s

प्रधामन्त्री रोजगार कार्यक्रमः ३१० जनालाई १५ दिनको काम

डिबी बुढा

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत जुम्ला कनकासुन्दरी गाउँपालिकाका ३१० जनाले १५ दिनको काम पाएका छन्। यहाँ २ हजार १ सय ७८ जना बेरोजगारीको संख्यामा सूचीकृत भएका थिए।

चैत १२ गते बेर्नामा बीउ राखेर जेठ महिनाको मध्येबाट यहाँका स्थानीय बेरोजगार जस्तै हुन्छन्। के काम गर्ने कसरी घरखर्च चलाउने भन्ने चिन्ताले पिरोल्छ। रोपाईको समयमा आफ्नो जग्गा जमिन हुनेहरु आफ्नो रोपाईमा व्यस्त हुन्छन भने आफ्नो रोपाई गर्ने खेत नहुनेहरु अर्काकोमा दैनिक ज्यालदारीमा रोपाईमा जान्छन्। तर रोपाई सकिएपछि उनीहरु काम पाउँदैनन्।

कनकासुन्दरी गाउँपालिकाका रोजगार संयोजक हंसराज न्यौपाने यो पटक बिपन्न तथा बेरोजगार नागरिकहरु रोजगारीकै लागी भौंतारिनु पर्ने अवस्था नरहेको बताउँछन्। प्रधानमन्त्री रोजगार कार्यक्रम लागु भएपछि कनकासुन्दरी गाउँपालिकाका आठ वटै वडाका विपन्न नागरिकले काम पाएका छन्। कामदारले प्रतिदिन ६६० रुपैयाँ ज्यालादर तोकेर काममा लगाएको छ।

आठ वटै वडामा श्रममुलक परियोजनाहरु स्वीकृत गरि बेरोजगार व्यक्तिहरुलाई काममा लगाएको गाउँपालिकाले प्रत्येक परियोजनामा ३९ जना कामदार खटाएको छ। संयोजक न्यौपाने भन्छन्, ‘उनीहरु मध्येबाटै टोली नेता छनौट गरि दिनमा दुई पटक कामदारको हाजिरीलाई अनिवार्य गरेको छ।’आठ वटै वडाहरुमा संचालित आयोजनाहरुमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र रोजगार संयोजकले अनुगमन गर्दै आएका छन्। 

हातमा कोदालो बोकेर बाटो खन्दै गर्दा पसिनाले भिजेका परेली पुछ्दै गरेकी वडा नं. ३ कि पञ्चकली बुढा वर्ष ३४ ले भनिन्, ‘रोपाई सकिएपछि के काम गर्ने घरको नुन तेलको र बच्चाको कापीकलमको खर्च कसरी ब्यवस्था गर्ने भन्ने चिन्ताले पिरोलिरहेको थियो। यो रोजगारी पाएपछि निकै खुसी लाग्यो।१३ जनाको तीन समूह बनाएर काम गरिरहेका अधिकांश कामदारहरु गाउँमै रोजगारी पाएकोमा दंग देखिन्थे। गाउँमै रोजगारी सिर्जना भए आफूहरु विदेशिनु नपर्ने र नुन तेलकै लागि शहरमा भरिया हुन जान नपर्ने बताउँछन्।

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट थोरै बजेट आएको र बेरोजगार नागरिकहरु बढी भएकाले सबै बेरोजगारलाई समेट्न नसकिए पनि बेरोजगारहरु मध्येका विपन्न नागरिकहरु यस आर्थिक बर्षको योजनाहरुमा समेटिएको गाउँपालिका अध्यक्ष नरविर रावत बताउँछन्। उनी भन्छन्, ‘हामीले प्रत्येक योजनाको अनुगमन गर्ने गरेका छौं। जनताले पाउने पारिश्रमिकको सुनिश्चितता गरेका छौं। प्रधानमन्त्री रोजगारको बजेटले नपुग्ने अवस्थामा आगामी आर्थिक बर्षमा गाउँपालिकाका अन्य योजनामा पनि बेरोजगारहरुलाई काममा लगाउने छौं। म दावीमा साथ भन्छु दुई छाक टार्न अब कसैलाई अफ्ठेरो हुँदैन। त्यसको सुनिश्चितता गाउँपालिकाले गर्छ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतको वडा नं. ३ मा संचालित फुटाशिलादेखि गोठेलवाडा सम्म पदमार्ग निर्माण योजनाको शिलान्यास गर्न गाउँपालिका अध्यक्ष संगै पुगेका प्रमुख प्रशासकीय अधिकृत पनि जनताको बेरोजगारी समस्या कसरी हल गर्ने भन्ने कुरामा चिन्तित भएको बताएका थिए। उनले भने, ‘हामी सम्पूर्ण बेरोजगारहरुलाई कसरी रोजगारी सृजना गर्न सकिन्छ भनेर योजना बनाई रहेका छौं। गाउँपालिकाले संचालन गर्ने अन्य योजनाहरुमा समेत डोजरको परिचालन गर्ने कुरालाई निरुत्साहित गरिरहेका छौं। श्रममा आधारित योजनाहरुमा गाउँपालिकाको बजेट विनियोजन गर्ने नीति लिदैछौं।’ हामी जनताको सुखदुःखका साथी हौं। भोको पेट हाम्रो नागरिकलाई बस्न दिदैंनौ। बेरोजगारहरुले श्रमलाई सम्मान गर्नुपर्छ। गुणस्तरीय योजनाहरु निर्माण गर्नुपर्छ।’

Published on: 29 June 2019 | Nagarik

Back to list

;