s

प्रतिफलको आश देखाउँदै कामदार ठगी

वैदेशिक रोजगारीका लागि कोरिया गएका कामदारले लगानी गरेका कुनैपनि योजना सफल नभएपछि उनीहरु निराश बनेका छन् । शुरुमा आकर्षक प्रतिफलको गुलियो आश्वासन बाड्ने सञ्चालकहरु आयोजना निर्माण गरी प्रतिफल दिने बेलामा विभिन्न बहाना झिकेर उम्कने गरेको पाइएको छ ।
 
आयोजना निर्माण अवधि अनिश्चित भएपछि धेरै युवाहरु चिन्तित भएका छन् । नेपाली कामदारको लगानी रहेको सानो मिल्ति खोला हाइड्रोको लगानी अन्योलमा परेको छ । दक्षिण कोरियामा रहेका नेपाली युवाहरूले आयोजनाका लागि एक लाखदेखि १० लाखसम्म लगानी गरेका छन् । शुरुमा लगानी रकमबाट वार्षिक ६० प्रतिशतका दरले २५ वर्षसम्म मुनाफा प्राप्त हुने चर्चा व्यापक बनेको थियो । सोही अभिलाषामा धेरैले लगानी गरे ।
 
मासिक डेढ लाख रुपैयाँभन्दा बढी कमाई गर्ने नेपाली कामदारको संख्याले आयोजनामा लगानी गरेका थिए । दाङका यज्ञमूर्ति पोखरेल, रामेछापका रमेश खड्का जस्ता धेरै युवाले गरेको लगानी ‘जोखिममा’ परेको छ । जल विद्युत मात्र होइन अन्य पूर्वाधारमा लगानी गरेका युवाहरुपनि प्रतिफलबाट बञ्चित भएको बताउँछन् । वैदेशिक रोजगारीमा रहेका युवा आफ्नो परिश्रमको कमाई थोरै भएपनि पुँजी निर्माणका लागि लगानीको खोजीमा थिए ।
 
०७१ को वैशाखमा प्रतिफलको गुलियो आश्वासन लिएर नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशी कोरिया पुगे । काठमाडौं–हेटौडा सुरुङ मार्गमा लगानी जुटाउन भन्दै जोशीले कोरियाका विभिन्न सहरमा गोष्ठी गरे । जोशीको आश्वासनमा विश्वास गरेर कामदारहरूले दुई करोड ८३ लाख लगानी जुटाएर पठाए । तर विवादका कारण सञ्चालक समिति फेरिए, प्रतिफल त परको कुरो, सुरुङ मार्ग निर्माण कार्य अनिश्चित बनेपछि लगानी बापतको रकम फिर्ता पाउने सम्भावना पातलिएको कामदारहरुको भनाइ छ ।
 
दुःख गरिरहेका श्रमिकहरूलाई अझ आकर्षक प्रतिफलको आशा देखाउँदै ०७१ को जाडो याममा सानो मिल्ति खोला हाइड्रो आयोजनाको संस्थापक सेयरका लागि आह्वान गर्दै कोरीया गए । त्यसपछि उक्त परियोजनाका लागि १९ करोड ६० लाख जम्मा भयो । तीन मेघावाट क्षमताको हाइड्रो परियोजनाका लागि ४५ करोड लागत अनुमान गरिएको थियो । आयोजनका प्रमुखको रूपमा एसएम इन्भेष्टका तत्कालीन अध्यक्ष तेन्जी शेर्पाले तीन महिनामा पीपीए सकिने भन्दै आश्वस्त पारे तर डेढ वर्ष अघि मात्रै पीपीए सकिएको छ । पेसाले इन्जिनियर शेर्पा एनआरएनको पूर्व महासचिव पनि हुन् । तर उनले गरेको वाचा पनि पूरा नभएको कामदारहरु बताउँछन् । शेर्पाले पछिल्लो समय आयोजनाबाट पूर्ण रूपमा हात झिकिसकेका छन् ।
 
Published on: 20 March 2018 | Madhyanha

Back to list

;