s

प्रधानमन्त्री रोजगार कार्यक्रमको ज्याला रकम वितरण

मानदत्त रावल 

कनकासुन्दरी गाउँपालिका – ४ बस्ने ३६ वर्षीया जसी दमाईलाई गत वर्ष छोरी बिरामी भएपछि औषधि गर्न सापटी लिएको पैसा कसरी तिर्ने भन्ने चिन्ता थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमको विपन्न तथा बेरोजगार कामदारमा छनोट भएपछि त्यो पैसा अब सजिलै तिर्न सक्छु भन्ने आशा पलायो । ढुक्क भने थिइन्, तर वेलावेला उनलाई कतै ज्यालाबापतको रकम समयमै पाउँछु कि पाउँदिन ? भन्ने चिन्ताले पनि पिरोलिरहन्थ्यो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले काम सम्पन्न भएलगत्तै सबै कामदारलाई ज्याला वितरण गर्यो । उनले पनि आफूले पाउने ज्याला रकम बुझिन् अनि तत्काल छोरीको औषधि गर्न सापटी लिएको पैसा फिर्ता गरिन् । पैसा बाँकी नै छ, त्यो पैसा छोराछोरीको कापीकलम र घरको नुनतेलमा खर्च गर्ने उनले बताइन् ।

ज्यालाबापतको रकम बुझिसकेपछि कनकासुन्दरी गाउँपालिका– ४ बस्ने २४ वर्षीया जलसा सिकर्मीले पनि आफ्नो योजना सुनाइन्, ‘यो रकमले कुखुराको खोर बनाउन लगाउँछु र कति पैसा बच्छ त्यसबाट कुखुरापालन गर्छु । पैसा घरमा राख्यो भने सकिन्छ । त्यसैले छिट्टै कुखुरा व्यवसाय सुरु गर्छु ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको कनकासुन्दरी गाउँपालिकामा ३१ लाख बजेटमध्ये १ प्रतिशत कन्टिनेन्सी कटाएर बाँकी सम्पूर्ण रकम कामदारको ज्याला वितरण भएको छ । आठवटै वडामा श्रममूलक आयोजनामा ३ सय १२ जना कामदारले काम गरी रकम बुझेका छन् ।

विपन्न तथा बेरोजगारहरूलाई श्रममूलक आयोजनामा काम लगाएर सोबापत ज्याला रकम भुक्तानी गर्ने नीतिअनुरूप गाउँपालिकाले ८ वटै वडामा श्रममूलक योजनाहरूमा विनियोजित रकम प्रत्येक कामदारको हातैमा वितरण गरेको छ । गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र रोजगार संयोजकले अनुगमन गरी रोजगार संयोजक र प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा रकम वितरण भएको छ ।

हाटसिँजा काटेबाटोदेखि सेवा केन्द्र मन्जाउ जाने ग्रामीण सडक निर्माण योजना सम्पन्न भएपछि योजना स्थलमै कामदारहरूको ज्याला रकम वितरण गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटाले भने, ‘विकास निर्माणमा जनताको सहभागिता उल्लेख्य रहनुले जनताको विकासप्रतिको मोह प्रस्ट हुन्छ । यसले गर्दा जनताले आफ्नो विकास आफैँ गर्न पाएका छन् । श्रममार्फत गाउँको विकास गर्दै रोजगारी सिर्जनासमेत भएको छ ।’

प्रमुख प्रशासकीय अधिकृत गंगाराम सापकोटा भन्छन्, ‘कामदारको ज्याला रकम हिनामिना नहोस् भनेर प्रत्येक योजनाको रकम भुक्तानी गर्न म आफैँ र रोजगार संयोजकसमेत योजनास्थलमै पुगेका छौँ ।’ रकम वितरण गर्न पुगेका रोजगार संयोजक हंशराज न्यौपानेले भने, ‘हामीले सम्पूर्ण छनोट भएका कामदारलाई उनीहरूले पाउने ज्याला वितरण गरेका छौँ ।’

Published on: 24 July 2019 | Naya Patrika

Back to list

;