s

प्रवासीको गाउँले मोह : गाँस काटेर सासमा लगानी

टोपलाल अर्याल

 

गुल्मेली समाज जापानले गुल्मीका गाउँगाउँका स्वास्थ्य संस्थाहरूमा अक्सिजन कन्सन्ट्रेटरसहितका महत्वपूर्ण उपकरण, स्वास्थ्य सुरक्षाका सामग्री र औषधि प्रदान गरेको छ । गुल्मेली समाज जापानले नेपाल पत्रकार महासंघ गुल्मीको ‘अक्सिजन प्लान्ट’ अभियानमार्फत अक्सिजन कन्सन्ट्रेटरसहितका महत्वपूर्ण उपकरण, स्वास्थ्य सुरक्षाका सामग्री र औषधि खरिद गरेको थियो । गुल्मेली समाज जापानबाट प्राप्त उपकरण, स्वास्थ्य सामग्री र औषधि सोमबार नेपाल पत्रकार महासंघले समन्वय गरेर प्रत्येक स्वास्थ्य संस्थामा वितरण गरेको छ ।

गुल्मेली समाज जापानले सत्यवती गाउँपालिका, मालिका गाउँपालिका, चन्द्रकोट गाउँपालिकाको मजुवा स्वास्थ्यचौकी, मुसिकोट नगरपालिकाको वामी अस्पताल र छत्रकोट गाउँपालिकाका श्रृगा प्राथमिक स्वास्थ्य केन्द्रको लागि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

त्यस्तै, कालीगण्डकी गाउँपालिका, गुल्मी अस्पताल, अर्लाङकोट स्वास्थ्यचौकी र कुर्घा स्वास्थ्यचौकीलाई पिपिई, माक्स, स्यानिटाइजर, ग्लोभ्स, अक्सिमिटर, थर्मोमिटर र औषधिलगायत गरेर ११ लाख ८९ हजार चार सय चार रुपैयाँका सामग्री प्रदान गरिएको गुल्मेली समाज जापानका अध्यक्ष शालिकराम भण्डारीले जानकारी दिए । उनले केही दिनमा इस्मा, धुर्कोट र मदाने गाउँपालिकालगायतका स्थानीय तहमा पनि आवश्यक स्वास्थ्य सामग्री प्रदान गर्ने बताए । ‘मागको आधारमा पहिलो चरणमा वितरण गरेका हौँ, सबै  एकैचोटि सम्भव नभएकाले समेट्दै छौँ,’ उनले भने, ‘समन्वय गरेर एकै दिन वितरण गर्ने महासंघप्रति आभारी छौँ ।’

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गुल्मेली समाज जापानबाट प्राप्त स्वास्थ्य सामग्री गुल्मी अस्पताल विकास समिति अध्यक्ष गोपाल पाण्डेय र अस्पताल प्रमुख डाक्टर उत्तम पच्यालाई प्रदान गरिन् । त्यस्तै, मालिका गाउँपालिकाको एक थान अक्सिजन कन्सन्ट्रेटर स्वास्थ्य संयोजक वसन्त भुसाललाई प्रदान गरेको अभियन्ता तारा भुसालले जानकारी दिए ।

श्रृगा प्राथमिक स्वास्थ्य केन्द्रको एक थान एक थान अक्सिजन कन्सन्ट्रेटर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुण्य पौडेल र वडाध्यक्ष डिलाराम न्यौपानेलाई प्रदान गरिएको छ । त्यस्तै, कालिगण्डकी गाउँपालिकाको भिटिएम, पिपिई, माक्स, स्यानिटाइजर, ग्लोभ्स, अक्सिमिटर, थर्मोमिटरलगायत औषधिहरू गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली र स्वास्थ्य संयोजक चन्द्र थापालाई प्रदान गरिएको पत्रकार महासंघ गुल्मीका सहसचिव तिलाचन पाण्डेयले जानकारी दिए ।

सत्यवती गाउँपालिका र चन्द्रकोटको मजुवा स्वास्थ्यचौकीको अक्सिजन कन्सन्ट्रेटर सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई प्रदान गरिएको नेपाल पत्रकार महासंघका सहसचिव तेजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । साथै मुसिकोट नगरपालिका– ७ को वामी अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर र वडा नं. ६ को कुर्घा स्वास्थ्यचौकी र अर्लाङकोट स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको पत्रकार महासंघ गुल्मीका सचिव प्रेम सुनारले जानकारी दिए । अक्सिजनको अभावले नागरिकको ज्यान थालेपछि नेपाल पत्रकार महासंघले अक्सिजन अभियान सञ्चालन गरेको थियो ।

नेपाल पत्रकार महासंघ गुल्मीले अभियानमार्फत अक्सिजन प्लान्ट सञ्चालन गर्न ६० लाख गुल्मी अस्पताललाई प्रदान गरेको छ भने अक्सिजन सिलिडर खरिद र भर्ने काममा पनि सहयोग र सहजीकरण भइरहेको नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले बताए । गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा थप भएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको जेठ १४ गतेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ६ सय ६२ रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । संक्रमणका कारण जिल्लामा ७८ जनाको मृत्यु भइसकेको छ । जिल्लामा हालसम्म एक हजार पाँच सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् भने पछिल्लो संक्रमणबाट दुई हजार दुई सय ८२ जना संक्रमित भएका छन् ।

Published on: 2 June 2021 | Nayapatrika

Link

Back to list

;