s

प्रवासीलाई जन्मभूमि आउन देऊ

कोरोना महामारीको सामना गर्न मुस्किल परेर बिरामी हुने जोखिममा रहेका मानिस र संसारका सरकारहरू हैरान छन् । जहाँ रोग फैलिइसकेको छ, त्यहाँ पनि आतंक उस्तै छ । के गर्न हुने, के नहुने, कति दिन घरभित्र बस्ने, कहिले उत्पादनका काममा लाग्ने जस्ता समस्या मात्र होइन, शंका लागेका जति सबैको जाँच कसरी गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा कसरी गर्ने, सबैलाई खाना कसरी पु¥याउने, सिकिस्त बिरामीलाई कसरी बचाउने जस्ता चुनौती न्युयोर्कदेखि लन्डनसम्म, मिलानदेखि मनिलासम्म बढिरहेको छ ।

आवतजावत रोकिँदा र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पर्यटक मात्र होइन, खास कामका लागि विदेश पुगेकासमेत आफ्ना देशमा फर्कन पाएका छैनन् । नेपाल अहिले संक्रमण फैलिन नदिने अनेक उपाय अपनाउँदै छ । सरकारले केही पूर्वसावधानीका कदम चालेको छ । नागरिकले आफ्ना ठाउँबाट सरकारका कामको समर्थन गरिरहेका या स्वसचेतताका आधारमा आफूलाई जोगाउने उपाय अपनाइरहेका छन् । यो समस्या सरकार र नागरिक सबैको सामूहिक प्रयत्नबाट सामाधान गर्ने विषय हो । अझ समुदाय तहमा हुने तयारी र सावधानी यसको मुख्य हिस्सा हुन्छ । यसमा नेपाल तयार रहेको देखिएको छ ।

सरकार आफ्नै ढंगले त्रिभुवन विमानस्थलमा आइपुगेकालाई समेत विदेश फर्काउन अड्डी लिँदै छ, त्यसको साटो उनीहरूलाई सामूहिक रूपमा क्वारेन्टाइनमा लान सकिन्थ्यो ।

यही वेला विभिन्न कारणले बिदेसिएका नेपालीका भने समस्या थपिएका छन् । सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको मात्र छैन, विदेशमा भएका नेपालीलाई अहिले भएकै स्थान र अवस्थामा रोकिन अपिल गरेको छ । विभिन्न देशबाट महामारीको प्रभावका कारण नेपाल फर्कन चाहने नेपाली यसबाट ठूलो मारमा परेका छन् । यता भारतबाट नेपाल आउन चाहनेको ठूलो समूह नेपाली सीमाबाट भित्रिरहेको छ ।

यही वेला सरकारले आजदेखि लामो दूरीको यातायात सेवामा रोक लगाएर तिनलाई विपत्मा धकेलेको छ । खासगरी भारतमा पछिल्लो समय फैलँदो कोरोना संक्रमण, उत्पन्न त्रास एवं व्यापार तथा रोजगारी संकटमा परेर नेपाल आउन चाहने नेपालीलाई रोक्नु मानवीय दृष्टिले पनि न्यायसंगत हुँदैन । एकातिर उनीहरूलाई असरल्ल छाड्दा समुदायमै कोरोना संक्रमण हुने जोखिम हुन्छ । सीमामै उनीहरूको वैयक्तिक विवरण राख्ने, स्वास्थ्य जाँच गर्ने, उनीहरूको गन्तव्य पत्ता लगाउने र त्यहीँसम्म उनीहरूको अवस्थाको दैनिक अभिलेखीकरण गर्ने पद्धतिमा नजाने हो भने यो थप समस्याको कारण बन्न सक्छ । तर, यसको समाधान उनीहरूलाई रोक्नुचाहिँ हुन सक्दैन ।

सरकारले आफैँ पहल गरेर विदेशमा रहेका नेपालीलाई फर्काएर ल्याउन सम्भव छैन । तर, आउन चाहने र आफ्नै व्यवस्थापनमा नेपाल आएका या सीमामा पुगेका नेपालीलाई रोक्नु मानवअधिकार र राष्ट्रको जिम्मेवारीका दृष्टिले पनि उचित हुँदैन । मानवीय रूपमा पनि संकटको समयमा परिवारसँग आफ्नै घरमा बस्न पाउनु स्वाभाविक हो । तर, सरकार भने आफ्नै ढंगले त्रिभुवन विमानस्थलमा आइपुगेकालाई समेत विदेश फर्काउन अड्डी लिँदै छ । त्यसको साटो उनीहरूलाई सामूहिक रूपमा क्वारेन्टाइनमा लान सकिन्थ्यो ।

भारतबाट आउनेहरूका हकमा, जुन ठूलो संंख्यामा उनीहरू आइरहेका छन्, सबैलाई क्वारेन्टाइनमा राख्न सम्भव देखिन्न । बरु उनीहरूलाई सुरक्षित तरिकाले घरसम्म पु-याउने व्यवस्था मिलाउनु राज्यको दायित्व हो । यसका लागि सार्वजनिक सवारीका प्रचलित व्यवस्थालाई छलेर सशस्त्र प्रहरी या नेपाली सेनाको सहयोगमा सवारी चलाउने व्यवस्था मिलाउनु उचित हुनेछ । कुनै पनि दृष्टिले बाहिरबाट आउन चाहनेलाई रोक्नु न्यायसंगत हुँदैन ।

Published on: 23 March 2020 | Nayapatrika

Link

Back to list

;