s

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गोरखामा २५ सयलाई जागिर

विकास मरहट्टा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जिल्लामा २५ सय २० जनाले रोजगार पाएका छन् । अदक्ष कामदारको रुपमा छनोट भएका उनीहरुलाई दैनिक पाँचदेखि सात सयसम्म ज्याला उपलब्ध गराइएको छ ।

‘केन्द्र सरकारको निर्देशिका अनुसार अदक्ष कामदारलाई दिनको पाँच सय १७ रुपैया ज्याला दिने प्रावधान छ,’ सिरानचोक गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक उत्तम वस्तीले भने, ‘तर स्थानीय निकाय आफैले निर्देशिका बनाएर सात सय सम्म दिन मिल्छ ।’

कतिपय स्थानीय तहले केन्द्रको निर्देशिकाअनुसार ज्याला दिएका छन् भने कतिपयले स्थानीय तह आफैले निर्देशिका बनाएर ज्याला दिएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत जिल्लामा कुल तीन करोड २४ लाख रुपैयाँ आएको थियो ।

कुन स्थानीय तहमा के काम भए ?

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत केही स्थानीय तहमा राम्रै काम भए पनि अधिकांशमा सामान्य काममा रकम खर्च भएको छ । गोरखा नगरपालिकामा सबैभन्दा बढी ४९ लाख रुपैयँ आएको थियो ।

नगरपालिकाले अधिकांश ठाउँमा झार उखेल्ने र नाला सफा गर्ने योजनामा रकम सकेको छ । केही कच्चीबाटो मर्मतसम्भारसमेत भएको नगरपालिकाकी कार्यक्रम संयोजक गीता बस्नेतले बताइन् । नगरपालिकामा कुल २५२ जनाले रोजगार पाएको उनले जानकारी दिइन् ।

४० लाख रकम विनियोजन भएको पालुङटार नगरपालिकाले अधिकांश ठाउँमा गोरेटो बाटो निर्माण गरेको छ । केही वडामा खानेपानीको पाइपलाइन बिछ्याउने र नाली खन्ने काम गरिएको कार्यक्रम संयोजक विवेककुमार पण्डितले बताए । नगरपालिकाले केही ठाउँमा झार उखेल्ने कामसमेत लगाएको थियो । कुल ३ सय ९७ जनाले रोजगार पाएको पण्डितले जानकारी दिए ।

२८ लाख रुपैयाँ पाएको भीमसेन थापा गाउँपालिकाले बिभिन्न १९ वटा योजनामा खर्च गरेको छ । खानेपानी पाइपलाइन बिछ्याउने, नाली खन्ने, चौतारा मर्मत सँगै गोरेटो बाटो निर्माणको काम भएको कार्यक्रम संयोजक जीवन पौडेलले बताए । यहाँ २५२ जनाले रोजगारी पाएको उनले बताए ।

अजिरकोट गाउँपालिकामा आएको २३ लाख बजेटले २१ योजनामा काम भएको कार्यक्रम संयोजक प्रकाश वस्नेतले बताए । ‘सबैभन्दा बढी सिञ्चाइ तथा कुलो मर्मतको काम भयो,’ उनले भने, ‘गोरेटो बाटो पनि मर्मत भएका छन् ।’ यहाँ १ सय ९९ जनाले रोजगारी पाएका थिए ।

सिरानचोक गाउँपालिकामा सडकको नाला खन्ने, गोरेटो बाटो मर्मत गर्ने काम भएका छन् । ‘२९ लाख बजेट आएको थियो, जौवारी लाङ्दी काठेपुल पनि मर्मत गर्‍यौ‌ं, हिमाली माविको खेलमैदान पनि बनायौ, पुरानो हुलाक घरलाई पनि मर्मत ग¥यौ,’ कार्यक्रम संयोजक उत्तम वस्तीले भने । तीन सय जनाले रोजगार पाएको उनले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बारपाक सुलिकोट गाउँपालिकामा अधिकांश गोरेटो बाटो निर्माण भएका छन् । सार्वजनिक शौचालय र गोरेटो बाटो निर्माण भएको कार्यक्रम संयोजक पार्वती पाठकले बताइन् । कुल तीन सय जनाले रोजगार पाएको उनले बताइन् ।

२८ लाख विनियोजन भएको आरुघाट गाउँपालिकाले १६ वटा परम्परागत चौतारा निर्माण गरेको छ । सँगै तीन वटा गोरेटो बाटोसमेत निर्माण गरिएको कार्यक्रम संयोजक महेश खत्रीले बताए । दुई सय ५२ जनाले रोजगार पाएको उनले जानकारी दिए ।

शहीद लखन गाउँपालिकामा ३१ लाख बजेट निकासा भएको थियो । २९ वटा योजनामा काम भएका छन् । ४ सय २५ जनाले रोजगार पाएको कार्यक्रम संयोजक रुपक श्रेष्ठले बताए । गोरेटो बाटो, नाली खन्ने तथा सडक मर्मतको काम भएको उनले जानकारी दिए ।

२८ लाख रकम आएको गण्डकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गोरेटो बाटो र नाला निर्माण भएको छ । एक सय ४३ जनालाइ रोजगार उपलब्ध गराइएको कार्यक्रम संयोजक प्रकाश श्रेष्ठले बताए ।

दुई स्थानीय तहले कार्यक्रम सञ्चालन गरेनन्

गोरखाको चुमनुव्री र धार्चे गाउँपालिकाले यस बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेनन् । कार्यक्रमका लागी चुमनुव्री गाउँपालिकामा १८ लाख र धार्चे गाउँपालिकामा २१ लाख रुपैयाँ रकम आएको थियो । ‘रोजगार संयोजक नै आउनुभएन, फेरि कर्मचारी पनि कम, त्यसैले यो बर्ष कार्यक्रम संचालन गर्न सकेनौ, अर्काे बर्षबाट सञ्चालन गर्नेछौ,’ चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले भने ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेले संयोजक अभावमा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । ‘असार मसान्तको बेला पनि प¥यो, फेरि कर्मचारी अभाव पनि अनि संयोजक पनि आएनन् त्यसैले कार्यक्रम लागू गर्न नसकिएको हो,’ उनले भने ।

Published on: 11 July 2019 | Onlinekhabar

Back to list

;