s

प्रहरी र अध्यागमनका कर्मचारीबीचको किचलो गृहमन्त्रीले मिलाए

काठमाडौं : प्रहरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमनका कर्मचारीबीचको किचलो तत्कालका लागि साम्य भएको छ । प्रहरीले विभिन्न बहानामा दु:ख दिने नियतले अनुसन्धानअघि बढाएको भन्दै त्रिअवि अध्यागमनका कर्मचारीहरूले बुधबार झण्डैं डेढ घण्टा काममा अवरोध गरेका थिए ।

भिजिट भिसामा भइरहेको सेटिङका बारेमा प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले भिजिट भिसामा सेटिङ गर्ने एकजना अध्यागमन अधिकृतलाई पक्राउ गरिसकेको छ । सोही आधारमा प्रहरीले अन्य अधिकृतमाथि समेत अनुसन्धान अघि बढाएपछि अध्यागमनका कर्मचारीहरू आतंकित बनेका थिए ।
सामूहिकरुपमा बढाएको अनुसन्धान रोक्नुपर्ने भन्दै त्रिअवि अध्यागमनका कर्मचारीहरूले माग राख्दै आएका थिए । त्रिअवि अध्यागमनका एक उच्च अधिकारीले भिजिट भिसामा प्रस्थान अनुमति दिने कर्मचारीहरुको नामावली गोप्य रुपमा प्रहरीलाई उपलब्ध गराएपछि त्यहाँ किचलो सुरू भएको थियो ।

प्रहरीले गरेको सामूहिक अनुसन्धान नरोकिए अध्यागमनका काममा अवरोध गर्ने चेतावनी दिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै पक्षलाई राखेर छलफल गराएका हुन् ।

गृहमन्त्री श्रेष्ठले बिहीबार अपरान्ह प्रहरी र अध्यागन कर्मचारी राखेर छलफल गराएका थिए । छलफलमा गृहसचिव दिनेश भट्टराई,उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापा,अध्यागमन महानिर्देशक रुद्रसिंह तामाङ, त्रिअवि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाललगायतको उपस्थित थियो ।

छलफलमा गृहमन्त्रीले गल्ती गर्ने जोकोहीलाई कारवाही गर्नू तर, गल्ती नगर्ने व्यक्तिलाई लक्षित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । विमानस्थल प्रवेश गर्दा प्रहरीले यात्रुको राहदानी जाँच गर्दै आएको थियो। त्यसलाई पनि गृहमन्त्री श्रेष्ठले रोकेका छन् ।

सुरक्षाको दृष्टिकोणले मात्र प्रहरीले यात्रुको राहदानीलगायतका कागजात जाँच गर्न पाउँछन् । भिसा जाँच गर्ने अधिकार अध्यागमनका अधिकारीसँग मात्र हुने भएकाले प्रहरीलाई सुरक्षामा मात्र केन्द्रित हुन गृहमन्त्रालयले निर्देशन दिएको छ ।

अध्यागनका अधिकारीहरुले प्रहरीले राहदानी जाँच गर्न नपाउने भनेपछि गृहमन्त्री श्रेष्ठले प्रहरीलाई अब उप्रान्त भिसा जाँच नगर्न निर्देशन दिएको स्रोतले बताएको छ । अध्यागमन विभागका महानिर्देशक तामाङले त्रिअवि अध्यागमनमा देखिएको समस्या समाधान भइसकेको बताए । के भएर कुरा मिल्यो त ? भन्ने प्रश्नमा महानिर्देशक तामाङले त्यसबारे भन्न नमिल्ने भन्दै पन्छिए ।

गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले सुशासन कायम गर्न प्रहरी र अध्यागमनका कर्मचारीहरुलाई समन्वयात्मक रुपले काम गर्न निर्देशन दिएको बताए । प्रवक्ता भट्टराईले अन्नपूर्णसँग भने,‘गल्ती गर्नेलाई प्रहरीले कारवाही गर्ने तर,गल्ती नगर्ने अध्यागमनका अधिकारीलाई सोही रुपले व्यवहार गर्न प्रहरीलाई भनेका छौं । त्यस्तो लिखित सहमति नै गर्नुपर्ने केही थिएन,समन्वय गरेर काम गर्न निर्देशन दिएका छौं।'

अध्यागमन अधिकृतको अवरोधका कारण बुधबार झण्डैं डेढ घण्टा यात्रुहरुले प्रस्थान र आगमन अनुमति पाएनन् । सोही कारणले यात्रुहरूले केही मर्का व्यहोर्नु परेको थियो भने केही जहाजहरु ढिला गरि उडेका थिए।

Published on: 8 January 2024 | Annapurna Post

Link

Back to list

;