s

प्रदेश १ मा मानव बेचबिखनका १४ घटना, १९ महिला पीडित

किशोर बुढाथोकी 

विराटनगर : प्रदेश १ मा चालु आर्थिक वर्ष २०७७/०७८ को हालसम्म मानव बेचबिखन एवं तस्करीका १४ वटा घटना भएको तथ्यांक नेपाल प्रहरीसँग रहेको छ। घटनामा १९ जना महिला पीडित भएको पाइएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार १९ जना पीडितमध्ये ११ जना १८ देखि ४० र आठ जना १८ वर्षसम्मका छन्।  प्रदेश १ मा भारतसँग खुला सीमा जोडिएका तराईका जिल्लामध्ये झापाबाट तीन, मोरङबाट सात र सुनसरीबाट नौ जना महिलालाई भारत पुर्‍याउने प्रयास भएको जानकारी एसपी श्रेष्ठले दिए। 

उनका अनुसार १४ घटनामा ३१ पुरुष र सात महिला गरेर ३८ जनाको संलग्नता पुष्टि भएको छ। तीमध्ये २७ पुरुष र छ जनालाई पक्राउ गरेर प्रहरीले अभियुक्तका रुपमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाइएको छ। घटनामा संलग्नमध्ये चार पुरुष र एक महिला फरार रहेका कारण खोजी भइरहेको श्रेष्ठले बताए। 

प्रदेश १ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले मावन बेचबिखन एवं तस्करीमा संलग्न गिरोहले आर्थिक अपार्जन गर्न सकिने लगायतका लोभ देखाउँदै नेपाली महिलालाई भारततिर लैजाने गरेको विभिन्न घटनाबाट पुष्टि भएको बताए। कुनै जागिरमा लगाइदिने, घुरफिर गराउने, बिहे गर्ने, पैसा कमाइ हुने काममा लगाइदिने लगायतका धेरै खाले प्रलोभन देखाएर महिलालाई भारत र तेस्रो मुलुकसम्म लैजाने गरिएको उनको भनाइ छ। 

मानव बेचबिखन गर्ने गिरोहलाई नेपालसँगको खुला सिमानाका कारण महिलालाई तत्कालै भारत लैजान सजिलो हुने गरेको प्रहरीको निस्कर्ष छ। डीआईजी कार्कीले भारततर्फ लैजानलाई गरिब एवं पारिवारिक आर्थिक अवस्था नाजुक भएका र पारिवारिकदेखि लिएर विभिन्न समस्याको चपेटामा परेका महिलाको खोजी गरेर गिरोहले आफ्नो विश्वासमा लिने गरेको बताए।

मानव तस्करी एवं बेचबिखन नियन्त्रण गर्न अन्य सुरक्षा निकाय र संघसंस्थाको समन्वय एवं सहकार्यमा प्रहरीले सीमा नाकामा कडाई गरिरहेको उनको भनाइ छ। विभिन्न जनचेतनामुलक अभियानमार्फत सबैलाई सचेत गराउन थालिएकाले पछिल्लो समय यस्ता अपराध कम हुँदै गएको जानकारी डीआईजी कार्कीले दिए।

सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गर्दै मानव ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले पनि महत्वपूर्ण भूमिका खेलिरहेको छ। सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालका अनुसार मानव तस्करी रोक्न सशस्त्रको उपस्थिति बढाउँदै सिमानामा निगरानी बढाएर उच्च सतर्कता अपनाइएको छ। अन्य सुरक्षा निकाय र सर्वसाधारणसँग समन्वय गर्दै मानव बेचबिखन तथा मानव तस्करीजस्ता मानवताविरुद्धका अन्तरदेशीय अपराध नियन्त्रणमा सशस्त्र सक्रिय रहेको जानकारी डीआईजी दाहालले दिए।

Published on: 1 April 2021 | Annapurna Post

Link

Back to list

;