s

प्रहरी अधिकृतहरू भन्छन्- आफन्तको संलग्नताले बेचबिखन अपराध रोक्न समस्या

अमृता अनमोल

बुटवल — रोजगारीका नाममा अवैध ओसारपसार गराउने र बेचबिखन गर्ने क्रम लुम्बिनी प्रदेशमा बढ्दै गएको छ । अन्यत्रका महिलासमेत यहाँको बाटो हुँदै भारतीय सहरमा लैजाने र अलपत्र पार्ने क्रम भइरहेको छ । धेरै पैसा कमाउने लोभ देखाएर विदेश लैजाने नाममा अलपत्र पर्ने क्रम बढेको प्रहरी अनुसन्धानमा देखाइएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो पछिल्लो ५ वर्षमा १ सय १५ वटा बेचबिखनविरुद्धका मुद्दा दर्ता भएका छन् ।

तर, प्रहरी अधिकृतहरूले भने बेचबिखन तथा ओसारपसारमा आफन्तको संलग्नता हुने भएकाले यस्तो अपराध रोक्न समस्या भएको बताए । कतिपय घटनामा पीडितले दलाल नबताउँदा प्रमाण जुटाउन र मुद्दा प्रक्रियामा लैजान नसकेको जानकारी दिए ।

लुम्बिनी प्रदेशका प्रहरी अधिकारीहरूका लागि मानव अधिकारका लागि जनमञ्चले रुपन्देहीमा आयोजना गरेको मानव बेचबिखन कानुनसम्बन्धी तालिममा सहभागी प्रहरी अधिकृतहरूले बेचबिखनमा परेका पीडितको पहिचान, पुनःस्थापना र पीडकको खोजतलासमा कानुनी र व्यावहारिक कार्यान्वयनलाई जोड्न आवश्यक रहेको बताए ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले अवैध ओसारपसार र बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम बढाए पनि कार्यक्रमको तुलनामा बेचबिखनका घटना कम नभएको बताए । एकातिर मानव तस्कर र अर्कोतिर गरिबी, विपन्नता र हिंसाले महिलाहरू बेचबिखनको जोखिममा परेको उनले जनाए । यस्तो जोखिम कम गर्न जोखिम समूह पहिचान गरी उनीहरूलाई आत्मनिर्भर हुने रोजगारी र कानुनी चेतनाका कार्यक्रम ल्याउन उनले सुझाए ।

आप्रवासन विज्ञ सोम लुइँटेलले दलालले बेचबिखनका नयाँ विधि र प्रक्रिया अपनाउँदा रोकथाममा असफल हुने गरेको बताए । वैदेशिक रोजगारी वा आन्तरिक रुपमा बेचबिखनका घटना मौलाउँदै गएको बताउँदै उनले मानव तस्कर रोक्न राज्यसंयन्त्रबाटै कानुनको पूर्ण पालना आवश्यक रहेको जनाए ।

मानव अधिकारका लागि जनमञ्चका उपाध्यक्ष कृष्णप्रसाद न्यौपानेले दलालले धेरै नै आश्वासन दिने र पीडितले आफूले नभोग्दासम्म पीडा महसुस नगर्ने गरेकाले बेचबिखनको जोखिम कम हुन नसकेको बताए । यस्तोमा सीमा क्षेत्रमा प्रहरीको निगरानी र परामर्श प्रभावकारी हुनसक्ने उनले बताए ।

Published on: 25 April 2023 | Kantipur

Link

Back to list

;