s

प्रवासी नेपालीको सुरक्षा (सम्पादकीय)

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वभर फैलिएपछि नेपाल सरकारले विदेशमा रहेका नेपालीको स्वास्थ्य, बसोवास तथा अन्य सुविधाका बारेमा गम्भीर चासो लिएर विभिन्न पहल गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधामन्त्री खालिफा विन सल्मान अल खलिफासँग फोन वार्ता गरी त्यहाँ रहेका नेपालीको स्वास्थ्य अवस्था, सुरक्षा र अन्य पक्षमा जानकारी लिनुभएको छ । उल्लेख्य सङ्ख्यामा नेपाली श्रमिक रहेको बहराइनमा नेपालीलाई कुनै समस्या नपर्ने त्यहाँका प्रधानमन्त्रीले जानकारी दिनुभएको छ । यसैगरी सरकारले अत्यधिक श्रमिक, विद्यार्थी तथा धेरै नेपाली रहेका मुलुकका सरकारसँग नेपालीको स्वास्थ्य सुरक्षालगायतका बारेमा चासो देखाएको छ । अस्ट्रेलिया सरकारले विदेशबाट आएको एक वर्ष अवधि नपुगेका विद्यार्थीलाई स्वदेश फर्कन सक्ने आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता नेपाली विद्यार्थीबारे जानकारी लिइरहेको छ । विद्यार्थीलाई परराष्ट्र मन्त्रालय र अस्ट्रेलियास्थित नेपाली दूतावाससँग समन्वय गर्न भनिएको छ । यसैगरी परराष्ट्र र श्रम मन्त्रालय सम्बद्ध निकायले विभिन्न मुलुकमा रहेका नेपालीबारे जानकारी र सम्पर्कको पहल गरेका छन् । सरकारले यसअघि नै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरूलाई त्यहाँ रहेका नेपालीका बारेमा जानकारी लिन र त्यहाँका सरकारसँग समन्वय गरी उनीहरूलाई सुरक्षित राख्न पहल गर्न निर्देशन दिइसकेकै थियो । विदेशस्थित विभिन्न दूतावासले त्यहाँ रहेका नेपालीसँग विभिन्न माध्यमबाट सम्पर्क गर्नसक्ने व्यवस्था मिलाइसकिएको जनाएका छन् । आवश्यकताअनुसार नेपाली दूतावासले त्यहाँको सरकारसँग सम्पर्क र समन्वय गरी नेपालीको सुरक्षामा उच्च सतर्कता अपनाउन सक्रिय भएका छन् ।

नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका आदेश तथा कानुनी प्रावधानको पालना गर्दै तत्तत् स्थानमा सुरक्षा नियम पालन गर्दै बस्न आग्रह गरेको छ । विश्व नै करिब लकडाउनको अवस्थामा रहेकाले विदेशबाट नेपाल आउन र यहाँबाट बाहिर जान सहज र सुरक्षित नभएकाले त्यहाँ नै सुरक्षाका विधि अपनाएर बस्न सरकारले सुझाएको हो । यस्तो व्यवस्था विश्वका सबैजसो मुलुकले गरेका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यतिबेला जुन देशमा सङ्क्रमण देखिन्छ त्यही देशले आफ्ना नागरिकसरह अरु (आप्रवासी) लाई पनि उपचार गर्नुपर्छ । नेपालले पनि यहाँ रहेका विदेशीको स्वास्थ्य परीक्षणलगायत सुरक्षा गरेको छ । विश्वका अन्य देशले नेपालीलाई पनि सोहीअनुसारको व्यवस्था गर्ने अपेक्षा गरेको छ । नेपालले दिएको स्वास्थ्य प्रत्याभूतिका कारण मनाङलगायत कतिपय स्थानमा रहेका विदेशी पर्यटकले स्वदेश जान चाहेका छैनन् । अर्थात् जहाँ तुलनात्मक रुपमा सुरक्षा प्रत्याभूति बढी हुन्छ, त्यहीँ बस्ने मानवीय संवेदना हुन्छ । अर्कातिर अपवादका घटनामा बाहेक विश्व स्वास्थ्य सङ्गठनले यात्रा तथा ओहोरदोहोरले जोखिम बढ्ने जनाएकाले नेपालले मात्र चाहेर आफ्ना नागरिकलाई विदेशबाट स्वदेश ल्याउन सक्ने अवस्था छैन ।

यसअघि नेपालले चीनमा रहेका नेपालीलाई विशेष विमान व्यवस्था गरी ल्याएको थियो । त्यतिखेर चीनमात्र बढी प्रभावित थियो र त्यहाँ सानो सङ्ख्यामा नेपाली थिए । आज विश्वभर छरिएर रहेका नेपालीलाई त्यसरी ल्याउन सम्भव छैन । अर्को कुरा नेपाल आउनु मात्र प्राथमिकता होइन, स्वस्थ रहनु त्योभन्दा महत्वपूर्ण हुन्छ । विदेशमा रहेका कतिपय सङ्क्रमित नेपालीले आफूहरूलाई त्यहाँकै नागरिकसरह उपचार गरिएको अनुभव सुनाएका छन् । चीनबाट नेपाली ल्याउने तर अरु देशबाट नल्याउने, सीमामा आइपुगेका नेपालीलाई नभित्र्याउने जस्ता भावनात्मक प्रश्न उठाउने गरिएको छ तर यो प्रश्नको जवाफ विश्वव्यापी सङ्क्रमणका सन्दर्भमा प्रश्नकर्ताहरूले नै मनन गर्नु उचित हुन्छ । नेपालभित्र वा बाहिर रहेका प्रत्येक नेपाली सुरक्षित रहनुपर्छ भन्नेमा सरकारले चिन्ताका साथ काम गरिरहेको छ तर समस्या समाधानमा सरकारले मात्र चाहेर शतप्रतिशत उपलब्धि हासिल गर्न सकिने छैन । आफू र परिवारलाई सुरक्षित गर्न विदेश तथा स्वदेशमा रहेका सबैले सरकारले जारी गरेका आदेश, व्यक्तिगत सुरक्षा विधि, प्राथमिक उपचार तथा सरसफाइमा ध्यान दिन आवश्यक छ । अवस्था सामान्य भएपछि विदेशमा रहेका नेपाली मातृभूमि फर्कन कुनै रोकतोक हुनेछैन । अहिलेको अवस्थामा आफू, आफ्ना मातापिता, सन्तान र मातृभूमिको सुरक्षार्थ पनि थप जिम्मेवार र प्रतिबद्ध हुन स्वदेशप्रेमी हरेक नेपालीप्रति स्वजनको अपेक्षा छ ।

Published on: 7 April 2020 | Gorkhapatra

Link

Back to list

;