s

प्रवास पीडा

दीपकचन्द्र भट्ट

 

परम्पराकालदेखि नै रोजगारीका लागि भारतका विभिन्न सहर परिचित हुनु, नातेदार एवं सञ्जाल हुनु, भाषा, संस्कृति मिल्नु, हावापानी एवं प्राकृतिक वातावरणसमेत एकनासको हुने कारणबाट धेरै नेपाली भारत जाने गरेका पाइन्छ। यसका अलावा भारतमा होटल तथा ससाना क्षेत्रमा सजिलैसँग काम पाइने भएकाले समेत प्रायः कामदार भारत जाने गरेका छन्। 

दशरथचन्द नगरपालिका बाराकोट बैतडीका ३३ वर्षीय तारा चुनारा भारतको नयाँदिल्लीमा सिलाइको काम गर्थे। हरेक वर्ष तिहारका बेला छुट्टीमा आउने गरेका उनले यस वर्षको महामारीको पीडासँगै आमासमेत गुमाउनुपर्‍यो। बिरामी आमालाई भेट्न घरबाट खबर गरिए पनि कोभिड १९ कारण दिल्लीमा गरिएको लकडाउनले घर फर्किन पाएनन्। आमाको मृत्युको खबरसमेत फोनमार्फत पाएका थिए। दुई दाजुभाइ एउटै कारखानामा सिलाइको काम गरेर जीविकोपार्जन गर्थे। उनीहरू आमाको काजक्रिया गर्न घर पुग्न पाएनन्। चुनारा अहिले आफ्नो घर पुगिसकेका छन्। दिल्लीको एक भाडाको कोठामा काका छोरासमेत तीनजना सँगै बस्दै आएकाले कोठाभित्रै काजक्रिया गरेका थिए। लकडाउन हुनुपूर्व दिल्लीमा कोरोनाको धेरै त्रास नरहेको, उनीहरूले काम गर्ने कारखानासमेत चलिरहेकाले घर फर्कने उनीहरूको सोच थिएन। दिल्लीमा एक्कासि गरिएको लकडाउनबाट समेत एक सातासम्म मात्र चल्ने सूचना पाएका चुनारा दाजुभाइ कोठाभित्रै कारखानाको काम गर्थे। 

लकडाउन थपिँदै गएपछि उनीहरूलाई चिन्ताले सताउन थाल्यो। कारखानासमेत बन्द भयो, आफूहरूसँगै काम गर्ने सबै सहकर्मी घर जान थालेपछि नेपाल फर्कनेहरूको समेत दिल्लीमा बिचल्ली भयो। एकाएक बजार बन्द भयो, भारतका अन्य राज्यका कामदार एवं आमनागरिकसमेत घर फर्कनेको लर्को देखेपछि मनमा डर लागिरहने उनीहरू बताउँछन्। घर पुग्न पाइएला भन्ने झिनो आशासमेत मारिसकेका ती दाजुभाइ कोठामा भएको रासनसमेत दिनमा एकचोटि खाएर भए पनि एक साता बिताएका थिए। जब कोठामा रासन सकियो, गोजीमा पैसा छउन्जेल लुकिछिपी खुलेका पसलबाट केही खानेकुरा किनेरसमेत उनीहरूले केही दिन बिताए। आफूले काम गर्ने कारखाना बन्द भई मालिकसमेत आफ्नो घर गइसकेपछि उनीहरूलाई पैसा दिने अरू कोही भएनन्। 

मृत्यु नेपालमा, काजकिरिया भारतमा

तीनैैजना दाजुभाइसँग भएको पैसासमेत सकिएपछि उनीहरूले केही दिन राज्य सरकारले दिल्लीका विभिन्न स्थानमा खाना खुवाउने प्रबन्ध मिलाएको थाहा पाएर ती स्थानमा गएर खाना खान थाले। करिब १५ दिन यसरी खाना पाएपछि उनीहरूमा अब भोकै मर्ने त्रासचाहिँ हट्यो तर कोरोना सर्नसक्ने त्रास भने कायमै थियो। यसैबीचमा आमाको मृत्यु भएको खबर पाएपछि कोठाभित्र काजकिरियामा बसेका उनीहरूसँग चोखो खाने, आफैं पकाएर खानुपर्नेजस्ता चलन रहे पनि खानाको कुनै प्रबन्ध नभएकाले उनीहरूलाई धेरै गाह्रो भयो। काजक्रियामा बस्दा प्रयोग गरिने लुगा किन्नसमेत अरूसँग पैसा माग्नुपर्‍यो। दुई दाजुभाइ कोठाभित्र किरियामा बसेकाले उनीहरूले मागेको चामल दिनको एक छाक खाएर तीन दिन बिताए भने काका छोराले सरकारी सुविधाका लाइनमा बसी खाना खाएका थिए। लामो समयसम्म यसरी बस्न पनि नसिकने र १२ दिनभित्र घरसमेत पुग्नै पर्ने भएपछि ३ दिनको किरिया सकेर उनीहरूले घर जाने निर्णय गरे। 

डेरानजिकै बस्ने आफ्नै गाउँले साथीको सहयोगमा उनीहरूले एउटा खाली ट्रक भेटाए र दिल्लीबाट धनगढीका लागि उनीहरूले ९००० भारु तिरेर ४ जना भोकभोकै भारतको पलिया पुगेका थिए। ती तीन जना दाजुभाइसँग गोजीमा कत्ति पनि पैसा नभएको सबै जनाको टिकट गाउँले साथीले दिएका थिए। दिल्लीबाटै पलियासम्म आउने उक्त ट्रकमा ३० जना अन्य यात्रुसमेत थिए। भेडाबाख्राजस्तै कोचिएर आएका ती यात्रुबाट धेरै भाडा असुलेका चालकले बाटोमा कुनै स्थानमा खानापानी खुवाएनन्। पलियामा पुगेपछि अन्यले पानी तथा नमकिन खाए पनि किरियामा बसेका दाजुभाइले केही पनि खाएनन्। मात्र पानीको भरमा अत्यन्त कष्टकर यात्रा सहेर उनीहरू पलियाबाट गौरीफन्टा अर्को साधनमा पुगे पनि नाकामा धेरै भीड रहेको र नेपाल सरकारको तर्फबाट नाका व्यवस्थापन गर्न नसकेकाले उनीहरू ५ घण्टासम्म नाकामै कुरेका थिए। वडा मुस्किलले नेपाल छिर्न पाएका तिनीहरूले नेपालको धनगढीबाट बसमा १३ घण्टापछि बैतडी सदरमुकाम पुगेका थिए। 

यद्यपि, नेपालबाट कामका लागि भारत जाने आप्रवासीको संख्या यकिन गर्न नसकिए पनि २५ देखि ३० लाख जनता भारतमा रोजगारीका क्रममा गएका विभिन्न तथ्यांक वा अध्ययनबाट स्पष्ट देखिन्छ। सुदूरपश्चिम प्रदेशका ५ लाखजति मानिस भारतका विभिन्न सहरमा काममा रहेको यकिन गर्न सकिन्छ।

वैतडी पुगेपछि उनीहरूलाई अलिकता राहत भए पनि साँझै उनीहरूले घर जान पाएनन्। किरियामा बसेका दाजुभाइ समेतलाई नजिकै रहेको दानेश्वर मावि बाराकोटको विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। क्वारेन्टाइनमै बाँकी दिनको किरियासमेत उनीहरूले गरेका थिए। घरनजिकै क्वारेन्टाइन भएकाले घरमा पुगेजस्तै उनीहरूले आभाष गरेका थिए। आफ्नो संस्कारअनुसार उनीहरूले आमाको काजकिरिया सकेर १५ दिन क्वारेन्टाइनमा बसेर गरेका भए पनि दुवै दाजुभाइमध्ये एक जनाको रेपिड टेस्ट रिपोर्ट पोजिटिभ देखिएपछि उनीहरूलाई झन् चिन्ताले सतायो। एकातिर आमाको मृत्यु अर्कोतर्फ आफूूहरू पनि संक्रमित भएपछि उनीहरूमा अब बाँचिने आशा मरेको थियो। एक साता आइसोलेसनमा बसेका दुवै दाजुभाइको पीसीआर टेस्ट रिपोर्ट निगेटिभ आएपछि केही दिन घरमा बस्ने र नाका खुलेपछि दिल्ली फर्किने उनीहरूको सोच छ। घरमा बसेर आफूहरूको चुलो नचल्ने र खेतबारीसमेत नभएपछि भारत जानु बाध्यता रहेको उनीहरू बताउँछन्। सानैदेखि गएकाले उनीहरूलाई दिल्ली कुनै नौलो र बिरानो लाग्दैन। कपडा उद्योगमा सिलाइको काम गर्ने तिनीहरूले मासिक १० हजार भारु कमाउँछन्। जति काम गरे पनि सिलाइबाट बढी कमाउन नसकिने र अन्य सीपसमेत नभएको उनीहरू बताउँछन्। उक्त कामबाट घरखर्च चल्दै आएको त्यसैलाई निरन्तरता दिने उनीहरूको सोच छ। घरमै बसेर सिलाइबाट मासिक १५ हजार रुपैयाँ कमाउन पाए भारत जानै नपर्ने बाध्यतावश भारत जानुपरेका राजु चुनाराको भनाइ छ। 

भारतको रोजगारी नै परिवारको समृद्घि

भारतको रोजगारले कतिपय नेपालीको समृद्धि भएको देखिन्छ। करिब १५ वर्षको उमेरमा साथीभाइसँग लहैलहैमा लागेर घरबाट भागेर पहिलोपटक दिल्ली गएका समीरदेव भट्ट (नाम परिवर्तन) हाल भारतीय एक कम्पनीमा कार्यरत छन्। विद्यालयमा जाने तर पढ्न कत्ति पनि इच्छा नलाग्ने साथै गृहकार्य नगरे गुरुको हातबाट लौरो खानुपर्ने कारणले साथीभाइको सल्लाहमा पश्चिमी नाका गड्डाचौकी हुँदै पहिलोपटक उनी भागेर दिल्लीमा गई होटलमा काम गरेको बताउँछन्। भिनपा १८ गोवरैया महेन्द्रनगर स्थायी वसोवास गर्नुहुने भट्ट कक्षा ८ मा पढ्दै गर्दा भागेर दिल्ली गए पनि दिल्लीमा रहेका आफन्तको डेरामा पुगेर घरमा खबर गरेको उनी बताउँछन्। सुरुमा होटलमा भाँडा धुने काम गरे पनि ६ महिनापछि वेटरको काममा पुग्न सफल भए। सानैदेखि मिहिनेत गर्ने बानी भएका समीरदेवले २ वर्षसम्म एउटै होटलमा काम गरे। त्यहाँ उनले २५ हजार भारु कमाएर पहिलोपटक घर फर्केका थिए। 

पछि घरका अभिभावकको सल्लाहमै उनी पुनः दिल्ली पुगे र एक जना आफन्तको सिफारिसमा एउटा चकलेट कम्पनीमा काम गर्न थाले। ४ वर्षसम्म लेबर वर्क गरेका समीरदेवले सुपरभाइजर हुँदै मुख्य सुपरभाइजरको पद पाएको १४ वर्ष भइसकेको छ। एउटै कम्पनीमा लामो समय काम गरेका उनको स्थायी भएको छ। मासिक ३० हजार भारु तलब पाउनुका साथै स्वास्थ्य बिमा, बच्चाहरूको बिमा, पढाइमा समेत कम्पनीले सहयोग गरिराखेको उनी बताउँछन्। भारतको रोजगारीले परिवारमा समद्धि आएकाले उनी धेरै खुसी छन्। उनीसँगैका गाउँका अरू साथी घरमा बेरोजगार छन तर उनले उक्त रोजगारीबाटै घर निर्माणदेखि बच्चाहरूको पढाइमा समेत लगानी गरिरहेकाले आफू सन्तुष्ट रहेको उनकी पत्नी बताउँछिन्। कम्पनीको नियमअनुसार आवश्यक परेका बेला बिदा, कम व्याजमा कम्पनीको तर्फबाट ऋण पाउनेसमेत व्यवस्था भएकाले उनको परिवार सन्तुष्ट बनेको छ। 

भारतभन्दा नेपालमा कमाइ राम्रो

भारतीय बजारमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहे पनि भारतीय अर्धदक्ष कामदार सीमावर्ती नेपाली बजारमा रहेको विषय पनि नौलो छैन। यद्यपि, यससम्बन्धी गहिरो एवं विश्लेषणत्मक अध्ययनहरू गरिएका छैनन्। विशेषगरी सीपमूलक काममा भारतीय नागरिक छन्। नेपाली बजारमा पैसा धेरै रहेको तर कमाउने सीप हुनुपर्ने रहेछ, यो भनाइ पीलिभित (भारत) स्थायी घर भई महेन्द्रनगरमा कपाल काट्दै गरेका २७ वर्षीय सलमान अलीको हो। उनी ५ वर्षबाट महेन्द्रनगरमा रहे पनि, हालको महामारीको अवस्थामा भारत फर्के पनि नाका खुल्नेबित्तिकै पुनः महेन्द्रनगर आउने बताउँछन्। कोभिडका कारण आफ्नो रोजीरोटीसमेत खोसिएको उनको गुनासो छ। सुरुमा कपडा सिलाउने काममा भारतको दिल्लीमा रहेको तर उक्त कार्यबाट सोचेअनुसार कमाइ नभएपछि कपाल काट्ने पेसामा संलग्न भए। 

स्थानीय बजारमा करिब ४ महिना कपाल काट्ने अभ्यास गरी राम्रो कमाइ हुने सोचले उनी महेन्द्रनगर आएको बताउँछन्। उनले मासिक ३० हजारदेखि ४० हजार रुपैयाँ कमाउन सक्छन्। एउटा कोठा भाडामा लिई साथीहरूसँगै खाने, बस्ने गरेका सलमान अली मासिक ३० हजार भारु जोगाउने र हरेक महिनामा घरमा गई परिवारलाई बुझाउने गरेका छन्। उनका अनुसार महेन्द्रनगरबाट उनीजस्तै पेसामा रही पैसा कमाउने ५० जनाभन्दा बढी छन्। भारतीय श्रमीकले विभिन्न खाले अन्य अर्धदक्ष कार्य जस्तै ः वेल्डिङ गर्ने, मोटरसाइकल, गाडी मर्मत, मिस्त्री, फर्निचर, इँटा भट्टालगायत कार्यमा संलग्न छन्। संख्यात्मक रूपमा भारतीय कम भए पनि बढी रुपैयाँ कमाउने गरेको समेत सलमान अलीको बुझाइ छ। मिहिनेत गरे राम्रै आम्दानी हुने भएकाले आफू यो स्थान र पेसामा निरन्तर लागिरहने उनको विश्वास छ।

मानवजीवनको इतिहास संघर्षमय छ। जीविकोपार्जनका लागि संघर्ष गर्नै पर्छ। हुन त ब्रह्माण्डका हरेक जीवजन्तु तथा वनस्पतिबीच सहअस्तित्वको लडाइँ आदिमकालदेखि चलिरहेको छ। सहज पारस्थितिक प्रणालीका लागि हरेक जीवजन्तु वा वनस्पति आपसमा निर्भर रहेको पाइन्छ। धेरैजसो जीवजन्तु आफ्नो सहज जीवनयापनका लागि एक स्थानबाट अर्को स्थानमा जाने गर्छन्। यो जीवनचक्र पुस्तौँबाट चल्दै आएको छ। मानव जाति एक चेतनशील प्राणी भएकाले उसले समेत आफ्नो सहजता, पहुँच, आवश्यकता एवं जीविकोपार्जनको लागि बसाइसराइ गर्दै आएको नौलो विषय होइन। पुर्खाहरूले समय, परस्थिति र आवश्यकताअनुसार तुलनात्मक रूपले सुगम क्षेत्र, कृषि एवं पशुपालन, चरन क्षेत्र, नदीनालाको किनारमा अवस्थित समतल भूभाग, विभिन्न अतिक्रमणबाट सुरक्षित, उत्पादनमूलक भूभाग वा प्राकृतिक प्रकोपबाट सुरक्षित हुन सक्ने स्थानमा बस्ती बसाल्दै आएको पाइन्छ। 

यसै क्रममा सुदूरपश्चिम प्रदेशमा रहेका बस्तीहरू समयकाल परिवर्तनसँगै जनसंख्या वृद्धि हुन गई पुनः जीविकोपार्जनमा असर परेसँगै प्रदेशको पहाडी क्षेत्रमा रहेका नागरिक स्थायी बसोबासका लागि तराई क्षेत्रमा झर्ने क्रम द्रूत रूपले बढ्दै गएको छ। 

पुस्तौंदेखि रोजगारीका लागि छिमेकी मुलुक भारत आप्रवासन जाने क्रमसमेत चलिरहेको छ। नेपालका कैयौँ क्षेत्रबाट भारत प्रवास जाने तथ्यांक बढ्दै गए पनि तुलनात्मक रूपमा सुदूरप्रदेश तथा कर्णाली प्रदेशबाट बढी मात्रामा नागरिक भारत जाने गर्छन्। यद्यपि, नेपालबाट कामका लागि भारत जाने आप्रवासीको संख्या यकिन गर्न नसकिए पनि २५ देखि ३० लाख जनता भारतमा रोजगारीका क्रममा गएको कुरा विभिन्न तथ्यांक वा अध्ययनबाट स्पष्ट देखिन्छ। सुदूरपश्चिम प्रदेशबाट ५ लाखजति मानिस भारतका विभिन्न सहरमा काममा रहेको यकिन गर्न सकिन्छ। कोभिड पिरियडमा मात्र करिब ३ लाख आप्रवासी असार मसान्तसम्म घर फर्किएको सरकारी तथ्यांक छ। 

यस प्रदेशबाट भारतमा विभिन्न पेसामा जस्तै ः सैनिक, प्रहरी, रेलबे कम्पनी, हाइड्रोपावर, सिँचाइ, सडक विभाग, विद्युत्लगायत सरकारी तथा अर्धसरकारी निकायमा नेपालीहरू कार्यरत छन्। भारतका विभिन्न ठूला एवं परिचित सहर पञ्जाव, हरियाणा, दिल्ली, मुम्बई, राजस्थान, नैनीताल, हरिद्वार, मंसुरी, देहरादून, श्रीनगर, मेरठ, सिमला, बैंगलौर, हल्दानी, अल्मोडा, पिथौरागढ, कालापत्थर, जम्बुकस्मिर आदि सहरमा मानिसहरू विभिन्न पेसामा संलग्न छन्। बढीजसो नेपाली नागरिक चौकीदार, भरिया, होटल कर्मचारी, क्यासिनो, ड्राइभर, हेल्पर, पसलमा, कृषि, स्याउ टिप्ने तथा प्याकिङ गर्ने, सब्जीमण्डीहरूमा सहयोगीका रूपमा, पूर्वाधारका कार्यहरू जस्तै ः सडक तटबन्द निर्माण एवं मर्मत इत्यादि मुख्य कार्यमा, मौसमी कामदारको रूपमा कार्यरत छन्। सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट कामका लागि भारत जाने गरेको पाइए पनि बढीजसो पहाडी जिल्लाका बझाङ, बाजुरा, अछाम, डोटी, दार्चुला, बैतडीलगायत स्थानबाट कम्तीमा पनि ५० देखि ८० प्रतिशितसम्मका घरधुरीबाट भारत गएको अनुमान गर्न सकिन्छ। जीविकोपार्जनका लागि भए पनि मात्र भारतमा रोजगारी गर्न जानेको संख्या बढिरहेको छ। 

परम्पराकालदेखि नै रोजगारीका लागि भारतका विभिन्न सहर परिचित हुनु, नातेदार एवं सञ्जाल हुनु, भाषा, संस्कृति मिल्नु, हावापानी एवं प्राकृतिक वातावरणसमेत एकनासको हुने कारणबाट धेरै नेपाली भारत जाने गरेको पाइन्छ। यसका अलावा भारतका श्रमिक कार्य, होटल तथा सानो लेवलको कार्य सजिलैसँग पाउने भएकाले समेत प्रायः कामदारहरू भारत जाने गरेका छन्। यसका साथै खाडी मुलुकभन्दा तुलनात्मक रूपले सस्तो, सुलभ, नजिक हुनुका साथै खुला बोर्डर भएकाले र आवश्यक परेको बेला आफ्नो इच्छाअनुसार आउने जाने गर्न सक्ने भएकाले पनि धेरैजसो श्रमिकको पहिलो रोजाइ भारत रहेको पाइन्छ। इन्डो नेपाल लेबर माइग्रेसन शीर्षकमा विद्यावारिधी गरिरहँदा यो विषयको गहिराई सोचेभन्दा कैयौं गुणा बढी पाएको छु। 

यसैगरी, भारतका सीमावर्ती जिल्लाबाट नेपालमा काम गर्न आउने भारतीय श्रमिक पनि हजारौं संख्यामा छन्। अति विपन्न परिवार नेपालमा श्रम गर्न आउने भए पनि बढीजसो उनीहरूमा अर्धदक्ष कामदार छन्। भारतीय सीमावर्ती सहर वा नेपालको तराईका जिल्लाका साथै ठूला सहरमा भारतीय कामदार विभिन्न पेसामा कार्यरत छन्। घर बनाउने मिस्त्री, फर्निचर उद्योग तथा काठमिस्त्री, सडक कालोपत्रे गर्न, गाडीमोटर एवं मोटरसाइकल मर्मत एवं अटोमोबाइलसम्बन्धी कार्य, ग्रिल, फलाम वा जस्ता सम्पूर्ण वेल्डिङ गर्ने कार्य, कपाल काट्ने (नाईं), पेन्टर, बेमौसमी तरकारी एवं अन्य कृषि कार्यका साथै इँटाभट्टाभित्र गरिने सम्पूर्ण कार्यका लागि भारतीय श्रमिकको भर पर्नुपर्ने अवस्था छ। यसका अलावा थोक एवं खुद्रा व्यापार व्यवसाय, तरकारी एवं फलफूल बिक्रेता, चाट एवं नास्ता पसल, घडी, मोबाइल, मेसिन तथा अन्य विद्युतीय सामग्रीको मर्मत, सुन तथा अन्य गरगहना बनाउने, गाईवस्तु भैंसी, बाख्रा बेचबिखन, मासु पसल, कपडा धुने, सरसफाइ गर्ने, कागज, खाली बोतल जम्मा गर्नेलगायत श्रमबाट भारतीयले मनग्य पैसा कमाएर लैजाने गर्छन्। 

नेपाली कामदार भारतका कतिपय ठूला सहर वा आफ्नो जन्मथलोभन्दा टाढा जाने प्रचलन भए पनि भारतीय भने सीमावर्ती इलाकामा बढी आवतजावत गर्ने गरेको पाइन्छ। नेपाली नागरिक कामको खोजीमा भारतका विभिन्न सहरमा गई जीविकोपार्जन मात्र गरिरहेका छन्। संख्यात्मक रूपमा नेपालीहरू भारतमा बढी जाने गरेको पाइए पनि आयआर्जनमा भने भारतीयले नेपालको बजारबाट बढी कमाएर लैजाने गरेको पाइन्छ। नेपाली बजारमा काम प्रशस्त भए पनि नेपालीले आफ्नो मुलुकमा रहेको कामलाई नरुचाउनुका साथै नेपाली बजारमा श्रमलाई हेर्ने दृष्टिकोणका कारणसमेत उनीहरू काम गर्न लाज मानिरहेको श्रमिकको बुझाइ छ। 

नेपाली भारतमा र भारतीय नेपालमा आएर  जीविकोपार्जन गरिरहे पनि विश्वव्यापी महामारी कोभिड १९ का कारण यतिबेला दुवै मुलुकका श्रमिक मारमा परेका छन्। चैत अन्तिम सातामा एक्कासि गरिएको लकडाउनबाट दुवै मुलुकमा काम गर्ने श्रमिक सबैभन्दा बढी पीडित बन्न पुगे। एकाएक पूर्व सूचनाबिना गरिएको लकडाउनका कारण आफ्नो गन्तव्यमा पुग्न उनीहरूले अनेकौँ दुःखपीडा झेल्नुपर्‍यो। भारतीय कामदार सीमावर्ती इलाकामा कार्यरत रहेकाले धेरैजसो श्रमिकले लकडाउनको सूचना पाउनेबित्तिकै आफ्नो मुलुक छिर्न सफल भए पनि नेपालीका हकमा भने यो असम्भव नै बन्यो। कामका लागि गएको ठाउँ घरभन्दा धेरै टाढा रहेकाले समेत उनीहरूले सोच्नेबित्तिकै सीमा पार गरिहाल्ने अवस्था थिएन। 

कतिपयको बुझाइमा छोटो समयका लागि लकडाउन हुन सक्ने आकलन गरेको कारणबाट उनीहरूले कष्टकर यात्रा गर्नुपर्‍यो। भारतीय बजारमा कार्यरत कतिपय श्रमिकलाई समयमै मालिकहरूले नछाडेको, तलब, ज्याला उपलब्ध नगराएको कारणबाट समेत कतिपय कामदारले आफ्नो इच्छाले गन्तव्य छाड्न सकेनन्। बालबच्चा तथा परिवार सँगै भएकाहरूको हकमा अझै व्यवस्थापन कठिन नै रह्यो। आफूसँग भएको नगद पैसा केही दिन जोहो गर्न पुगे पनि एकाएक बजार एवं काम बन्द भएपछि आफ्नो मुलुक कसरी फर्किने चिन्ताले उनीहरूमा मनोवैज्ञानिक त्रास कायमै थियो। भारतीय कामदार पैदल भए पनि लावालस्करसहित आफ्नो गन्तव्य गएको दृश्यबाट त कतिपय नेपाली श्रमिकको कलेजो नै काप्न थाल्यो। उनीहरूसँग कुनै विकल्प नै थिएन, न त पैदल हिँड्न सक्ने न कुनै साधनको व्यवस्था। अर्कोतर्फ बस्नेखाने व्यवस्थाको समेत अन्योल भएपछि केही दिन पैदल, ट्रकमा कोचिएर भए पनि अथवा दसगुना भाडा तिरेर, हारगुहार गर्दै बडो मुस्किलले आफ्नो सीमानाकामा पुगेका नेपाली श्रमिकले सहजै आफ्नो भूमि छिर्न पाएनन्। 

नेपाली प्रशासनको तर्फबाट सीमाना लक भएका कारण हप्तौंसम्म दसगजा क्षेत्रमा रात बिताएका ती दृश्य आज पनि मानसपटलमा ताजै छन्। युद्धभूमिमा हारेका सिपाहीजस्तै एउटा ट्रकमा कोचिएर कुनै पनि सामाजिक दूरी बिना मुस्किलले नेपालीहरूले आफ्नो उद्गम स्थलमा पुग्न सकेको पीडा सोच्दा नै आङ जिरिंग हुन्छ। हप्तौंसम्म खाना र पानी बिना बाँचेका कतिपय श्रमिकहरू आफ्नो भूमिमा पुग्दा माथा टेकेर अबउप्रान्त कहिल्यै भारत नजाने कसम खाँदै थिए भने कतिपय आफ्नो परिवारसम्म पुग्न पाए हुन्थ्यो भनेर टोलाइरहेका हुन्थे। जसोतसो आफ्नो जन्मथलो पुगेका श्रमिकलाई १४ देखि २१ दिनसम्म क्वारेन्टाइनको बसाइपछि मुस्किलले उनीहरू आफ्नो परिवारसँग भेट गर्न पाए।

लामो पीडाबाट मुक्ति पाएका ती श्रमिक घरमा बसेको २ महिना नबित्दै पुनः भारततिर लर्को लागी जान थालेका छन्। नेपालमा बस्दा खानलाउन नै समस्या भएको उनीहरूको कथन छ। कतिपय श्रमिकको भारतमा आधारकार्ड बनेकाले उनीहरू सहजै भारत फर्कन सकेका छन्। भारतमा बजार खुला भइसकेपछि कामका लागि उनीहरू भारतीय रोजगारदाताको पहलमा पुनः भारत फर्केका छन् भने कतिपय लुकिछिपी वा स्थानीय प्रशासनको सिफारिसको आधारमा भारततिर लम्किरहेका छन्। भारतमा अहिलेको अवस्थामा जान पाए काम राम्रो पाउनेसमेत उनीहरूको बुझाइ छ। नेपालमा भन्नेबित्तिकै काम नपाउने र निरन्तर काम नपाउने अवस्था रहेकाले समेत भारत जानुपरेको उनीहरू बताउँछन्। मालिकले बोलाएको बखत काममा जान नपाए आफ्नो रोजगार गुम्ने खतरासमेत रहेको उनीहरूको धारणा छ। वर्तमान अवस्थामा भारतमा महामारीबाट लाखौं संख्यामा संक्रमित भइरहे भए पनि रोजगारीका लागि जानै पर्ने बाध्यतामा छन् नेपाली।

त्यसैगरी, नेपाली बजारमा भारतीय कामदार नभएकाले धेरैजसो निर्माण ठप्प छन् भने उद्योगधन्दामा समेत असर परेको छ। सामान्य अवस्थामा एउटा इँटाको मूल्य ९ देखि १२ रुपैयाँसम्म पर्ने गरेको तर यस अवधिमा २२ रुपैयाँसम्म कारोबार भइरहेको छ। भारतीय श्रमिकले गर्ने सबैजसो कार्यमा महँगी बढेको अवस्था छ भने कतिपय काम नै बन्द गरिएका छन्। केही कामदार नेपाल भित्रिए पनि खुला रूपले व्यवसाय गर्ने वातावरण अझै नबनेको उनीहरूको भनाइ छ। कोभिड १९ ले तहसनहस गरेको यो नेपाल–भारत श्रम सम्बन्ध पहिलेकै अवस्थामा आउन अझै समय लाग्ने आकलन गर्न सकिन्छ। साथै, यसले बजार एवं व्यवसायमा केही परिवर्तनसमेत आउन सक्ने अनुमान गर्न सकिन्छ। नेपाली बजारमा भारतीय श्रमिकले गरिरहेका केही कार्य नेपाली श्रमिकले समेत गरिरहेको देख्न सकिन्छ। स्थानीय प्रशासनले नेपाली श्रम बजारमा नेपालीका पक्षमा नयाँ नीति कायम गरी अगाडि बढ्न सके बजारको परनिर्भरता सधैँका लागि समाप्त हुने निश्चित छ।

Published on: 7 November 2020 | Annapurna Post

Link

Back to list

;