्यानपावर व्यवसायीले श्रमिकलाई दुईदिने अभिमुखीकरण तालिम प्रदान गर्नुपर्नेछ । तालिममा वैदेशिक रोजगारीमा जाँदा अपनाउनुपर्ने प्रक्रिया, गन्तव्य मुलुकमा पुगिसकेपछि अपनाउनुपर्ने सावधानी, रोजगारदातासँगको सम्बन्ध, गन्तव्य मुलुकको भाषा, कानुनी व्यवस्थाका साथै श्रमिकले आम्दानी गरेको रकमको उचित प्रयोगको विषयमा जानकारी दिनुपर्नेछ ।

तर, तालिमको पाठ्यक्रम धेरै पुरानो भएकाले प्रभावकारी हुन नसकेको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी  महासंघका अध्यक्ष राजाराम गौतमले बताए । ‘अहिलेको पाठ्यक्रम २०७० सालमा बनेको हो । तर, कतिपय मुलुकमा नीति–नियम परिवर्तन भइसकेको छ । रोजगारीमा जाने प्रक्रिया पनि परिवर्तन भइसकेको छ । तर, पाठ्यक्रम पुरानै छ,’ उनले भने । 

 नियमनको अभाव

वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अनिवार्य गरिएको पूर्वप्रस्थान अभिमुखीकरण तालिमको नियमन र अनुगमनको कार्य नै फितलो भएको नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको आरोप छ । पहिला तालिम लिएका श्रमिकले त्रिभुवन विमानस्थलमा ‘थम्प प्रिन्ट’ गर्ने व्यवस्था थियो । 

तर, लामो समयदेखि यो बन्द भएको महासंघका अध्यक्ष गौतमले बताए । ‘तालिम प्रभावकारी बनाउन हामीले तालिम केन्द्रमा सिसी क्यामरा लगाएर वैदेशिक रोजगार विभाग र बोर्डमा प्रत्यक्ष हेर्न सकिने बनाउने पनि भनेका छाैँ । तर, कुनै पनि निकायले चासो देखाएको छैन,’ उनले भने । त्यस्तै, पाठ्यक्रम पुरानो हुँदा श्रमिकलाई समय–सापेक्षित जानकारी दिन नसकिएको उनले बताए ।  

त्यस्तै, पौरखी नेपालकी संस्थापक अध्यक्ष मञ्जु गुरुङले अभिमुखीकरण तालिममा महिला श्रमिकको सहभागिता ज्यादै न्यून हुने गरेको बताइन् । ‘महिला श्रमिक यसै पनि जोखिममा छन् । त्यसमा पनि अभिमुखीकरण तालिममा महिलाको उपस्थित ज्यादै न्यून हुँदा, महिला श्रमिक झनै जोखिममा पर्ने गरेका छन्,’ उनले भनिन् ।

माघदेखि नयाँ पाठ्यक्रम

आगामी माघदेखि अभिमुखीकरण तालिमको नयाँ पाठ्यक्रम सुरु हुने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । नयाँ पाठ्यक्रममा अडियो र भिडियो समावेश गरिएको छ । दुई दिनको १२ घन्टा तालिममा श्रमिकलाई कार्यस्थलमा दुर्घटनाको विषयमा केन्द्रित गराउन खोजिएको बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । त्यस्तै, गन्तव्य मुलुकमा पुगेपछि श्रमिकले भोग्नुपर्ने शारीरिक र मानसिक पीडालाई न्यूनीकरण गर्ने विषयसमेत जोडिएको उनले बताए ।

त्यस्तै, गन्तव्य मुलुकको नीति–नियम, कानुनी व्यवस्था र भाषालाई पनि जोड दिइएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार वैदेशिक रोजगार बोर्डले सबै प्रदेशमा अभिमुखीकरण तालिम प्रदान गर्ने तयारी गरिएको उनले बताए । तालिमका लागि १ सय ५० प्रशिक्षकलाई बोर्डले प्रशिक्षण दिने तयारी गरेको छ । नयाँ पाठ्यक्रम श्रमिकका लागि प्रभावकारी हुने दाबी गरे ।

२०७० सालको पाठ्यक्रमअनुसार दुईदिने ११ घन्टाको अभिमुखीकरण तालिमको तालिका तयार गरिएको थियो । तर, सो अवधि ज्यादै छोटो भएपछि वैदेशिक रोजगार बोर्डले पाठ्यक्रम परिवर्तन गरी तीन दिनको १८ घन्टे तालिमको तालिकासहित मन्त्रालयमा प्रस्ताव गरेको थियो । मन्त्रालयले सो प्रस्ताव पारित गरे पनि कार्यान्वयन गर्न नसकिएको बोर्डका निर्देशक श्रेष्ठले बताए ।

Published on: 4 January 2021 | Nayapatrika

Link

Back to list

;