s

प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वरूप फेरियो, पहिलो वर्ष १३ स्थानीय तहमा परीक्षण गरिने

मुना कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १३ वटा स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ मोडल परीक्षण गर्ने भएको छ । पाइलट प्रोजेक्टका रूपमा छनोट भएका स्थानीय तहमा आगामी आर्थिक ०७९÷८० देखि नयाँ मोडलअनुसार काम हुनेछ । बेरोजगारलाई न्यूनतम वार्षिक सय दिनको रोजगारी दिने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात भएको हो । तर, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेपछि नयाँ मोडल प्रयोग गर्न थालिएको हो ।

छनोट भएका १३ स्थानीय तह

मन्त्रालयले विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, वीरगन्ज महानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, ललितपुर महानगरपालिका, पोखरा महानगरपालिका, हेटौँडा महानगरपालिका, बुटवल उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, वीरेन्द्रनगर उपमहानगरपालिका र धनगढी उपमहानगरपालिकालाई छनोट गरेको छ ।नयाँ मोडल परीक्षणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका केही परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख एवं प्रवक्ता डण्डुराज घिमिरेले बताए । छनोट भएका स्थानीय तहका लागि बजेट पनि बढी छुट्याइएको छ ।

सबै सेवा एउटै बिन्दुबाट

प्रधानमन्त्री रोजगार कार्यक्रमको नयाँ मोडलअनुसार बेरोजगार युवाले सबै खालको सेवा एकै बिन्दुबाट प्राप्त गर्नेछन् । युवालाई सय दिनको रोजगारी मात्रै होइन, परामर्शदेखि स्वरोजगारीका लागि अनुदान र व्यापारिक रणनीति बनाउनसमेत कार्यक्रमले सहयोग गर्नेछ । त्यस्तै, सरकारले सम्बन्धित तहका विभिन्न क्षेत्रमा आवश्यक रोजगारको संख्या संकलन गर्नेछ भने बेरोजगारलाई कार्यस्थलमा नै रोजगारीसम्बन्धी तालिम पनि दिनेछ ।

मन्त्रालयले परीक्षणका लागि छानिएको मोडल रोजगार सेवा केन्द्रमा आइपुग्ने सबै खालका व्यक्तिलाई रोजगार बनाउने योजना छ । जस्तै, कुनै बेरोजगार व्यक्ति रोजगार सेवा केन्द्रमा दर्ता हुन्छ भने उसलाई न्यूनतम रोजगारीको सुनिश्चितता र आन्तरिक रोजगारीको प्रवद्र्धन गरिनेछ । केन्द्रले रोजगार परामर्शका रूपमा पनि काम गर्नेछ । परामर्श आवश्यक पर्ने युवालाई आन्तरिक रोजगारीमा प्रवेशको वातावरण, व्यक्तिगत विवरणको तयारी, आवेदन दिने प्रक्रियामा सहजीकरणसमेत केन्द्रले गर्नेछ । त्यस्तै, कुनै व्यक्ति रोजगारी वा स्वरोजगारीको जानकारी लिन चाहन्छ भने उसलाई आन्तरिक रोजगारी र वैदेशिक रोजगारी तथा सुरक्षित आप्रवासको जानकारी दिइनेछ । यदि कुनै सीप भएको व्यक्ति केन्द्रमा पुग्छ भने उसलाई रोजगार विनिमय अर्थात् रोजगारदाता र बेरोजगारको सम्पर्क स्थापना गराइनेछ ।

त्यस्तै, नयाँ मोडेलअनुसार रोजगार सेवा केन्द्रले सीप तथा क्षमता विकास–जानकारी दिने कामसमेत गर्नेछ । व्यक्तिलाई आवश्यकताअनुसार रोजगारीका लागि आवश्यक सीप तथा क्षमताको जानकारी उपलब्ध गराइनेछ । साथै, केन्द्रले श्रम बजारको माग र आपूर्तिसमेत गर्नेछ । यसका लागि रोजगारीका लागि आवश्यक सीप तथा क्षमताको जानकारी तथा कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्नेछ । केन्द्रले उद्यमशीलताको जानकारी पनि दिनेछ भने सहुलियतपूर्ण कर्जाको जानकारी दिनुका साथै व्यापारिक योजना निर्माणमा सहजीकरण गर्नेछ ।

त्यस्तै, यो कार्यक्रमले रोजगारउन्मुख सीप विकास र रोजगारीमा पदस्थापना गर्ने नयाँ योजनाले अघि सारेको छ । यो योजनाअनुसार रोजगार आकांक्षी (बेरोजगार तथा अल्प रोजगार युवा)लाई सीधै रोजगारदाता र सरकारबीच त्रिपक्षीय सम्झौता गर्नेछ । सम्झौतापछि रोजगारदाताले नै कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्नेछ तथा रोजगारीमा पदस्थापना गर्नेछ । अथवा रोजगार आकांक्षीलाई रोजगार सेवा केन्द्रमा दर्ता गरिनेछ ।

छनोट भएको बेरोजगारको सूची तयार पार्नेछ र उनीहरूलाई निजी क्षेत्रको मागअनुसार आपूर्ति गरिनेछ । यसको विकल्पका रूपमा निजी क्षेत्रबाट श्रमिकको माग भएबमोजिम श्रमिकको छनोटसमेत गर्न सकिनेछ । अन्ततः कामदार, रोजगारदाता र सरकारबीच सम्झौता हुनेछ । सरकारले न्यूनतम एक सय दिनको रोजगारी नपाएका १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई रोजगारी प्रदान गर्ने गरी यो कार्यक्रम अघि सारेको हो । सो नसके ५० दिनको पारिश्रमिकबराबर निर्वाह भत्ता उपलब्ध गराउने बताइएको थियो । तर, कार्यक्रम सञ्चालनको चार वर्ष बितिसक्दा पनि राज्यले सबै बेरोजगार वर्गलाई न्यूनतम रोजगारी उपलब्ध गराउन सकेको छैन । न त न्यूनतम रोजगारी नपाएकाले बेरोजगार भत्ता नै पाएका छन् ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि हालसम्म २९ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छ । जसमध्ये १७ अर्ब १८ करोड २६ लाख खर्च भएको छ । सो अवधिमा करिब सात लाख बेरोजगारले रोजगारी पाएको दाबी गरेको छ । आर्थिक वर्ष ०७५/७६ का लागि सरकारले तीन अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको थियो ।

जसमध्ये दुई अर्ब ७७ करोड १८ लाख रुपैयाँ मात्र खर्च भएको थियो । सो वर्ष एक लाख ७२ हजार दुई सय ७० बेरोजगार युवाले औसत १३ दिनको रोजगारी दिएको थियो । आव ०७६/७७ मा सरकारले पाँच अर्ब एक करोड रुपैयाँ विनियोजन गरेर एक अर्ब ७८ करोड आठ लाख खर्च गरेको थियो । सो वर्ष कार्यक्रममार्फत एक लाख पाँच हजार ६ सय २६ बेरोजगार युवाले न्यूनतम रोजगारी पाएको श्रम मन्त्रालयको दाबी छ ।

त्यस्तै, आर्थिक वर्ष ०७७/७८ मा ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेर सात अर्ब ५२ करोड ८० लाख खर्च भएको छ । सो वर्ष एक लाख ८१ हजार ९१ जनाले रोजगारी पाएको मन्त्रालयले जनाएको छ । चालू आव ०७८/७९ का लागि सरकारले १२ अर्ब चार करोड रुपैयाँ विनियोजन गरेको छ । हालसम्म पाँच अर्ब १० करोड खर्च भएको र एक लाख २३ हजार नौ सय ९३ युवाहरूले रोजगारी पाइसकेको प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक एवं मन्त्रालयका प्रवक्ता घिमिरेले बताए ।

सरकारले यो कार्यक्रममा ‘युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजना’ नामक कार्यक्रममार्फत विश्व बैंकबाट करिब १४ अर्ब रुपैयाँबराबरको ऋण पनि खर्चिने सम्झौता गरिसकेको छ । यो रकमबाट विपन्न बेरोजगारलाई सीप तथा क्षमता अभिवृद्धिसँगै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य छ । सोहीअनुसार काम सुरु गरिसकेको मन्त्रालयको भनाइ छ । बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी देशभित्रै रोजगारीका अवसर सिर्जना गर्ने गरी ०७५ फागुन १ गते घोषणा गरिएको यो कार्यक्रम उपलब्धिमूलक बनाउने गरी सरकारले पुनः संरचनाको घोषणा गरेको राष्ट्रिय निर्देशक घिमिरेले बताए ।

Published on: 6 July 2022 | Naya Patrika

Link

Back to list

;