s

प्रहरीलाई पर्खिंदा मलेसियामा ट्याङकिमा फसेका दुई नेपालीको मृत्यु

मलेसियाको बातु पहाडस्थित सिन कावाङ प्लास्टिक कम्पनीमा कार्यरत दुई नेपाली कामदारको मृत्युु भएको छ। केही दिनअघि मात्र वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका रौतहटका सन्तोष यादव र पाल्पाका चुरा दर्लामी मगरको मृत्युु भएको हो।
 
गत बिहीबार बिहान रसायनिक (केमिकल) को ट्याङ्की सफा गर्ने क्रममा केमिकलको गन्धले बेहोस भएका यादव उक्त ट्याङ्की भित्र खसेका थिए । उनलाई निकाल्न सहयोग गर्ने क्रममा चुरा पनि बेहोस भएका थिए। केमिकलको अत्याधिक असरका कारण श्वासप्रश्वासमा असर भएर उनीहरुको मृत्यु भएको सोही कम्पनीमा कार्यरत हिरालाल तामाङले जानकारी दिए।
 
बिहीबार कम्पनीमा विदा भएको भन्दै सबैजना मिलेर ट्याङ्की सफाइ गरिदिन कम्पनीका सुपरभाइजरले आग्रह गरेका थिए। केमिकलको ट्याङ्की धेरै दिनदेखि त्यतिकै राखिएको र त्यसभित्र केमिकलको ग्यास भरिएको थियो । ट्याङ्की भित्र फसेका उनीहरुलाई त्यहाँबाट निकाल्नका लागि कामदारहरुले सुपरभाइजरलाई आग्रह गरेका थिए। ट्याङ्की काट्न पर्ने भएपछि प्रहरीले आदेश नदिएसम्म काट्न नमिल्ने सुपरभाइजरले जनाए।
 
प्रहरी पुगेपछि ट्याङकी त काटियो तर त्यस समयसम्ममा सन्तोषको मृत्यु भइसकेको थियो । चुरालाई भने अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घाेषणा गरेका थिए । समयमै ट्याङ्की काटेर उनीहरुलाई निकालिएको भए सन्तोषको बाँच्ने सम्भावना रहेकाे मलेसियाबाट अर्पण मगरले जानकारी दिए। तर, सुपरभाइजरले आदेश नदिएपछि सन्तोषलाई हत्या गरिएको आरोप लगाउँदै कामदारहरुले कम्पनीमा हड्तालसमेत गरेका छन्। मृतकको शव पोस्टमार्टमपछि नेपाल पठाउने तयारी भइरहेकाे अर्पणले जानकारी दिए ।
 
Published on: 30 December 2018 । onlinekhabar

Back to list

;