s

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट सडकमा नमुना सोलिङ

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत दोलखाको शैलुङ गाउँपालिका १ मा छनोटमा परेका युवाले सडकमा नमुना सोलिङ गरेका छन् । गाउँपालिकाले आह्वान गरेको सूचनाअनुसार आवेदन दिएका बेरोजगार युवाले वडा कार्यालयमार्फत आफ्नै गाउँको सडकमा नमुना सोलिङ गरेका हुन् । उनीहरूले वडा कार्यालयदेखि गाउँपालिका जोड्ने सडकखण्डको दूधपोखरीस्थित काटडोङ क्षेत्रमा १ सय ४३ मिटर सडकमा व्यवस्थित सोलिङ बनाएका छन् । वडा कार्यालयले जारी गरेको सूचनाअनुसार दूधपोखरी गाउँका ४४ जना युवाले रोजगार पाउँ भनी आवेदन दिएका थिए । ९ जना महिला र ३५ जना पुरुषले दिएको आवेदनमध्ये १८ जनाले पूर्वाधार विकासको काम गर्ने इच्छा जाहेर गरेका थिए भने बाँकीले कृषि र जीविकोपार्जन रोजेका थिए ।

शैलुङ गाउँपालिका १ का वडाध्यक्ष बिर्खबहादुर तामाङले पूर्वाधार विकासको शीर्षक रोजेका युवालाई गाउँनजिकैको सडकमा सोलिङ गर्न लगाइएको बताए । उनका अनुसार गाउँपालिकाले सबै वडामा सडक सोलिङको कामलाई अघि बढाउने जानकारी गराएसँगै उनीहरूलाई उक्त काम लगाइएको हो । अध्यक्ष तामाङले बाँकी आवेदकलाई अन्य कार्यक्रममार्फत सम्बोधन गरिने बताए ।

यस्तो छ नमुना सोलिङ

यसअघि ट्र्याक खुलिसकेको शैलुङ गाउँपालिका कार्यालयबाट वडा नं. १ को कार्यालयसम्म पुग्ने १५ किलोमिटर सडकखण्ड प्रदेश सरकारको सहयोगमा चालू आर्थिक वर्ष फराकिलो बनाइएको थियो । उक्त सडकखण्डमध्ये दूधपोखरी गाउँकै काटडोङ क्षेत्रमा बाटो थोरै अप्ठ्यारो थियो । सोही ठाउँमा वडा कार्यालयले छनोटमा परेका युवालाई सोलिङको जिम्मेवारी दिएको थियो ।

७ मिटरको चौडा भएको सडकमा उनीहरूले झन्डै साढे ४ मिटर चौडामा ढुंगा काटेर सोलिङ गरेका छन् । गाउँपालिकाले ९० मिटर सोलिङ गर्न स्टमेट गरिदिए पनि उनीहरूले १ सय ४४ मिटर सडकमा ९६ घनमिटर एकनासको आकर्षक सोलिङ गरेका छन् । उक्त काम सम्पन्न गर्न ४ सय ४३ जना लागेको बताइएको छ । उनीहरूमध्ये एक युवा साङ्बाबहादुर तामाङले आफ्नो गाउँ बनाउन युवा उसै पनि लाग्नुपर्ने बताउँदै रोजगार नै पाउने भएपछि नमुना ढंगले काम गरिएको सुनाए । उक्त कार्यक्रमको संयोजकसमेत रहेका उनले राज्यको लगानी हरेक ठाउँमा सही सदुपयोग हुनुपर्ने बताउँदै आफूहरूले त्यसको सुरुवात गरेको बताए ।

तीन लाख ६२ हजार बजेट

शैलुङ गाउँपालिकाले उक्त वडालाई ९० मिटर सडक सोलिङ गर्न भन्दै तीन लाख ६२ हजार बजेट विनियोजन गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुनारले आर्थिक वर्षको अन्तिम चरणमा मात्रै बजेटको अख्तियारी आएकाले काममा अनियमितता नहोस् भन्दै सबै वडामा मुख्य सडकखण्डको ९० मिटरमा सोलिङ गराउने निर्णय गरेको बताए । उनका अनुसार गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम गर्न प्राप्त भएको २९ लाख बजेट ८ वटै वडाहरूलाई बराबर विनियोजन गरिएको थियो ।

अधिकृत सुनारले अन्य वडाहरूमा पनि उक्त कार्यक्रमको सकारात्मक परिणाम आइरहेको जनाएका छन् । कार्यक्रममा सहभागी हुने युवाले दैनिक ७ सयका दरले पारिश्रमिक पाउने गाउँपालिकाका रोजगार संयोजक दीपक न्यौपानेले जानकारी दिए । संयोजक न्यौपानेका अनुसार शैलुङ गाउँपालिकामा आठ सय ९२ पुरुष र पाँच सय ८७ महिला गरी एक हजार ४ सय ७९ जनाले रोजगार पाउँ भनी आवेदन दिएका थिए । उनीहरूमध्ये पूर्वाधार विकासको काम रोजेका युवाले सडकमा सोलिङको काम पाएका हुन् । बाँकीलाई अर्को कार्यक्रममा सम्बोधन गर्दै जाने शैलुङ गाउँपालिकाले जनाएको छ ।

Published on: 4 July 2019 | Naya Patrika

Back to list

;