s

प्रदेश १ मा उद्योगहरूको औसत क्षमता उपयोग घट्यो, ५‍.९% ले गुमाए रोजगारी

काठमाडौँ — प्रदेश १ मा उद्योगहरूको औसत क्षमता उपयोग घटेको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ मा यस प्रदेशका उद्योगहरूको औसत क्षमता उपयोग ५२.६ प्रतिशत छ । २०७७/७८ मा ती उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।

विशेष गरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेन्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पलजस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा कमी आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । प्रदेश नम्बर १ का नमूना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत पाइएको छ ।

उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा यस अध्ययनमा समेटिएका ठूला ४२ उद्योगहरुमा कार्यरत ५.९ प्रतिशत श्रमिकले रोजगारी गुमाएका छन् ।

त्यस्तै २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा यस प्रदेशको कुल औद्योगिक कर्जा १६.५ प्रतिशतले घटेर १ खर्ब २१ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त कर्जा ११.५ प्रतिशतले बढेको थियो । विशेष गरी निर्माण, खानी र विद्युत् ग्यास तथा पानी उत्पादन गर्ने उद्योगमा प्रवाह भएको कर्जा घटेकाले समग्र औद्योगिक कर्जा घटेको अध्ययनले देखाएको छ । २०७९ असार मसान्तसम्म यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश २२.३ प्रतिशत छ ।

Published on: 6 December 2022 | Kantipur

Link

Back to list

;