s

प्रहरी नै मिलेर महिला तस्करी

जेट एयरवेजको विमान उड्नै लाग्दा शुक्रबार बिहान काठमाडौ विमानस्थलको धावनमार्गमा एक प्रहरी जवान हतारिँदै आए । एयरवेजका कर्मचारीलाई सामान छुटेको भन्दै बन्द खाम जिम्मा लगाएर फर्किए । विमानका कर्मचारीले शंका लागेर खाम खोलेर हेरे । खामभित्र कुवेत र इराकको भिसा लागेका चारवटा राहदानी थिए ।

प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले दिएको खामभित्र एक युवतीको राहदानीमा कुवेत र तीन युवतीकोमा इराकको भिसा लागेको थियो । जेट एयरका कर्मचारीले प्रहरीलाई खबर गरेपछि विमानमा चढेका ४ महिलासहित उनीहरूलाई दिल्लीसम्म पुर्या्उन जान लागेका ४ आफन्तलाई प्रहरीले विमानबाटै नियन्त्रणमा लियो । सोधपुछ गर्दा ती युवतीलाई कुवेत र इराक पठाउने दलालले एक्लै जाँदा प्रहरीले रोक्ने भन्दै आफन्तको साथ लगाएर दिल्ली पठाउन लागेको खुलेको छ । इराक नेपाली कामदार पठाउन प्रतिबन्धित मुलुक हो ।

विदेश जान लागेका महिलाका आफन्तले आफूहरूलाई दलाले दिल्लीसम्म पुर्याहएर फर्किन लगाएको प्रहरीलाई बयान दिएका छन् । यसरी विदेशिन लागेका महिलाहरू नुवाकोट, सिन्धुपाल्चोक, तनहुँका छन् । दलालले प्रहरीलाई झुक्याउन दिल्लीसम्मका लागि बुवा, मामा, काका र दाजुलाई साथै पठाएका थिए । ‘आफन्तसँग पठाउँदा प्रहरीले शंका नगर्ने भएकाले नयाँ तरिका अपनाएका हुन्,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नायब महानिरीक्षक हेमन्त मल्लले भने ।

ब्युरोले तिनीहरूलाई विदेश पठाउने म्यानपावर कम्पनी र दलालको खोजी गरिरहेको जनाएको छ । यस गिरोहलाई पक्राउ गर्न सके विमानस्थलमा हुने सेटिङ खुल्ने अनुसन्धानमा संलग्न अधिकारीले अनुमान गरेका छन् । दलालसँग मिलेर राहदानी र टिकटलगायत कागजपत्र विमानसम्म पुर्याुउने प्रहरी जवान घिमिरेलाई पनि नियन्त्रणमा लिइएको छ । उनले दलालले दिएको राहदानीमा अध्यागमनको छापसमेत आपैंmले सुटुक्क लगाइदिएका थिए । ‘अध्यागमनका कर्मचारीले सोधपुछ गरेर जान नदिने भएपछि नागरिकताको भरमा उनीहरूलाई दिल्ली पठाएर राहदानीमा छाप लगाइएको हो,’ अनुसन्धानमा संलग्न अधिकारीले भने, ‘ठूलै गिरोहको अनुमान छ ।’

जवान घिमिरेले सामान छुटेको भन्दै कसैले पुर्या्इदिन अनुरोध गरेकाले लगिदिएकोमात्र दाबी गरेका छन् । उनको शरीर खानतलासी गर्दा प्रहरीले २३ हजार रुपैयाँ फेला पारेको छ । उनको साथमा रहेका हजार दरका नयाँ नोटबारे प्रहरीले सोध्दा दसैंको पेस्कीमा पाएको रकम आफूले राखेको बयान दिएका छन् ।

भूकम्पपीडित महिला तथा बालबालिकाको तस्करी भइरहेको आशंका आइरहेका बेला प्रहरीकै संलग्नतामा आफन्तलाई प्रयोग गरेर तस्करी गराउनु ठूलो चुनौती भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

Published on: 21 June 2015 | Kantipur
 

Back to list

;