s

प्रवासी कामदार अध्ययन कार्यदल गठन

विदेशमा कार्यरत नेपाली कामदारको अवस्था र मानवअधिकार स्थितिबारे अध्ययन गर्न संसद्को 'सामाजिक न्याय तथा मानवअधिकारी समिति' ले ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलले श्रम, परराष्ट्र, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीहरूलाई बोलाएर कामदारको अवस्था अध्ययन गरी प्रतिवेदन पेस गर्नेछ ।

समिति सदस्य कमलाकुमारी घिमिरेले सैद्धान्तिक सहमति भएको र बिहीबार कार्यदल गठन हुने बताइन् । समितिले बुधबार श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ, श्रमसचिव भोलाप्रसाद सिवाकोटी र वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वनाथ ढकाललाई कामदारको अवस्थाबारे जानकारी दिन बोलाएको थियो ।

गुरुङले रोक्दारोक्दै पनि घरेलु काममा महिला गएर दुःख पाएको बताए । समितिले नेपाली दूतावास, कुवेतको सेल्टरमा रहेका घरेलु महिला कामदारको अवस्थासहित वैदेशिक रोजगारमा गएका कामदारको अवस्था र मानवअधिकार स्थितिबारे जानकारी मागेको थियो । सम्बन्धित देशसँग द्विपक्षीय श्रम सम्झौता र कामदारलाई सूचना र सीप दिने योजना बनाउन मन्त्रालय लागेको सुनाए । समितिले नेपालका कारागार, बन्दीहरूको अवस्था र मानव अधिकार स्थितिबारे प्रतिवेदन पेस गर्न पनि ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ ।

Published on: 6 November 2014 | Kantipur

Back to list

;