s

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पाँच लाख ८२ हजारलाई औसत १३ देखि ७६ दिनको काम

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विभिन्न चार आर्थिक वर्षमा पाँच लाख ८२ हजार ९८० जनाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयका सहसचिव एवम् प्रधानमन्त्री रोजगार कार्यक्रममा राष्ट्रिय कार्यक्रम निर्देशक डण्डुराज घिमिरेले उनीहरूले औसत १३ देखि ७६ दिनसम्मको रोजगारी पाएको बताएका हुन्।

मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा एक लाख ७२ हजार दुई सय ७० जनाले औसत १३ दिनको रोजगारी पाएका छन्। आव २०७६/०७७ मा एक लाख पाँच हजार छ सय २६ जनाले औसत १६ दिनको रोजगारी पाएका छन्। त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा एक लाख ८१ हजार ९१ जनाले औसत ७६ दिनको रोजगारी पाएका छन्।

चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्म प्राप्त तथ्यांकअनुसार एक लाख २३ हजार ९९३ जनाले औसत ७२ दिनको रोजगारी पाएका छन्। सबै स्थानीय तहबाट तथ्यांक नआइसकेकाले रोजगारी प्राप्त गर्ने व्यक्तिको संख्या र र उनीहरूले प्राप्त गर्ने औसत रोजगारीको दिन बढ्ने सरकारको विश्वास राखेको छ।

यस वर्ष रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार संयोजक र प्रविधि सहायकको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको समेत निर्देशक डण्डुराजले जानकारी दिए। त्यस्तै, सूचीकृत बेरोजगारका लागि प्रदान गरिने कार्यस्थल र जीवन उपयोगी तालिम प्रदान गर्न पाठ्यक्रम मोड्यु लसमेत तयार गरिएको छ।

स्थानीय रणनीतिको नमूना तयारका लागि परामर्शदातासँग सम्झौता गरिएको उनले बताए यसमार्फत कु्न स्थानीय तहमा कस्तो खालको जनशक्ति आबश्यकता छ सो अध्ययन गरी सीप विकास गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको योजना भएको राष्ट्रिय कार्यक्रम निर्देशक घिमिरेले बताए।

सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि लागू गरेको यो कार्यक्रममार्फत न्यूनतम रोजगारी दिन नसकेका सूचीकृत बेरोजगार युवाहरूलाई निर्वाह भत्ता दिने प्रावधान छ। तर सरकारले यस्तो भत्ता नदिने घिमिरेले बताए।

‘यस्तो भत्ताले जनशक्तिलाई निस्क्रिय बनाउन सक्छ। त्यसले गर्दा भत्ता नदिने भन्ने हाम्रो सोच हो,’ उनले भने। मन्त्रालयका सचिव एकनारायण अर्यालले सरकारले यो कार्यक्रमलाई प्रभावकारी र उपलब्धिमुलक बनाउँदै लगेको दाबी गरे।

Published on: 21 June 2022 | Setopati

Link

Back to list

;