s

प्रहरीको जागिर छाडेर विदेश

ललितबहादुर बुढा

सुर्खेत : कक्षा १२ उत्तीर्ण भएपछि पञ्चपुरी–६ सुर्खेतका मानसिंह विसी नेपाल प्रहरीमा भर्ना भए। मुस्किलले दुई वर्षसम्म उनले जागिरमा बिताए। तर बल्लतल्ल खाएको प्रहरीको जागिर बीचमै छाडेर विसी विदेश हानिए। हाल उनी रोजगारीको क्रममै कोरियामा छन्। कामअनुसार सुविधा नभएपछि परिवारको खर्च जुटाउन जागिर छाडेर विदेश उडेको उनका आफन्तले जनाए।
वीरेन्द्रनगर–१२ का नविन सारुले पनि ६ वर्ष नबित्दै प्रहरीको जागिर छाडिदिए। परिवारको खर्च जुटाउन भन्दै प्रहरीमा भर्ना भएका उनी यतिबेला वैदेशिक रोजगारीमा जाने तयारीमा छन्। उनले जागिर छाडेको सात महिना मात्र भयो। प्रहरीको जागिरले घरखर्च नचलेपछि बीचमै जागिर छाडेर विदेश जान लागेको उनको भनाइ छ। उनी भन्छन्, ‘प्रहरीमा ६ वर्षसम्म त दुःख गरेँ, तर दुःख अनुसार सुविधा बढेन। २४ घण्टे जागिरले घरखर्च चलाउनै मुस्किल भयो, अब विदेश गएर कमाउँछु।’

दैलेखको ठाँटिकाँध घर भएका राकेश नेपालीको पेन्सन निस्कन पाँच वर्षमात्र बाँकी थियो। तर पनि उनले एक वर्षअघि प्रहरीको जागिरबाट राजीनामा दिए। हाल उनी वीरेन्द्रनगरस्थित एरिचोकमा फेन्सी पसल गरेर बसिरहेका छन्। ‘सुरुमा जागिरका लागि धेरै दौडिएँ, भाग्यले नै भनौं प्रहरीमा भर्ती पनि भएँ। तर त्यहाँभित्र हाकिमलाई रिझाउन नसक्दा बढुवा र सरुवा कहिल्यै भएन, जवानकै तलबले मात्र खर्च धान्न धौ भएपछि बीचमै जागिर छाडेर व्यापारमा लागेँ।’

सकी नसकी प्रहरीमा जागिर खाएर बीचमै जागिर छाड्नेहरूमध्येमाथि उल्लेखित व्यक्तिहरू केवल प्रतिनिधि मात्र हुन्। पछिल्लो सयम सेवा, सुविधा, सरुवा र बढुवामा असन्तुष्टि जनाउँदै प्रहरीमा धमाधम जागिर छाड्नेको संख्या बढ्दो छ। कर्णाली प्रदेशमा मात्र एक वर्षको अवधिमा डेढ सयभन्दा बढी प्रहरीले बीचमै जागिर छाड्ने गरेको पाइएको छ। स्थायी जागिर र पेन्सनको सुविधा भए पनि प्रहरीको जागिरबाट राजीनामा दिनेहरूको संख्या बढ्दो छ।

तल्लो तहका धेरै

बीचमै जागिर छाड्ने प्रहरीमध्ये तल्लो तहका धेरै छन्। काम गर्ने समय धेरै हुनु र त्यो बमोजिम सुविधा कम हुने भएकाले पनि राजीनामा दिने तल्लो तहका कर्मचारीको संख्या बढी छ। आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशका १० जिल्लामा एकसय १४ जना प्रहरीले राजनीनामा दिएका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिक वर्षको सात महिनाभित्रमा ७० जनाले प्रहरीको जागिर छाडिसकेका छन्।

राजीनामा दिँदा घरयाँसी र शारीरिक अवस्था कमजोर भएको देखाए पनि सेवा र सुविधा कम भएकै कारण उनीहरूले जागिर छाडेको पाइएको हो। जागिर छाडेकाहरू धमाधम वैदेशिक रोजगारीमा गएका छन्। केहीले स्वदेशमै व्यवसाय गरिरहेका हुन्।

राज्यलाई आर्थिक भार

प्रहरीमा एउटा जवान तयार पार्न राज्यको लाखौं रकम खर्च हुन्छ। त्यसरी तयार भएको जनशक्ति बीचमै जाँदा राज्यलाई नै आर्थिक नोक्सानी हुने गरेको छ। एकजना प्रहरी जवान तयार पार्न राज्यको कम्तिमा पनि पाँच लाख रुपैयाँसम्म खर्च हुन्छ। भर्ना, तालिम र अन्य व्यासायीक सीप सिकाउन प्रतिजवान पाँच लाखजति खर्च हुने प्रदेश प्रहरीले जनाएको छ।

पूर्वएआईजी रणबहादुर चन्द भन्छन्, ‘एउटा जवान तयार पार्न कम्तिमा पनि पाँच लाख खर्च हुन्छ, यसरी हेर्दा प्रहरीमा जनशक्तिको उत्पादन महँगो छ। तर उत्पादित जनशक्तिले बीचमै जागिर छाड्दा राज्यलाई घाटा हुन्छ, यसलाई रोक्न अब समयअनुसार प्रहरीभित्र सेवा र सुविधा बढाउनुपर्छ।’ सेवा र सुविधा बढाएमा प्रहरीमा रहेको जनशक्तिलाई टिकाउन सकिने उनको भनाइ छ।

अन्य सरकारी सेवाको तुलनामा प्रहरी सेवामा बढी समय दिनुपर्छ। दैनिक डिउटी गर्दा पनि त्यो बराबरको सेवा र सुविधा भने छैन। काम अनुसारको अत्तिरिक्त सुविधा नभएकै कारण प्रहरीभित्र तल्लो तहका कर्मचारीमा निराशा देखिन्छ। पहुँच र शक्तिको भरमा मात्र गरिने सरुवा र बढुवाका कारण पनि आफूहरूले बीचमै जागिर छाडेको राजीनामा दिएकाहरू बताउँछन्।

‘जागिरमा रहनैपर्ने न्यूनतम अवधि तोक्नेछौं’

संगठनभित्र बीचमै राजीनामा दिनेक्रम बढेपछि नेपाल प्रहरीले यसबारे गहिरो अध्ययन गर्ने जनाएको छ। नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले अब प्रहरी संगठनमा प्रवेश गर्दा जागिर छाड्नै नपाइने न्यूनतम अवधिबारे अध्ययन गरिने बताए।

उनले भने, ‘जागिरमा रहने वा नरहने भन्ने व्यक्तिगत विषय हो, कुनै पेशा रोज्ने वा छाड्ने भन्ने व्यक्तिको अधिकार पनि हो। तर पनि अब प्रहरीमा जागिर खाएपछि छोड्नै नपाइने न्यूनतम अवधि तोक्न आवश्यक छ, कम्तिमा यति वर्षसम्म जागिरमा रहनैपर्छ भन्ने नियम बनाउनका लागि अब हामी अध्ययन गर्नेछौं।’ उनले प्रहरीमा सेवा र सुविधा बढाउनका लागि पनि प्रयास भइरहेको बताए। साथै जागिरमा टिकाइ राख्नका लागि पनि नयाँ विकल्प खोजिने उनको भनाइ छ।

Published on: 5 January 2020 | Annapurna Post

Link

Back to list

;