s

प्रदेशबाटै श्रम स्वीकृति, युवालाई राहत

लक्ष्मण पोखरेल

बागलुङका वीरबहादुर माझीलाई मलेसिया जाने दिन नजिकिँदै गर्दा घर छाड्नेभन्दा श्रम स्वीकृति कसरी लिने भन्ने चिन्ता बढी थियो। काठमाडौंको कार्यालयमा ठेलमठेल गरेर पटक–पटक दुःख पाउदै श्रम स्वीकृति लिएको पीडाले सताउँथ्यो। तर, यसपटक बिदा सकेर फर्किने समय सहजै श्रमको काम सकिएपछि उनी दंग छन्। 

‘समाचार पढे, बुटवलबाटै श्रम स्वीकृति हुने भएपछि पहिलो दिन नै आएर काम सके, बुटवलको श्रम कार्यालयबाट स्टिकर टाँसेपछि उनले हर्षिद हुँदै भने। उनी काठमाडौं बाहिर पहिलोपटक प्रदेश ५ को बुटवलमा विस्तार गरिएको सेवा लिने पहिलो सेवाग्राही बने। विभागका निर्देशक दिलीपकुमार चापागाईंले उनलाई राहादानी थमाए। पहिलो सेवाग्राहीको सम्मान समेत पाए। उनीजस्तै १० जना युवाले पहिलो दिन नै बुटवलबाट सेवा लिएका छन्। केही कागजात अपुग भएर फिर्ता भए। काठमाडौंमा मात्रै सीमित रहेको वैदेशिक श्रम स्वीकृति दिने सेवा अब प्रदेश ५ को बुटवलसहित प्रदेश २ को जनकपुरबाट आइतबार नै सुरु भयो। एकपटक विदेश पुगेर बिदामा आएका फेरि जाँदा चाहिने श्रम स्वीकृति अब यी प्रदेशका कार्यालयबाटै हुनेछ।

‘सरकारले ढिलै भए पनि राम्रो काम ग¥यो, गुल्मीका जगन्नाथ भण्डारीले भने,‘काठमाडौं जाने आउने, बस्ने खाने अनि सास्ती पनि नपाइने भयो।’ उनी काठमाडौं जाने तयारी गर्दा गर्दा बुटवलबाट सेवा लिन पाए। कहिले प्लेन छुट्ने, कहिले रातभर लाइनमा बस्नुपर्ने यस्ता बाध्यता हटेको उनले बताए।

श्रम स्वीकृतिको सेवालाई विकेन्द्रीकरण गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत चैतमै श्रम स्वीकृति डेक्स खोल्ने निर्णय गरेको थियो। तर, कार्यान्वयनमा आउन भने केही ढिलो भएको छ। ‘प्रक्रिया मिलाउँदा मिलाउदै केही समय लागेको छ, अब सातै प्रदेशबाट सेवा प्रभाव हुनेछ’, विभागका निर्देशक चापागाईंले भने। यी कार्यालयबाट श्रम स्वीकृति, उजुरी लिने र उजुरी फस्र्छोटलगायत कामसमेत हुनेछन्। म्यानपावर कम्पनी, तालिम दिने संस्था तथा विदेश जाने कामदारलाई अन्य सहजताका सेवा प्रादेशिक कार्यालयबाटै प्रवाह गरिनेछ।

काठमाडौं बाहिरबाट श्रम स्वीकृति सुरु भएपछि सेवाग्राहीलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ। श्रम स्वीकृतिका लागि आवश्यक उपकरण र पूर्वाधार उपलब्ध भएपछि बुटवलबाट सेवा सुरु गरिएको हो। बुटवलमा शनिबार मात्रै कार्यालय व्यवस्थान गरिएको थियो। भाषा अनुवादक र कप्युटर अपरेटरसहित उपकरण ल्याइएको छ।

‘बुटवलबाट दैनिक दुई सय सेवाग्राहीले सेवा लिने अपेक्षा गरेका छौं’, श्रम कार्यालय बुटवलका प्रमुख उमेश शर्माले भने। प्रदेश–५ बाट दैनिक करिब तीन सय जना विदेश जाने गरेको तथ्यांक छ। बुटवल कार्यालयले प्रदेश– ५ सँगै प्रदेश ३ र गण्डकी प्रदेशका सेवाग्राहीलाई समेत सहज हुनेछ। पश्चिम नेपालका सेवाग्राहीले बुटवलबाटै सेवा लिन सक्नेछन्। पहिलोपटक विदेश जाने भने काठमाडौं नै पुग्नुपर्नेछ।

श्रम स्वीकृतिका लागि द्रुत गतिको इन्टरनेट, चार थान कम्प्युटर, स्टिकर प्रिन्टर, आखा स्क्यान मेसिन जडान गरिएको छ। एक जना कम्प्युटर अपरेटर र भाषा अनुवादक समेत कार्यालयमा थप भएका छन्।

नेपालले वैदेशिक रोजगारका लागि खुला गरेका एक सय १० राष्ट्रमध्ये सबैभन्दा बढी कतार र दोस्रोमा साउदी अरबबाट बिदामा धेरै युवा आउने गरेका छन्। काठमाडौं बाहिर स्वीकृति दिने व्यवस्था भएपछि यी युवाले सहजता पाउनेछन्। भैरहवामा विमानस्थल निर्माण सकिन साथ अन्तर्राष्ट्रिय उडान हुनासाथ वैदेशिक रोजगारमा जाने पश्चिम क्षेत्रका युवालाई काठमाडौं जानुपर्ने बाध्यता हट्नेछ।

Published: 31 December 2018 | Annapurna Post

Back to list

;