s

प्रधानमन्त्री रोजगार कार्यक्रम: टोल पनि बन्यो, टोलवासी पनि बने

साँघुरो कोठामा विगत ३५ वर्षदेखि डेरामा बस्दै आएकी भक्तपुर नगरपालिका वडा नं. ९ का स्थायी बासिन्दा सत्यलक्ष्मी प्रजापतिको दैनिकी अभावमा बितिरहेको छ।

विगत पाँच वर्ष अगाडि अचानक श्रीमान्को देहावसान पश्चात् जीवन झनै दयनीय बनेको थियो उनको। हाल दुई छोरी, एक छोरा र वृद्ध सासू आमाको सहारा बनेकी प्रजापति कामको खोजीमा कैयौँ ठाउँमा भौतारिरहिन्। तर पनि उनले काम पाउन सकेकी थिइनन्।

विगतमा स्थानीय एक सामुदायिक कलेजमा कार्यालय सहयोगीको रुपमा पाँच वर्ष सेवा गरिसकेकी प्रजापतिले कलेजमा सेवामा रहँदै गर्दा शारीरिक अस्वस्थताका कारण कामबाट हात धुनु परेको थियो।

सहयोगीको रुपमा काम गरुन्जेल बालबच्चा लालन पालन गर्न सहज भएको तर हाल कलेजले आफू निको भएर काममा फर्किन चाहेको कुरा राख्दा काममा नराखेको गुनासो उनले गरिन्।

यत्तिकैमा उनको आँखा रसायो र भनिन्, ‘हुनेलाई दैवले पनि हेर्छ, नहुनेलाई कसैले पनि नहेर्ने रहेछ।

अहिले उनको गुजारा काम पाएको दिन ज्यालाबाटै घर खर्च चल्छ। तर, काम नपाएको दिन भने छाक टार्नै अहिले पनि समस्या हुन्छ उनलाई। न उनको परिवारसँग खेती गर्ने जमिन छ, न त निरन्तर आम्दानीको अन्य कुनै स्रोत नै। बेलाबेला काम पाए पनि निरन्तर कमाइ हुँदैनथ्यो उनको। यही चिन्ताले बिरामी बनाइरहन्छ उनलाई।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्राप्त ज्याला रकम श्रीमान् हुँदा देखिको विभिन्न सहकारी संघ–संस्थाबाट लिइराखेको सानो ऋण आंशिक रुपमा भुक्तानी गर्न सफल भएकी छु, थोरै आनन्दको श्वास फेर्दै उनले भनिन्।

बाँकी रकम आफू पनि ग्यास्ट्रिक रोगको सिकार भएकोले नियमित औषधी सेवन, घर खर्च र छोराछोरीको लालन पालनमै खर्च हुने उनले बताइन्। यही कारण यस किसिमको सामाजिक तथा आर्थिक पक्ष सबल बनाउने कार्यक्रमलाई निरन्तरता दिइरहनुपर्ने आवश्यकता उनी औँल्याउँछिन्।

सत्यलक्ष्मी प्रजापतिको गहिरो कुरा सुनिरहेका अर्का कामदार कृष्णलक्ष्मी गोसाईंले आफ्नो पाखुरामा भएको बल टोलकै विकासमा खर्च गर्न पाउँदा ज्यादै खुशी लागेको कुरा थपिन्। अझ उनले अगाडि भनिन्, हाम्रै मेहनतले हामी आफैले पिउने पानी ट्याङ्की क्षेत्रमा सोचे भन्दा राम्रो र सफा भएको छ। हामीले यो नाली खोल्न परिश्रम नगरेको भए वर्षामा पानी जमेर सडक दुर्गन्धित हुने थियो होला। टोलको विकाससँगै हामीले रोजगार पनि पायौँ।

वडा समितिले आफूहरुलाई अत्यावश्यक सामान उपलब्ध नगराउँदा चाहेको जस्तै काम गर्न नसकेको उनीहरुको भनाई छ। पिक, गाडा उपलब्ध नगराएको गुनासो पोख्ने क्रममा उनीहरुले भने, आवश्यक सामग्रीहरु उपलब्ध भएमा र हामीलाई सीपमूलक तालिम भए अझ प्रभावकारी ढंगले काम गर्न सक्नेमा हामी विश्वस्त छौं । त्यहाँ काम गर्दै गरेका कामदारहरु सबैले हो मा हो थपे।

देशकै नमुना नगरपालिका भक्तपुर नगरपालिका विकासको राम्रो सम्भावना र आफ्नो छुट्टै पहिचान बनाएको पालिका हो। यहाँका जनप्रतिनिधि, सचेत नागरिक, उत्प्रेरित नगरवासी जागरूक कामदार दरिलो अनि दिगो विकासको स्रोतको रुपमा रहेका छन्।

भक्तपुर जीवित संग्रहालयको रुपमा पनि परिचित छ। यसलाई अझ जीवन्तता दिन रोजगार कार्यक्रमका श्रमिकहरुका कारण थप मद्दत पुगेको महसुस गरेको छु। अर्का स्थानीय जनप्रतिनिधि राम सुन्दर बासी यसमा शतप्रतिशत सहमति जनाउँछन्।

रोजगार सेवा केन्द्र भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारी रामप्रसाद बोहजूका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष भक्तपुर नगरपालिकामा विभिन्न योजनाहरु सम्पन्न भइसकेका छन्। केही योजनाहरु सम्पन्न हुने क्रममा छन्। यी योजनाले नगरकै करिब ५१ जनालाई कुल पाँच हजार एक सय दिन रोजगारी उपलब्ध गराए बापत ज्याला र कार्यक्रम खर्चबापत ४१ लाख रुपैयाँ खर्च गरेको उनले जनाए।

अधिकांश योजनाहरु सरसफाई तथा सम्पदा संरक्षणमै केन्द्रित छन्। यसबाट जीवित संग्रहालयलाई थप जीवन्तता दिन सहयोग पुगेको छ भने रोजगार कार्यक्रम गरिबको लागि गरिखाने कार्यक्रम बनेको छ।

'प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अब सरकारले पुनसंरचना गर्ने भएको छ। न्यूनतम रोजगार त छँदै छ, श्रम बजारमा आवश्यक भएअनुसार श्रम शक्ति विकास गर्नतर्फ कार्यक्रम केन्द्रित गर्ने योजना सरकारको हो।' उनले थपे।

'रोजगार सेवा केन्द्रबाट श्रम, सीप, उद्यमशीलता विकास लगायत सबै किसिमका सेवा प्रदान गर्न सक्ने गरी स्तरोन्नति गर्ने योजना सरकारको छ। यसै वर्षबाट वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिन स्थानीय तहको रोजगार सेवा केन्द्रबाट सुरु भएको छ', बोहजूले भने।

प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरुले कम्तीमा एक सय दिनको रोजगारी पाउने व्यवस्था रहेको छ। नगरमै बेरोजगार रहेकालाई विकास निर्माणको काममा लगाउने भएकोले यो कार्यक्रम भक्तपुरमा बिस्तारै लोकप्रिय बन्दै गएको छ।

स्थानीय नगरवासी लक्ष्मी सुन्दर लवजूका अनुसार गएको फाल्गुन महिनामा वडा कार्यालयमै उपलब्ध फारम भरेका थिए। त्यसपछि बेरोजगार प्राथमिकीकरण तथा कामको लागि छनौट श्रावणमा भएको थियो।

विगतमा काम गरिसकेका एक महिला कामदार समिता श्रेष्ठले ज्याला मजदुरी गर्दा समान कामका लागि महिला पुरुषको बीच समान ज्याला व्यवस्थाले आफूलाई थप उत्साहित गरेको बताइन्।

Published on: 21 June 2023 | Nagarik

Link

Back to list

;