s

प्रधानमन्त्रीको निर्देशन- विदेशबाट आएका नेपालीले दुईवटा मोबाइल ल्याए छोडिदिनू

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विदेशबाट आउने नेपालीले दुईवटा मोबाइल ल्याउँदा कानुनी जटिलता भए फुकाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री प्रचण्डले रोजगारीका सिलसिलामा विदेश गएका नेपाली फर्किँदा आफूसँग दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन निर्देशन दिएका हुन्।

सोमबार अन्नपूर्ण पोस्टले अमेरिकाबाट फर्किएका एक यात्रुले ल्याएको आइफोन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले जफत गरेकोबारे समाचार प्रकाशित गरेको थियो।

सोही विषयमा जनस्तरबाट चासो र गुनासो आएपछि प्रधानमन्त्री प्रचण्डले चासो दिएको उनको सचिवालयले जनाएको छ।

व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार झमेला भएपछि प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल यो विषयमा आवश्यक कारबाही अघि बढाउन समेत निर्देशन दिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वनमा रोक लगाए पनि विदेशबाट आउने नेपालीहरुले विमानस्थलस्थित भन्सार कार्यालयमा झमेला व्यहोर्नु परेको छ।

सोमबार यस्तै झमेलामा परे अमेरिकाबाट आएका झापाका दुधलाल नेम्वाङ। नेम्वाङले ल्याएको आइफोनको भन्सार लाग्ने भन्दै त्रिअवि भन्सार कार्यालयका कर्मचारीले जफत गरिदिएका थिए। नेम्वाङले आफूले प्रयोग गरिरहेको बाहेक अमेरिकाबाट एउटा आइफोन ल्याएका थिए। 'भन्सार लाग्छ भनेर फोन कर्मचारीले राखेका छन् । प्रधानमन्त्रीज्यूले तत्काल एमडीएमएस प्रणाली लागू नगर्न निर्देशन दिएपछि आइफोन लिएर आएको हुँ । झमेलामा पो परेँ,'अन्नपूर्णपोस्टसँग उनले गुनासो गरेका थिए। यसअघि प्रधानमन्त्री प्रचण्डले विदेशबाट आएका मोबाइलमा कडाइ नगर्न निर्देशन दिएका थिए।

Published on: 4 January 2023 | Annapurna Post

Link

Back to list

;